‘सङ्कट सामना गर्न एशियाले थप कदम चाल्नुपर्छ’
मङ्सिर ४, नुसादुआ (इण्डोनेशिया) । यूरोजोनको ऋण समस्या एशियामा समेत चुहिनसक्ने खतरा रहेकाले त्यस्तो वित्तीय सङ्कट आउनुअघि नै तयारी गर्नुपर्नेमा जापानी प्रधानमन्त्री योशिहिको नोडाले जोड दिएका छन् । बलियो आर्थिक नीतिका कारण एशियाली क्षेत्रको चल्ती खाता बचतमा रहनुका साथै विदेशी मुद्राको पनि उच्च सञ्चिति रहेको नोडाले टिप्पणी गरे । तर, यूरोपेली सङ्कटले पार्नसक्ने प्रभावविरुद्ध तत्कालै कदम नचालिए एशियाली क्षेत्रले पनि सङ्कट बेहोर्नुपर्ने चेतावनी नोडाको छ ।
यूरोपेली क्षेत्रमा ऋण रणनीतिबारे देखिएको अन्योलले विश्वभरका नीतिनिर्माताले आप्mनो क्षेत्रमा समेत प्रभाव पार्नसक्ने चिन्ता व्यक्त गरेका छन् । यूरोजोनका साना अर्थतन्त्रहरू ग्रीस, आयरल्याण्ड र पोर्तुगल व्यापारिक ऋण लिन नसक्ने अवस्थामा पुगिसकेकाले उनीहरूलाई ईयू र आईएमएफको ऋणमोचन स्वीकार गर्न बाध्य गरिएको छ । हाल आएर इटलीको ऋणखर्च पनि धात्र नसकिने तहमा पुगिसकेको छ भने स्पेन पनि त्यसतर्फ बढिरहेको छ । यहाँसम्म कि ‘ट्रिपल ए रेटिङ’ भएको फ्रान्समा समेत सङ्कट प्रभाव पार्न थालेको देखिन्छ । एशियाली क्षेत्रमा देखिएको १९९७–९८ कै जस्तो वित्तीय सङ्कट नदोहोरियोस् भनेर जापान, चीन, दक्षिण कोरियाको पहलमा आसियानसँग मिलेर १२ खर्ब डलरको आपत्कालीन कोष स्थापना गरिसकिएको छ । सङ्कटको प्रतिरोध र क्षेत्रीय स्तरमा चालिने कदमबारेको छलफललाई जापानले नेतृत्व गरिरहेकाले आसियान तथा उक्त तीन देश सम्मिलित सम्मेलनमा आपूmले त्यसबारे प्रस्ताव गरेको नोडाले बताए ।