शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

धावनमार्गका गम्भीर लापरबाही
धावनमार्ग भत्किएपछि आइतवार पाँच घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवरुद्ध भयो भने कम्तीमा चारओटा अन्तरराष्ट्रिय उडान डार्इभर्ट भए । भर्खरै मर्मत भएको विमानस्थल दुईहप्ताबीचमा दुइपटक भत्किएर यस किसिमको समस्या आउनुलाई सामान्य रूपमा लिन सकिँदैन । किनभने देशको एकमात्र र अति व्यस्त अन्तरराष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि विमान आकाशमा होल्ड गर्नु वा देशबाहिरका अन्य विमानस्थलमा डाइभर्ट गर्नुको विकल्प हुँदैन । निरन्तर लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा यसले अन्तरराष्ट्रिय हवाईसेवाहरूलाई परेको क्षतिको त आँकलन नै गर्न सकिन्न । त्यसले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)को अन्तरराष्ट्रिय रूपमा बदनामीसमेत भएको छ । त्यसैले अन्तरराष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रको मर्मत तथा सुधारमा त्यसको व्यवस्थापनले गरेको लापरबाही तथा यस किसिमका प्राविधिक समस्या आउँदा तुरुन्त समाधान गर्नसक्ने प्राविधिक क्षमता विकासमा नागरिक उड्डयन प्राधिकरणले देखाएको उदासीनता निन्दनीय छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यस किसिमका प्राविधिक समस्या पटकपटक आउने गरेका छन् । त्यही भएर अन्तरराष्ट्रियजगत्मा टीआईएले एउटा व्यवस्थित विमानस्थलको छवि बनाउन सकेको छैन । ३ महीनाअघि सम्पन्न भएको विमानस्थलको पिचमा खल्डो परेपछि विगत दुईहप्ताबीचमा पनि दुइपटक विमानस्थल अवरुद्ध भइसकेको छ । अन्तरराष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रको मर्मत कार्यमा अनियमित कार्य गरी कमसल सामग्रीको प्रयोग गर्ने हिम्मत गरियो र यस्तो समस्या आयो होला भनेर शङ्का त नगरिहालौं । तर, मर्मतको बेलामा लापरबाही गरिएको भने यसले प्रमाणित गरेको छ । पिच गर्दा पानी पसेका कारण यसअघि विमानस्थलको हेलिप्याडसमेत भत्केको थियो । त्यही समस्या यहाँ पनि दोहोरिएको हुन सक्छ । तर, विमानस्थलको व्यवस्थापनको जिम्मेवारी पाएको नागरिक उड्डयन प्राधिकरणले शुल्क असुल्ने तर जिम्मेवारी पूरा नगर्ने गर्दै आएको छ ।

प्राविधिक समस्याका कारण केही घण्टा विमानस्थल अवरुद्ध हुनुलाई सर्वसाधारणले सामान्य रूपमा सोच्लान् । तर, त्यसबाट हुने क्षति निकै ठूलो हुन्छ । विमानस्थल अवरुद्ध हुँदा विमान आकाशमा होल्ड गर्नुपर्यो वा अन्यत्र डाइभर्ट गर्नुपर्यो भने त्यसबाट इन्धन क्षति त हुन्छ नै, त्यो विमानको अन्य उडान तालिका पनि प्रभावित हुन्छ । त्यसो हुँदा उक्त विमान कम्पनीले बेहोर्ने क्षतिको आँकलन गर्न नै सकिन्न । यस्तो अवस्थामा विमानभित्र रहने यात्रुको मानसिक पीडा तथा समयको अनावश्यक खर्चको कसरी हिसाबकिताब गर्न सकिएला र ? अझ यसभन्दा पनि महत्त्वपूर्ण कुरा पटकपटक यस्तो समस्या आउँदा कालान्तरमा राष्ट्र स्वयम्ले त्यसबाट ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । यदि यस्तो समस्या आइरह्यो भने विमानस्थलको अन्तरराष्ट्रिय रूपमा बदनामी हुन्छ र यहाँ उडान गर्नका लागि अन्तरराष्ट्रिय विमान कम्पनीहरू उत्साहित हुँदैनन् । त्यसको बहुमुखी असर देशको अर्थव्यवस्थामा नै पर्नसक्छ ।

अर्को महत्त्वपूर्ण कुरा नेपालमा अन्तरराष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । त्यसो हुँदा यदि एउटा विमानस्थलमा प्राविधिक समस्या आयो भने अर्कोमा विमान अवतरण गराइहालौं भन्ने अवस्था पनि छैन । त्यसो हुँदा एउटा भएको विमानस्थल कुनै पनि हालतमा तयारी अवस्थामा रहनुपर्ने हो । तर, सामान्य किसिमका प्राविधिक समस्या १-२ घण्टामा नै समाधान गर्नसक्ने खालको संयन्त्र तथा क्षमता पनि विमानस्थलसँग देखिएन । विमानस्थलमै आपत्कालीन अवतरणका लागि वैकल्पिक धावनमार्ग बनाउने विषयमा प्राधिकरणले अहिलेसम्म सोचेकै छैन । यसले भोलिका दिनमा अझ विकराल समस्या ल्याउन सक्ने देखिन्छ ।

Admin 2011-06-14