शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

व्यवसायमा परिवार - मोदनाथ ढकाल
सिलाइमा नेपाली ब्रान्ड : श्रेष्ठ टेलरिङ

नेपालमै व्यवस्थित रुपमा सिलाइ तथा कपडा व्यवसायलाई सँगसँगै लैजाने परम्पराको शुरूआत गर्ने श्रेय श्रेष्ठ टेलरिङलाई जान्छ । बाबुकाजी श्रेष्ठले ६० रुपैयाँको लगानीमा चावहिलमा शुरु गरेको यो कम्पनीले अहिले वार्षिक करोडौंको कारोबार गरिरहेको छ । राजधानीमा तीन शाखा तथा एक शोरुम विस्तार गरिसकेको श्रेष्ठ टेलरिङले अन्य मुख्य शहरहरूमा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको छ । भविष्यमा कम्पनीलाई अनलाइनमा लैजाने बारे विचार भइरहेको कम्पनीका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ बताउँछन् । कम्पनीले विक्री, सिलाइ तथा व्यवस्थापनमा १ सय जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।

६० रुपैयाँको लगानीमा शुरू भएको व्यवसाय
बाबुकाजीका पुर्खा  काठमाडौं चाबहिलका रैथाने हुन् । उनको परिवारमा सिलाइ तथा कपडा व्यवसायमा लाग्ने उनी पहिलो हुन् । शेरबहादुर र न्हुछेमाया श्रेष्ठका जेठा छोरा उनले व्यवसायमा लाग्नुअघि विभिन्न सरकारी कार्यालय तथा सेनामा जागीर गरेका थिए । २०२८ सालमै कुल्लीहरूको नाइके बनेर  उनी पृथ्वी राजमार्गमा पुगेका थिए ।

बाबुकाजीले २०२९ सालमा नारायणीदेवी श्रेष्ठसँग विवाह गरेका हुन् । बिहेपछि घरखर्च पनि बढ्दै गएकाले उनले रक्षा मन्त्रालयमा ७० रुपैयाँ मासिकमा मुखियाको जागीर खाएका थिए । २०३३ देखि ३८ सालसम्म उनले आर्मी मुख्यालयमा लान्सनायकसरहको जागीर पनि गरे । तर, कुनै पनि जागीरले उनलाई थाम्न भने सकेन । उनले २०३१ सालमा सुनिता सिलाइ केन्द्रमा स्व. बाबुकाजी शाक्यसँग सिलाइको तालीम लिएका थिए । त्यही शीपलाई व्यवसायीकरण गर्ने विचार गरेर उनले २०३३ सालमा ६० रुपैयाँमा एउटा सिलाइ मेशिन किने । झयालमा 'बीके टेलर्स'को तुल झुण्डयाएर व्यवसाय थालेका उनले शुरूका दिनमा पुराना फाटेका लुगा, भोटो, चोलो आदि सिलाउँथे । छिमेकीको पसलमा काम गरेर बाबुकाजीले व्यावहारिक ज्ञान पनि आर्जन गरेका थिए । बुबा शेरबहादुरले 'हाम्रो जातलाई सुहाउँदैन' भनेर सिलाइको काममा विरोध गरे पनि काम गरेर खाँदा केही अप्ठयारो नहुने विचारका साथ उनले यो व्यवसायमा हात हालेका थिए ।

त्यसै साल उनले आफ्नो पसल बागबजारमा सारे । बागबजार शहरको केन्द्र भएकाले त्यहाँ व्यवसाय छिट्टै फस्टाउने विचार गरी उनी बागबजार सरेका थिए । 'बीके श्रेष्ठ टेलर्स ' नामको त्यो पसलमा त्यसबेला उनी र नारायणी आफैले दुईओटा सिलाइ मेशिनमा काम गर्थे । २०३६ सालमा मात्र उनीहरूले बाहिरबाट कालीगढ भर्ना गरेका हुन् । बागबजारमा व्यवसाय शुरू गर्दा श्रेष्ठ परिवारले १२ सय रुपैयाँ लगानी गरेको थियो । त्यसबेला एउटा सिलाइ मेशिनको ५ सय रुपैयाँ पर्थ्यो । एउटा कमीज सिलाएको ६ रुपैयाँ र पेण्टको १२ रुपैयाँ लाग्थो ।

२०३७ सालमा 'श्रेष्ठ टेलरिङ एण्ड रेडिमेड' नाम पाएको बाबुकाजी श्रेष्ठको व्यवसाय 'बीके श्रेष्ठ टेलरिङ'को नामबाट २०४१ सालदेखि चिनिन थालेको हो । त्यसको ३ वर्षअघिदेखि नै श्रेष्ठ टेलरिङले सिलाइसँगै कपडाको व्यापार पनि थालेको थियो । नेपालमा कपडा र सिलाइसँगै राखेर व्यवसाय गर्ने परम्पराको शुरुआत श्रेष्ठ टेलरिङले गरेको बाबुकाजीको दाबी छ । त्यसबेला तयारी कपडाको आयात त्यति नभएकाले टेलरिङ व्यवसायका लागि त्यो सुनौलो समय थियो । त्यसैले आफूलाई व्यवसाय बढाउन हौसला मिलेको उनी बताउँछन् । 'त्यसपछि हामीले नयाँ प्रविधि अपनाउँदै, मान्छे थप्दै काम गर्न थाल्यौं,' उनी भन्छन् । कम्पनीमा उनले नारायणीको बलियो साथ पाए । नारायणी अहिले पनि सक्रिय रूपमा व्यवसायमा संलग्न छिन् । शुरूमा नेपाली घरेलु कपडाको व्यापार गरेको श्रेष्ठ टेलरिङमा हाल बेलायत, भारत, चीन, इटाली, थाइल्याण्डलगायत विभिन्न देशका कपडा पनि उपलब्ध छन् ।

नयाँ पुस्तासँगै विस्तार भएको व्यवसाय
श्रेष्ठ टेलरिङको प्रसिद्धिसँगै ग्राहकको चाप पनि बढ्दै गयो । त्यसैले त्यो चाप कम गर्न र आफ्ना छिमेकीलाई सहज सेवा दिन भनेर श्रेष्ठ टेलरिङले २०५५ सालमा चावहिलमा पहिलो शाखा खोल्यो । त्यो शाखाको व्यवस्थापन बाबुकाजीका जेठा जुवाइँ नीरज श्रेष्ठको जिम्मामा छ । दोस्रो शाखा भने २०६५ सालमा त्रिपुरेश्वरमा खुलेको थियो । त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेण्टरमै श्रेष्ठ परिवारले 'श्रेष्ठ ट्रेजर' पनि सञ्चालन गरिरहेको छ, जसमा कम्पनीका उत्पादनहरू प्रदर्शन तथा विक्री गरिन्छ । त्रिपुरेश्वरको शाखा तथा शोरूमको व्यवस्थापन बाबुकाजीका जेठा छोरा विनोद र उनकी श्रीमती योजनाले गरिरहेका छन् ।

अहिले कम्पनीले सुटदेखि टी-शर्ट, निकस, ज्याकेटलगायत अन्य कपडाहरूको उत्पादन पनि गर्दै आएको छ । श्रेष्ठ टेलरिङको ब्राण्डमा उत्पादन भइरहेका यी कपडाहरूको बजार राम्रो रहेको बाबुकाजी बताउँछन् । उत्पादन गुणस्तरीय भएकाले बजारमा उपलब्ध दर्जनौं विदेशी ब्राण्डहरूले आफ्नो व्यवसायमा प्रभाव नपारेको उनको भनाइ छ ।

श्रेष्ठ परिवारले टेलरिङ तथा कपडा व्यवसायभन्दा पर पनि व्यवसाय विस्तारको शुरुआत गरेको छ । त्यसको शुरुआत भएको छ, काठमाडौंको भिनस इण्टरनेशनल हस्पिटलको लगानीबाट । आफ्ना सन्तानहरूको उद्यमशीलता र व्यवसायप्रतिको लगाव देखेर बाबुकाजी खुशी छन् । विस्तारै उनीहरूलाई व्यवसाय जिम्मा लगाएर आफू समाजसेवामा लाग्ने उनको सोच छ ।

फ्राञ्चाइजीमा जाने तयारी
श्रेष्ठ टेलरिङले नेपालका प्रमुख शहरहरूमा व्यवसाय विस्तारको योजना बनाएको छ । त्यसका लागि कम्पनी आफैले शाखा सञ्चालन भने नगर्ने बाबुकाजी बताउँछन् । स्थानीय कम्पनीहरूलाई फ्राञ्चाइजी दिने मनसायमा उनी रहेका छन् । भविष्यमा श्रेष्ठ टेलरिङको व्यवसायलाई अनलाइनमा लैजाने योजना पछिल्ला पुस्ताको छ । त्यसका लागि योजना बनिसके पनि काम भने शुरू भइनसकेको विनोद बताउँछन् । अनलाइनका लागि प्राविधिक अप्ठयाराहरू पनि उत्तिकै भएको उनको धारणा छ ।

कम्पनीले गुणस्तरमा कुनै सम्झौता गरेको छैन । उपभोक्ताको आवश्यकताअनुसारका उत्पादनहरू उपलब्ध गराउने काममा आफूले कुनै कसर नछोडेको बाबुकाजी बताउँछन् । श्रेष्ठ टेलरिङ आईएसओ ९००१ : २००० पाउने एकमात्र नेपाली टेलरिङ कम्पनी हो । माधव नेपाललगायतका प्रधानमन्त्रीहरू र स्व. राजा वीरेन्द्र, दीपेन्द्रको समेत नाप लिइसकेको कम्पनी हो श्रेष्ठ टेलरिङ ।

परिवार
बाबुकाजीका २ छोरी शशी र सुनिता र २ छोरा विनोद र विकास छन् । शशीको बिहे नीरज श्रेष्ठसँग भएको छ । उनीहरू चावहिलको शाखा हेर्छन् । कान्छी सुनिता कम्पनीमा पर्चेजिङ अफिसर छिन् । २८ वर्षीय सुनिताको बिहे रवीन्द्रमान ताम्राकारसँग भएको हो । जेठा छोरा विनोदले अष्ट्रेलियाबाट स्नातक र अमेरिकी विश्वविद्यालय, नयाँ दिल्ली, भारतबाट मार्केटिङमा एमबीएको अध्ययन सकेका छन् । उनी कम्पनीमा प्रबन्ध निर्देशक छन् । कम्पनीलाई प्रगतिको नयाँ बाटोमा हिँडाउनका लागि गृहकार्य गरिरहेका विनोदलाई उनकी जीवनसङ्गीनी योजनाको बलियो साथ मिलेको छ । अष्ट्रेलियाबाट बिजनेश म्यानेजमेण्टमा स्नातक र इन्दिरा गान्धी ओपन युनिभसिटी, भारतबाट स्नातकोत्तर गरेकी उनले कम्पनीका उत्पादनहरूको शोरूमको व्यवस्थापन गर्दै आइरहेकी छन् । उनी विभिन्न पत्रपत्रिकामा स्तम्भलेखन पनि गर्छिन् । विनोद र योजनाका यशस्वी र विपासना दुई छोरी छन् । कान्छा छोरा विकासले भर्खरै दश जोड दुईको अध्ययन सकेका छन् । १ वर्षदेखि उनी पनि व्यवसायमा प्रत्यक्ष रूपमा सामेल छन् । बाबुकाजीका भाइहरू हिराकाजी र रामकाजी पनि टेलरिङ व्यवसायमै छन् ।

समाजसेवा
बाबुकाजी नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका संस्थापक कोषाध्यक्ष तथा पूर्व अध्यक्ष हुन् । हाल सङ्घ २१ जिल्लामा विस्तार भइसकेको छ । तर, बाबुकाजी अझै थाकेका छैनन् । यसलाई पचहत्तरै जिल्लामा पुर्याउने उनको चाहना छ । अहिले उनी सङ्घका सल्लाहकार छन् । सङ्घमा आबद्ध भएमा व्यवसायीहरूले आफ्नो हकहितका लागि सङ्गठित भएर काम गर्न तथा आफ्ना मागहरू प्रभावकारी तरीकाले राख्न सकिने उनको भनाइ छ ।

बाबुकाजी पतञ्जली योग समितिमा संरक्षक सदस्य तथा ट्रेनर तथा अन्य विभिन्न धार्मिक संस्थाहरूमा सल्लाहकार छन् । उनी धूमपान तथा मध्यपानको विरुद्धमा अभियान चलाइरहेको ताइवानी संस्था ताओसँग पनि आबद्ध छन् । दैवी प्रकोपका बेला कम्पनीले विभिन्न प्रकारका सहयोग दिँदै आएको छ । बुबाआमाको नाममा श्रेष्ठ परिवारले हरेक वर्षवृद्धवृद्धालाई लत्ता कपडा तथा खाना उपलब्ध गराउँदै आएको छ । स्थानीय क्लब, विद्यालय तथा अनाथालयहरूलाई पनि बेलाबेलामा सहयोग गरेको बाबुकाजी बताउँछन् ।

ब्राण्डलाई अझै माथि लैजाने
बाबुकाजी श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
श्रेष्ठ टेलरिङ
अहिले नेपालमा दिल खोलेर काम गर्न गाह्रो भइरहेको परिस्थिति छ । उच्च कर, मजदूर समस्या, घरभाडा, बिजुलीजस्ता समस्याले सबैलाई पिरोलेको छ । तर पनि हामी श्रेष्ठ टेलरिङको ब्राण्डलाई अझ माथि लैजानका लागि काम गरिरहेका छौं ।

व्यवसायमैत्री नीति
विनोद श्रेष्ठ
प्रबन्ध निर्देशक
श्रेष्ठ टेलरिङ
अहिले नेपालको व्यावसायिक वातावरण त्यति राम्रो छैन । बैङ्कबाट ऋण लिनदेखि व्यवसाय सञ्चालन गर्नेबेलासम्म व्यवसायीहरूले विभिन्न अप्ठयारा झेल्नुपरिरहेको छ । त्यसैले अन्य शहरहरूमा आउटलेट खोल्ने योजनालाई हामीले अगाडि बढाउन सकेका छैनौं । व्यवसायमैत्री नीति तथा वातावरण अहिलेको आवश्यकता हो ।

मल्टिटास्किङ महिला
योजना श्रेष्ठ
सञ्चालिका
श्रेष्ठ ट्रेजर
व्यवसायले मलाई विभिन्न थरीका मानिसहरूसँग अन्तरक्रिया गर्ने अवसर दिएको छ । व्यवसायले व्यक्तिको आत्मविश्वास बढाउने मात्र होइन, समग्र व्यक्तित्वमा पनि सकारात्मक प्रभाव पार्छ । महिलाहरू स्वाभावैले 'मल्टिटास्किङ' हुन्छन् । उनीहरूलाई समय व्यवस्थापन गर्न सिकाइरहनु पर्दैन ।

समयको सही व्यवस्थापन
सुनिता श्रेष्ठ
पर्चेजिङ अफिसर
श्रेष्ठ टेलरिङ
एउटी महिला व्यवसायमा लाग्नु उसका लागि मात्र होइन, समाजका लागि पनि फाइदाजनक छ । यसले उसलाई समाजमा चिनिन तथा जनसम्पर्क बढाउन सहयोग गर्छ भने समाजिक कार्यहरूमा पनि उसले योगदान पुर्याउन सक्छे । काम गर्नेलाई घर, बालबच्चा आदिले रोक्दैनन् । तर, समयको सही व्यवस्थापन गर्नु भने आवश्यक छ ।

डिजाइनर क्लोथको सपना
विकास श्रेष्ठ
प्रबन्धक
श्रेष्ठ टेलरिङ
समयले कसैलाई पनि पर्खिंदैन । यसको  सदुपयोग गर्नेले मात्र जीवनमा उपलब्धि हासिल गर्न सक्छन् । मैले हाम्रो कम्पनीलाई एक कदम अगाडि लैजाने सोच बनाएको छु । हामीले श्रेष्ठ टेलरिङको परिचय आउने खालको 'डिजाइनर क्लोथ' बनाउने छौं ।

Admin 2011-07-23