यूरोजोनमा मूल्य वृद्धितर घट्यो
माघ ४, ब्रसेल्स (बेल्जियम) । १७ यूरोपेली राष्ट्र सदस्य रहेको युरोजोनको मूल्य वृद्धिदर सन् २०११ को डिसेम्बरमा घटेको छ । ईयू स्ट्याटिष्टिक एजेन्सी (यूरोष्टाट)का अनुसार डिसेम्बरमा यूरोजोनको समग्र मूल्य वृद्धि २ दशमलव ७ प्रतिशतमा ओर्लिएको छ । नोभेम्बरमा यो दर ३ प्रतिशत रहेको थियो । एजेन्सीले पुनरवलोकनपछि नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो । यसअघि यूरोजोनको मूल्य वृद्धि २ दशमलव ८ प्रतिशत रहने अनुमान एजेन्सीको थियो । तर, अहिले सार्वजनिक दर यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राखेको लक्ष्यभन्दा बढी हो ।
ईसीबीले डिसेम्बरमा यूरोजोनको मूल्य वृद्धिलाई २ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । उतारचढाव भइराख्ने ऊर्जा र इन्धनको मूल्य घटाउँदा यूरोजोनको मूल्य वृद्धि १ दशमलव ९ प्रतिशत रहेको पनि एजेन्सीले जानकारी दिएको छ । बैङ्कले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर १ प्रतिशत कायम गरेको थियो । त्यस्तै यूरोष्टाटले डिसेम्बरमा ईयूको समग्र मूल्य वृद्धि घटेर ३ प्रतिशतमा आएको उल्लेख गरेको छ । नोभेम्बरमा यो दर ३ दशमलव ४ प्रतिशत थियो । तर, मूल्य वृद्धिमा आएको कमीले मात्र त्यहाँ सुधार भइरहेको भत्र नसकिने अर्थविद्हरूको भनाइ छ । ‘यूरोजोनको अर्थतन्त्रमाथि अहिले खराब ऋणको ठूलो दबाब छ, त्यसकारण खतरा विद्यमान नै छ,’ बार्कलेज क्यापिटलका फाबियो फोइसले भने । ‘मूल्य वृद्धि घटिरहँदा भने ईसीबीले मार्चमा ब्याजदर शून्य दशमलव ५ प्रतिशतसम्मले घटाउन सक्ने देखिन्छ,’ फोइसले अनुमान गरे । ईसीबीले नोभेम्बर र डिसेम्बरमा गरी २५ आधारभूत अङ्कले ब्याजदर घटाइसकेको छ । एजेन्सी