हुण्डीको हुण्डरी रोक्ने चुनौती
राजस्व अनुसन्धान विभागले गैरकानूनी रहेको हुण्डीको कारोबार रोक्नका लागि कारबाही थालेको छ । नेपालमा हुण्डी कारोबार बाहिर नदेखिए पनि भित्रभित्रै व्यापक प्रचलनमा आइसकेको अवस्थामा विभागले कारबाही थाल्नै ढिलो भइसकेको थियो । त्यसैले कारबाही थालिनु सकारात्मक हो । तर, एकदुई ठाउँमा छापा मारेकै भरमा वा एकदुई जनालाई दण्डित गरेकै भरमा हुण्डीको कारोबार रोक्न सम्भव छैन । उच्च राजनीतिक संरक्षण र प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूको संलग्नतामा हुण्डीको कारोबार वर्षौंदेखि भइरहेको भन्ने प्रहरीको भनाइले पनि यो समस्याको अन्त्य जटिल भएको देखाउँछ । त्यसैले जबसम्म उच्च राजनीतिक तथा व्यावसायिक व्यक्तिहरू कालो धनलाई सेतो बनाउन र कालो धन हुण्डीमार्फत भित्र्याउन रकम स्थानान्तरण गरिरहन्छन्, जबसम्म व्यवसायीहरूले कालोबजारीलाई आफ्नो मूलमन्त्र ठानिरहन्छन्, तबसम्म हुण्डीको कारोबार रोकिने सम्भावना छैन । केही हदसम्म आर्थिक (वित्तीय) साक्षरताको अभाव र औपचारिक क्षेत्रको अनुपस्थितिका कारण पनि हुण्डी भइरहेको छ । त्यसलाई भने रोक्न सकिने सम्भावना हुन्छ ।
पहिलो त ठूला राजनीतिक नेताहरू, उच्च ओहोदाका कर्मचारीहरू अनि अवैध धन्दामा संलग्न व्यवसायीहरूले कालो धनलाई अनौपचारिक (हुण्डी) माध्यमबाट विदेश पठाउने गरेको आशङ्का गरिएको छ । वैधानिक रूपमा व्यवसाय गरेकाहरूले पनि नेपालमा आफ्नो लगानी तथा सम्पत्तिको सुरक्षाको प्रत्याभूति महसूस नगरेकाले यही माध्यम भएर पूँजी पलायन गरिरहेको बताइन्छ । यदि नेपालमा लगानीमैत्री वातावरण बन्ने हो र सम्पत्ति सुरक्षाको प्रत्याभूति हुने हो भने दोस्रो समस्याको समाधान हुन्छ । तर, पहिलो समस्या त्यस्तो होइन । त्यो समस्या समाधान गर्नका लागि भ्रष्टाचारमा संलग्न नेता तथा कर्मचारी एवम् अवैध धन्दामा संलग्न व्यवसायीलाई कानूनको कठघरामा ल्याउनुपर्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो नेपालको 'अम्बुड्समेन’ निकायले भ्रष्टाचार र कालोबजारीको दायरालाई त ठम्याउन सकेको छैन भने कारबाही त परको कुरा । त्यसो हुँदा राज्यकोष र उपभोक्ताको रगत चुसेर ठालू बनेकाहरूको संरक्षणमा भइरहेको हुण्डी रोक्ने राजस्व अनुसन्धान विभागको साहस दुस्साहसमा परिणत हुने सम्भावना छ ।
दोस्रो, यकिन तथ्याङ्क नभए पनि धार्मिक क्षेत्रमा काम गर्ने गैरसरकारी तथा अन्य किसिमका संस्थाहरूलाई निकै ठूलो मात्रामा रकम हुण्डीमार्फत आइरहेको आशङ्का गरिन्छ । त्यस्तो रकम पठाउनेमा चिनेजानेका ठूला देश तथा दातृसंस्था हुने भए पनि खुलेर भने आउँदैन । अर्कातिर विदेशमा अस्वाभाविक रूपमा पैसा कमाउने नेपालीहरूले नेपालमा पैसा पठाउन यस्तै अनौपचारिक मँध्यमको प्रयोग गर्ने गर्छन् । अझ भारतीय अधिकारीहरूको आरोपलाई आधार मान्ने हो भने त हुण्डीमार्फत आतङ्ककारी गतिविधिका लागिसमेत रकम भित्रन्छ । यी तथ्यलाई विश्लेषण गर्ने हो भने हुण्डीले ठूलै हुण्डरी सृजना गर्ने स्थिति बनिसकेको छ ।
तेस्रो, भारत, चीन र अन्य तेस्रो राष्ट्रबाट हुने प्राय: सबै आयातका लागि हुण्डीको माध्यमबाट पैसा पठाउने गरिन्छ । त्यो किनभने नेपालमा आयात हुने प्राय: सबै सामान न्यून बीजकीकरण गरी कम भन्सार तिरेर भित्रन्छन् । भन्सारमा पेश गर्नका लागि त्यस्ता सामानको कम मूल्यको बिल बन्छ, वास्तविक मूल्य अर्कै (अधिक) हुन्छ । त्यसो हुँदा वस्तुको बिलमा उल्लेख भएको मूल्यबराबरको बाँकी रकम औपचरिक माध्यमबाट जान्छ, वास्तविक मूल्यबराबरको रकमचाहिँ हुण्डीको माध्यमबाट सम्बन्धित देशमा पठाउने गरिन्छ । नेपालमा हुण्डी व्यवसाय गर्नेहरूका नियमित, ठूला र भरपर्दा ग्राहक यस्तै व्यापारीहरू हुन् । त्यसैले भन्सारमा हुने न्यून बीजकीकरणको समस्यालाई समाधान गर्ने हो भने हुण्डीलाई नियन्त्रण गर्न त सकिन्छ नै, सरकारलाई ठूलो मात्रामा राजस्व समेत प्राप्त हुन्छ ।
चौथो, रोजगारीको सिलसिलामा भारतलगायतका देशमा रहेका नेपालीहरूले यहाँ रकम पठाउन औपचारिक स्रोत नभेट्टाउँदा बाध्य भएर हुण्डीको सहारा लिनु परिरहेको छ । तीमध्ये धेरैजसो बैङ्कलगायतका औपचारिक माध्यमबाट रकम पठाउँदा सुरक्षित र भरपर्दो हुन्छ भनेर थाहा नपाउनेहरू छन् । तिनीहरूलाई हुण्डीको कारोबार गैरकानूनी हो भन्ने पनि थाहा नहुन सक्छ । यो समस्या समाधान गर्न पहिलो त वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । दोस्रो, विशेषगरी भारतमा नेपाली विप्रेषण कम्पनीहरूलाई शाखा खोल्न अनुमति दिलाउन कूटनीतिक पहल गर्नु आवश्यक छ । अहिले पनि सीमित बैङ्क तथा विप्रेषण कम्पनीहरूले यस्तो काम गरिरहेका छन् । तर, तिनीहरूको सञ्जाल भारतमा काम गर्ने कामदार तथा नेपालस्थित तिनका नातेदारको पहुँचमा छैन । यदि नेपाली विप्रेषण कम्पनीले खाडी देशहरूमा जस्तै भारतमा पनि आफ्नो शाखा विस्तार गर्ने अवसर पाए भने हुण्डीको कारोबारलाई निरुत्साहित गर्न सकिन्छ ।
Admin 2011-08-17