विज्ञापनको संसार - मोदनाथ ढकाल
सगरमाथमा अर्को कीर्तिमान
गिनिज बूक अफ वर्ल्ड रेकर्डसमा नेपालको अर्को एउटा कीर्तिमान थपिने सम्भावना देखिएको छ । यो कीर्तिमान हो- संसारकै सबैभन्दा उच्च ठाउँमा छायाङ्कन गरिएको विज्ञापनको । यही भदौ २ गतेदेखि नेपाली टेलिभिजन च्यानलहरूमार्फत सार्वजनिक भएको नेपाल बैङ्क लिमिटेड (एनबीएल)को टेलिभिजन विज्ञापन (टीभीसी) अहिले चर्चामा छ । इतिहासमै पहिलोपटक सगरमाथाको शिखरसम्मै पुगेर छायाङ्कन गरिएको यो टीभीसीमा कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले मोडलिङ गरेका छन् । फिल्मको छायाङ्कन तथा निर्देशन फिल्म हिमालयका टीम लिडर विनोद अधिकारीले गरेका हुन् ।
सगरमाथा सफाइको मुख्य उद्देश्य लिएर त्यसतर्फलागेका अधिकारीलाई कुनै दिन त्यसैले गिनिज बूकमा समावेश गराउन सक्छ भन्ने लागेको थिएन । तर, त्यही आरोहणका क्रममा छायाङ्कन गरिएको डक्युमेण्ट्रीबाट बनाइएको एनबीएलको विज्ञापनले उनको करीयरमै नयाँ उचाइ थपेको छ । विज्ञापनलाई गिनिज बूकमा समावेश गर्नका लागि गिनिज वर्ल्ड रेकर्डस सकारात्मक रहेको पत्र अधिकारीले पाइसकेका छन् ।
निर्माणपछाडिको कथा
केही महीनाअगाडिको कुरा हो, काठमाडौंको नयाँबजारस्थित टाइनी सिड्स स्कूलमा अधिकारी बालबालिकाको 'नाइट क्याम्प'को डक्युमेण्ट्री शुटिङ गर्दै थिए । त्यही क्रममा बैङ्कका जनसम्पर्क अधिकृत आश्विन पुडासैनीसँग उनको भेट भएको थियो । त्यही भेटमा नै उनले आफू पेम्बाको टोलीसँग सगरमाथा सफाइ अभियानको शुटिङका लागि त्यसतर्फजान लागेको बताएका हुन् । बैङ्कले चाहेको खण्डमा टोलीलाई सहयोग गर्न सक्ने र त्यसले बैङ्कको इमेज बिल्डिङमा मद्दत पुग्ने कुरा उनले नै पुडासैनीलाई बताएका थिए । पहिले मिडियामै काम गरेका पुडासैनीले कुरा बुझिहाले । उनले बैङ्कमा कुरा राखे तर कम्पनीले तत्काल यसका लागि स्वीकृति भने दिएन । बैङ्कका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले एक सञ्चारमाध्यममा शेर्पाको अन्तर्वार्ता सुनेपछि टोलीलाई सहयोग गर्नुपर्छ भनेर कुरा अगाडि बढेको थियो । त्यसपछि टोलीले बैङ्कको झण्डा सगरमाथामा लैजाने भयो । यसका लागि बैङ्कले ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।
शेर्पा र अधिकारीको टोली सगरमाथाबाट नफर्किउञ्जेल पुडासैनी मात्र होइन, बैङ्कका अन्य उच्च अधिकारीहरूलाई एउटै डरले पिरोलिरहेको थियो । 'मौसमले साथ दिएन भने सबै योजना अलपत्र पर्ने पक्का थियो । सामान्य अवस्थामा पनि सगरमाथा आरोहणमा गएका सबै टोली सफल हुँदैनन्,' पुडासैनी भन्छन् । हुन पनि अन्तिम आधार शिविरमा पुगेर अधिकारी र शेर्पाको टोलीले १६ दिन प्रतिक्षा गर्नुपरेको थियो । 'मौसम बिग्रिएपछि हामी अगाडि बढ्न सकेनौं । ६ हजार ४ सय मिटरको उचाइमा रहेको अन्तिम आधार शिविरमा हरेक बिहान उठ्दा म जिउँदै भएको जाँच्न आफैलाई चिमोट्थेँ,' अधिकारी आधार शिविरको कष्ट पोख्छन् । त्यस्तो अप्ठयारो ठाउँमा प्रतिकूल मौसमसँग जुध्दै फिल्म शुटिङ गर्नु कम्ती गाह्रो थिएन । अधिकारीले एउटा ठूलो 'हाई डेफिनिशन' क्यामेराका साथै टाउकोमा अडयाउन मिल्ने सानो क्यामेरा पनि बोकेका थिए । उनले पालैपालो ती क्यामेराबाट दृश्य खिचेका थिए । अधिकारी सगरमाथा आरोही पनि हुन् । साना हिमशिखरहरू उनले त्यसअघि नै चढिसकेका थिए । त्यसैले उनलाई त्यहाँ कसरी काम गर्नुपर्छ भन्ने थाहा थियो । उनको टोलीमा उनी र शेर्पासमेत १० जना थिए । फिल्मको सम्पादन तथा एनिमेशनको कार्य फिल्म हिमालयका चिफ टेक्निकल एडभाइजर कपिल पराजुलीले गरेका हुन् ।
विज्ञापनको अर्थ
एनबीएलको विज्ञापन पेम्बा दोर्जे शेर्पालाई देखाएर शुरू हुन्छ । त्यसपछिको दृश्यमा सर्वोच्च शिखर सगरमाथा आउँछ । यसले दर्शकलाई त्यसपछि के होला भनेर हेर्न कौतूहलता जगाउँछ । विज्ञापनको बीचमा आउने शब्द 'रक्षक' र 'प्रेरक'लाई निकै अर्थपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । 'रक्षक'लाई आरोहीहरूभन्दा माथि भित्तामा राखिएको छ । त्यसअघि हिमपहिरो खसिरहेको दृश्य देखाइएकाले यो शब्दलाई त्यो पहिरो छेक्ने गरी राखिएको छ । 'प्रेरक' शब्दलाई सगरमाथा शिखरतर्फसोझयाइएको छ । सहारालाई भने खाल्डोको पारि भित्तामा देखाइएको छ । विज्ञापनमा प्रस्तुत गरिएका यी शब्दको अर्थ पनि उत्तिकै महत्त्वपूर्ण छ । यी सबै शब्दलाई बैङ्कको प्रतीकका रूपमा प्रयोग गरिएको अधिकारी बताउँछन् । रबिन शर्माको स्वरमा सुनिने वाक्य 'वर्षौंदेखि तपाईंलाई साथ दिँदै आएका'ले एकैपटक नेपालीलाई वर्षौंदेखि सगरमाथाको, सगरमाथा चढ्नेलाई शेर्पाको र नेपालीलाई नेपाल बैङ्कको साथ भन्ने अर्थ दिन सक्छ । तर, विज्ञापनमा भने नेपालीलाई नेपाल बैङ्कको साथ भन्ने बुझाउन खोजिएको हो । खाईमा सहारा बनेको भर्याङ पनि बैङ्कले दिने कर्जा तथा अन्य सुविधाको प्रतीक हो ।
विज्ञापनमा देखाइएका दृश्यहरू राम्रा छन् । छायाङ्कन गुणस्तरीय छ । तर, दृश्यहरूलाई जस्ताको तस्तै राखिएकाले कतिपयलाई यो विज्ञापन नभएर डक्युमेण्ट्रीजस्तो लाग्न सक्छ । विज्ञापनमा प्रयोग गरिएका 'टेक्स्ट'को आकार पनि केही ठूलो भएजस्तो लाग्छ । 'हामी रङमा खेलेका छैनौं । तपाईं विज्ञापनमा जे देख्नुहुन्छ त्यो प्राकृतिक हो,' अधिकारी भन्छन्, 'हामीले सगरमाथा र आरोहीहरूलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।' यसले विज्ञापनलाई अझ बढी रोमाञ्चक बनाएको छ । विज्ञापनको अन्त्यमा मात्र बैङ्कको नाम आउने भएकाले दर्शकको पूरा ध्यान त्यहाँ देखाइएका दृश्य तथा व्यक्तिहरूमा केन्द्रित हुन्छ । उनीहरूले विज्ञापन सकिएपछि मात्र कम्पनीका बारेमा सोच्ने मौका पाउँछन् । यसले विज्ञापनलाई थप प्रभावकारी बनाएको छ । रमाइलो कुरा त के छ भने यो विज्ञापनमा सफाइ अभियानमा मात्र खिचिएका दृश्य छैनन् । अधिकारीले त्यसअघि खिचेको दृश्यहरू पनि विज्ञापनमा समायोजन गरिएको छ ।
सगरमाथाको फिल्मको मूल्य
अधिकारी र उनको टोलीले ज्यान जोखिममा राखेर सगरमाथामा बनाएको फिल्म धेरै विदेशी व्यक्ति तथा संस्थाले किन्न खोजेका थिए । एउटा टीभी च्यानलले तत्कालै २० लाख रुपैयाँमा त्यो फिल्म किन्ने प्रस्ताव गरेको थियो । 'उच्च हिमालमा शुटिङ गरेका हरेक फिल्मको अन्तरराष्ट्रिय बजारमा ठूलो महत्त्व छ,' अधिकारी भन्छन् । अहिले अधिकारी र पुडासैनीलाई चारैतिरबाट प्रशंसा र बधाई आइरहेको छ । नेपालका केही बैङ्क तथा उद्योगहरूले उनीसँग यस्तै विज्ञापन निर्माणको प्रस्ताव गरिसकेका छन् । अधिकारीले भारतबाट हलुका पेय 'ड्यू'को विज्ञापन गर्ने प्रारम्भिक कुरासमेत भएको छ ।
नेपालले आफ्नै प्राकृतिक सम्पदाहरूको 'मार्केटिङ' गर्न नसकेको अधिकारीको गुनासो छ । 'हाम्रो मुलुक एउटा प्राकृतिक स्टुडियो हो । यहाँ विज्ञापन तथा फिल्म शुटिङका लागि विदेशीहरूलाई निम्त्याउन सकिन्छ,' उनी भन्छन् । यसबाट नेपालले विदेशी मुद्रा कमाउने र मुलुकका रमणीय स्थल तथा सम्पदाहरूको प्रचारप्रसार पनि हुने उनको धारणा छ ।
Admin 2011-09-03