ऊनी कपडासग सम्बन्धित अन्य उद्योगको ठूलो सम्भावना छ

मृगेन्द्र प्रधानाङ्ग सञ्चालक,
प्रधानाङ्ग एपेरल्स उद्योग
हामीले काम शुरू गर्दा कुनै प्रतिस्पर्धी नै थिएनन्। तर, आजभोलि अन्य कम्पनी पनि छन् भन्ने अनुभूति हुन थालेको छ। गुणस्तरमा प्रतिस्पर्धा भयो भने मलाई गर्व लाग्छ। तर, बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेको छ। जुन राम्रो कुरा होइन। विगत २५ वर्षदेखि ऊनी सामग्रीको उत्पादन तथा निर्यात व्यापारमा सक्रिय ‘प्रधानाङ्ग एपेरल्स उद्योग’का सञ्चालक मृगेन्द्र प्रधानाङ्गसँग ऊनी कपडा उत्पादन, निर्यात र व्यावसायिक सम्भावनाका बारेमा गरिएको कुराकानीको सार :
नेपालमा ऊनी कपडा उद्योगको सम्भावना कस्तो छ ?
म यसको ठूलो सम्भावना देख्छु । मानिसलाई ऊनी कपडा उत्पादन गर्ने शीप सिकाउने हो भने थुप्रैले यो व्यवसाय गर्न सक्छन् । तर, नेपालमा ठूला लगानीका उद्योग सञ्चालन गर्न भने गाह्रो छ । चीन र भारतजस्ता ठूला मुलुकका बीचमा रहेका कारण उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो हुन सक्छ । यद्यपि, उद्योगकै सम्भावना नभएको भने होइन । यस्ता उद्योगका लागि आवश्यक कच्चा पदार्थ भेडाको ऊन नै हो । तर, अहिले अधिकांश ऊन आयात गर्नुपर्ने अवस्था छ । नेपालमा नै व्यावसायिक हिसाबले भेडापालन हुन सकेमा यस्ता उद्योगले फष्टाउने मौका पाउँछन् । दोस्रो कुरा, नेपालमै ऊनबाट धागो बनाउने ‘हाइटेक स्टेमिङ प्लाण्ट’ स्थापना गर्नु आवश्यक छ । त्यस्तै, धागोलाई रङ्ग्याउने प्रविधिको पनि विकास गर्न सकिन्छ । त्यसैले ऊनी कपडा मात्र नभई त्यससँग सम्बन्धित अन्य व्यवसायको पनि निकै सम्भावना छ ।
नेपालकै पुरानो ऊनी कपडा उद्योगमध्येको प्रधानाङ्ग एपेरल्स उद्योगले हाल कस्ता कस्ता कपडा उत्पादन गर्छ ?
हामीले टाउकोदेखि पैंतालासम्म प्रयोग हुने टोपी, मफलर, ज्याकेट, स्वेटर, पञ्जा, मोजा, ब्यागलगायत विभिन्न किसिमका पोशाक उत्पादन गरिरहेका छौं । उद्योगले ग्राहकको चाहनाअनुसार ऊनमा आधारित सबै किसिमका पोशाक उत्पादन गर्छ । यस्तै, हामी ग्राहकको अर्डर र डिजाइनअनुसार पनि पोशाक तयार गछौं ।
यहासग ऊनी कपडा उद्योग सञ्चालनको लामो अनुभव छ, पहिला र अहिले यसको व्यावसायिक अवस्थामा कस्तो परिवर्तन पाउनु भयो ?
हामीले काम शुरू गर्दा कुनै प्रतिस्पर्धी नै थिएनन् । तर, आजभोलि अन्य कम्पनी पनि छन् भन्ने अनुभूति हुन थालेको छ । गुणस्तरमा प्रतिस्पर्धा भयो भने मलाई गर्व लाग्छ । तर, बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेको छ । जुन राम्रो कुरा होइन । अहिले उत्पादनमा मात्र नभई एउटा कम्पनीले आफ्नै लगानी र परिश्रमबाट दक्ष बनाएको जनशक्ति अर्को कम्पनीले तान्ने नराम्रो प्रवृत्तिको विकास भइरहेको छ ।
उद्योगका उत्पादन केन्द्रहरू कहा र कति छन् ?
हाम्रा उत्पादन केन्द्रहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा छन् । काठमाडौंको बालाजु, ललितपुरको पाटन र भक्तपुरमा उत्पादनसँगै यससम्बन्धी शीप सिकाउने व्यवस्था गरेका छौं । तर, साँखु, पनौती, बनेपालगायत पाँच ठाउँबाट भने उत्पादन मात्र गछौं । यसबाहेक भविष्यमा नयाँ स्थानमा पनि उत्पादन केन्द्र विस्तार गर्ने योजना छ । हामीले आफ्नो शतप्रतिशत उत्पादन निर्यात गर्दै आएका छौं । यसबाट उद्योगले वार्षिक १० करोड रुपैयाँबराबरको व्यवसाय गर्छ । हामीले ६ सय जनालाई रोजगारी पनि दिएका छौं । उनीहरूले आफ्नो शीपअनुसार मासिक ५ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।
अन्तरराष्ट्रिय बजारमा ऊनी कपडाको माग कस्तो छ ?
कुनै पनि उत्पादनको माग सधैं एकनास हुँदैन । अझ यो त फेशनेवल उत्पादन हो । अहिलेसम्मको अवस्थालाई हेर्दा २ देखि ४ वर्षबीचमा कहिलेकाहीँ ह्रास आएकोजस्तो देखिन्छ । तर, समग्रमा माग बढिरहेकै छ । अन्तरराष्ट्रिय बजारमा अन्य मुलुकका उत्पादन पनि पुगेका छन् । त्यसैले हामीले अन्य उत्पादक राष्ट्रसँग पनि प्रतिस्पर्धा गर्न सक्नु पर्छ । फेरि हाम्रोजस्तो भूपरिवेष्ठित देशमा कच्चा पदार्थ आयात गर्न पनि निकै अप्ठ्यारो छ । आयातमै भर पर्नु पर्दा उत्पादन लागत बढ्न जान्छ । त्यस्तै, गुणस्तरहीन रङ आइदिँदा सबै उत्पादनमा असर पर्छ । यी विविध कारणले एकनासको उत्पादन दिन नसक्दा कतिपय अवस्थामा अन्तरराष्ट्रिय बजारको विश्वास गुम्ने डर हुन्छ ।
प्रधानाङ्ग एपेरल्स उद्योगका उत्पादन कुन कुन देशमा निर्यात हुन्छ ?
हाम्रो उत्पादन बढी मात्रामा उत्तर अमेरिकी र यूरोपेली मुलुकमा निर्यात हुन्छ । अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नेदरल्याण्ड, फ्रान्स, स्पेन, कोरियालगायत देशमा यसको बजार राम्रो छ । यसमध्ये सबैभन्दा बढी यूरोपेली मुलुक र क्यानाडामा निर्यात हुने गरेको छ ।
सरकारसग ऊनी उद्योगले कस्तो अपेक्षा राखेको छ ?
सबै कुरा सरकारसँग मात्र अपेक्षा गरेर हुँदैन । तैपनि, आयात निर्यातमा सरकारले सहज वातावरण बनाउन सक्छ । सरकारले सबै व्यापारीलाई एउटै आँखाले पनि हेर्नु हुँदैन भन्ने मेरो आग्रह छ । कुन उद्योग हो र के उत्पादन गर्छ ? भन्ने कुरा ध्यान दिएर आयात निर्यातमा थोरै भए पनि कर छूट गर्न सक्छ । हाल सरकारले यस किसिमका उद्योगबाट उत्पादन हुने वस्तुको निर्यातमा परिमाण हेरी २ देखि ४ प्रतिशतसम्म ‘इन्सेण्टिभ’ दिँदै आएको छ, यो स्वागतयोग्य कुरा हो ।