शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

व्यावसायिक कृषिलाई  बिजुली खोइ ?
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन काटिदिएपछि चितवनको भर्खरै विश्वविद्यालय बनेको रामपुर कृषि क्याम्पस पूरै बन्द भएको छ । त्यहाँको कृषिफार्ममा पानी लगाउन पाइएको छैन, पालिएका गाइवस्तुले पानी खान पाएका छैनन् । पानीको अभावमा कृषि अनुसन्धानको काम रोकिएको छ, छात्रावासका विद्यार्थीहरू प्यासमा बस्नुपर्ने अवस्था आएको छ । यो तथ्यले क्याम्पसको स्थिति देखेर दया लाग्न सक्छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि विद्युत् अपरिहार्य छ भन्ने तथ्यलाई यस घटनाले पुष्टि गरेको छ, जुन हालसम्म बेवास्तामा पर्दै आएको थियो ।

नेपालमा कृषिको व्यावसायीकरण तथा आधुनिकीकरणका विषयमा धेरैले आआफ्नै किसिमले गफ छाँट्ने गर्छन् । तर, विद्युत्सँग आधुनिक-व्यावसायिक कृषिलाई विद्युत् अपरिहार्य छ भन्ने विषयमा धेरैले चर्चा गर्दैनन् । रामपुर क्याम्पस आधुनिक र व्यावसायिक कृषिको एउटा नमूना र अनुसन्धान केन्द्र हो । त्यहाँको घटनाले आधुनिक र व्यावसायिक कृषिका लागि विद्युत् अनिवार्य आवश्यकता हो भनी प्रमाणित गरेको छ । विद्युत् अभावमा भूमिगत पानी ननिस्किएपछि क्याम्पसको कृषिफर्ममा सिँचाइ हुन सकेन । कृषिको व्यवसायीकरणका लागि अत्यावश्यक सिँचाइको समुचित व्यवस्थाका लागि विद्युत् अपरिहार्य छ भन्ने यसले प्रमाणित गर्छ । वर्षामा आधारित खेतीले जीवननिर्वाह गर्नै समस्या हुन्छ । तर, नहर तथा कुलोबाट नेपालको कुल खेतीयोग्य जमीनको ४० प्रतिशत भूभागमा मात्र सिँचाइ हुन सकेको छ । त्यसैले भूमिगत पानीबाट सिँचाइ सुविधा पुर्याउनुको विकल्प छैन ।

त्यस्तै, सतहको पानी उपलब्ध नहुने क्षेत्रमा पशुहरूलाई पानी खुवाउनका लागि पनि भूमिगत पानी नै प्रयोग गर्ने हो । पोल्ट्री फार्मजस्ता पशुपक्षीको व्यवसाय गर्न पनि विद्युत्को आपूर्ति अनिवार्य नै हुन्छ । अर्को, अनुसन्धानविना कृषिको आधुनिकीकरण र व्यवसायीकरण हुन सक्ने सम्भावना छैन । कृषि अनुसन्धानका लागि पनि विद्युत् आपूर्ति अनिवार्य छ ।

नेपाल कृषिप्रधान मुलुक हो । कृषिको व्यवसायीकरणविना नेपालीहरूको समतामूलक विकासको कल्पना पनि गरिँदैन । तर, व्यावसायिक कृषिको आधारभूत आवश्यकता विद्युत्को प्रयोग कृषिकार्यका सन्दर्भमा नीतिनिर्माताहरू मौन छन् । ऊर्जा अभावले उद्योगहरू समस्यामा परे भनिन्छ । तर, बिजुली नहुँदा कृषि उत्पादन हुन सकेन, असारको समयमा कृषि क्षेत्रलाई बिद्युत् कटौती गर्नुभएन भन्ने आवाज खै उठेको ? कृषिमा कति बिजुली कुन रूपमा आवश्यक छ भन्ने आँकडा न त कृषि मन्त्रालयसँग छ, न ऊर्जा वा सिँचाइ मन्त्रालय वा विद्युत प्राधिकरणसँग नै छ । विद्युत्को माग प्रक्षेपण गर्ने क्रममा जसरी घरायशी र औद्योगिक प्रयोगलाई आधार मानिन्छ, त्यसरी कृषिमा यसको प्रयोगलाई अहिलेसम्म आधार मान्ने गरिएको छैन ।

कृषिको व्यवसायीकरणका लागि विद्युत्शक्तिको प्रयोगलाई प्राथमिकता दिने हो भने पश्चिम सेतीजस्ता आयोजना निर्यातका लागि बनाउनुपर्ने आवश्यकता नै हुँदैन । त्यसको विद्युत् देशभित्रै खपत हुन सक्छ । तर, विद्युत् प्राधिकरणले त्यस्तो विद्युत् वितरण गर्नेक्रममा सडकमा ढाट लगाएजस्तै गरी अवरोध गर्ने गरेको छ । विद्युत् प्रसारण र वितरणमा यसको एकाधिपत्य नहटाएसम्म त्यस अवस्थाको अन्त्य गर्न पनि सकिँदैन । विद्युत् व्यापार कम्पनी स्थापनाका लागि ऊर्जामन्त्रीले काम थालिसकेकाले त्यस अवस्थाको अन्त्य हुने आशा गर्न सकिन्छ । त्यसो हुन सक्दा कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा विद्युत्को योगदान स्थापित हुन सक्ला कि ?

Admin 2011-08-16