पर्यटन वर्षमा हराउँदो आशा
नेपाल पर्यटन वर्ष२०११ को अघिल्लो ३ महीनाको तथ्याङ्कलाई हेर्दा लक्ष्यअनुरूप १० लाख पर्यटक नेपाल भित्रने सम्भावना न्यून देखिएको छ । पर्यटन वर्ष घोषणा गरेर मात्रै पर्यटक बढ्ने होइन, त्यसका लागि प्रवर्द्धनका काम पनि उत्तिकै गर्नुपर्छ । तर, त्यसो हुन सकेको छैन । साथै, पर्यटन वर्षमा देशमा जुन किसिमको पर्यटकीय वातावरण निर्माण हुनुपथ्र्यो, त्योसमेत हुन सकेको छैन ।
नेपालभित्र पर्यटन वर्षको प्रशस्त हल्लीखल्ली भएको छ । तर, पर्यटकको उद्गम देशहरूमा हुन सकेको छैन । ती देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रम बल्ल शुरू गर्ने भनेर खबर आएको छ । पर्यटन वर्षशुरू हुनुअघि नै हुनुपर्ने काम बल्ल हुँदै छ । नेपाल आउने सम्भावना भएका पर्यटकले यहाँ पर्यटन वर्ष मनाएको र यस अवधिमा नेपाल भ्रमण गर्नु थप आकर्षक र फाइदाजनक हुन्छ भन्ने थाहा नपाएका हुन सक्छन् ।
अर्कातिर नेपालका नजिकका पर्यटक उद्गमस्थानहरू भारत र चीनबाट गरी साढे ३ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अघिल्लो वर्ष१ लाख ४ हजार ५ सय पर्यटक भित्रिएको भारतबाट साढे २ लाख (लक्ष्य) भित्र्याउनु चानचुने कुरा होइन । त्यस्तै अघिल्लो वर्ष२५ हजार पर्यटक भित्रिएको चीनबाट १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाम्रा सबभन्दा नजिकका र लगभग दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गरिरहेका देश भएकाले ती देशबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सक्ने सम्भावना हुन्थ्यो । तर, वर्षको अघिल्लो ३ महीनामा भारत तथा चीनबाट क्रमशः ३४ र २२ दशमलव ४ प्रतिशतका दरले मात्रै पर्यटक सङ्ख्या बढेकाले त्यो सम्भव देखिएको छैन । ती देशमा आवश्यक मात्रामा प्रचारप्रसार हुन नसकेकाले यस्तो अवस्था आएको छ । नेपालका परम्परागत पर्यटक उद्गम देशहरू जर्मनी, इटाली, नेदरल्याण्ड, नर्वे, स्पेनजस्ता देशबाट पर्यटक आगमनमा तीव्र ह्रास आइरहेको छ । त्यसले पनि लक्ष्य प्राप्तिमा चुनौती देखा परेको छ ।
पर्यटकको सङ्ख्या वृद्धि हुनका लागि यहाँको वातावरण शान्त पनि हुनुपर्छ । यो तथ्यलाई हृदयङ्गम गरेर गतवर्षनै यसबारेमा विशेष छलफल भएको हो । राजनीतिक दलहरूले पर्यटन वर्षरि बन्दहडताल नगर्ने भनेर प्रतिबद्धता पनि व्यक्त गरेका हुन् । तर, उनीहरूले सही गरेको प्रतिबद्धतापत्र नेपाल पर्यटन बोर्डको भित्तोमा सजाउन मात्र काम लागेको छ । राजनीतिक दलका विभिन्न भ्रातृ सङ्गठनहरूले बन्द तथा हडताल गर्न छोडेका छैनन् । शान्तिपूर्ण रूपमा जनआन्दोलन भएर माओवादी युद्ध समाप्तिसँगै नेपालले अन्तरराष्ट्रियजगत्मा जुन प्रतिष्ठा कमाएको थियो, पछिल्ला दिनमा त्यो विस्तारै घट्दै गइरहेको छ । त्यसो हुँदा नेपालमा विगतका दिनमा ह्वात्तै बढ्ने गरेको पर्यटक आगमन दर विस्तारै घट्दै छ ।
नेपालमा पर्यटक भित्र्याउन कठिन हुनुको अर्को प्रमुख कारण भनेको उद्गम देशसँग नेपालको कमजोर हवाई सम्पर्क पनि हो । नेपाल आउने पर्यटकका उद्गमस्थानहरू यूरोप, अमेरिकामा नेपालको सीधा हवाई सम्पर्क छैन । अझ देशको ध्वजावाहक नेपाल वायुसेवा निगमका हवाई उडानहरू केही स्थानमा मात्रै सीमित हुन पुगेका छन् । पर्यटन वर्षमाई केन्द्रित गरेर नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न लागेको थियो । तर, हवाईमाफियाको प्रभावमा पूरा राज्यसंयन्त्र लागेर वायुसेवा निगमको विमान खरीद प्रक्रियालाई असफल बनाउने काम भयो । फलस्वरूप नेपाल आउँदा तिर्नुपर्ने हवाईभाडा यही दूरीका अन्य गन्तव्यको तुलनामा महँगो भएको छ । यसो भएर पनि नेपालमा पर्यटक भित्र्याउन कठिन भइरहेको छ । तर, निजीक्षेत्रले सरकार तथा नेपाल वायुसेवा निगमलाई मात्रै यस विषयमा दोषी देखाउने गरेका छन् । उनीहरू आफैले हवाई क्षेत्रमा लगानी गरेर पर्यटन क्षेत्रको विकासमा अझै धेरै सहभागी हुनु बुद्धिमानी हुन्छ ।
१० लाख पर्यटक भित्र्याउनका लागि आवश्यक पूवाधार पनि नेपालभित्र हुन सकेका छैनन् । निजीक्षेत्रले केही मात्रामा पूवाधारमा लगानी गरेको छ, तर त्यो पर्याप्त छैन । पर्यटकका लागि नयाँनयाँ उत्पादनहरू ल्याउने काम पनि हुन सकेको छैन । पर्यटन वर्षको नयाँ उत्पादनका रूपमा होम स्टेलाई लिइएको छ । तर, त्यसका लागि जति गृहकार्य गरिएको छ, त्यो पनि पर्याप्त छैन । नेपालका अन्य क्षेत्रमा देखिएका अव्यवस्था पर्यटनमा पनि देखिएको छ । यो क्षेत्रलाई त्यस्ता अव्यवस्थाबाट मुक्त नगरीकन पर्यटन क्षेत्रको विकास हुन सक्दैन ।
Admin 2011-04-13