अकुपाई वालस्ट्रीट प्रदर्शन कमजोर

मङ्सिर ३, न्यूयोर्क (अमेरिका) । वालस्ट्रीटविरुद्धको प्रदर्शन अकुपाई वालस्ट्रीट (ओडब्ल्यूएस) कमजोर भइरहेको देखिएको छ । बिहीवार प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तपछि २ सय जना गिरप्mतार गरिएका थिए । तर, विगत २ महीनादेखि सडक तताइरहेका प्रदर्शनकारीमध्ये केहीमात्रै शुक्रवार जुकोटी पार्कमा देखिएका थिए । न्यूयोर्क शहरका अधिकारीहरू २ महीनादेखिको प्रदर्शन अन्त्य भइसकेको अपेक्षा गरेका छन् । आप्mनो माग राख्नु स्वाभाविक भएको र त्यो राखिसकिएकाले अब अर्थतन्त्रको निर्माण र रोजगार सृजनामा लाग्नुपर्ने न्यूयोर्कका मेयर माइकल ब्लुमबर्गले साप्ताहिक रेडियो सन्देशमार्फत प्रदर्शनकारीलाई सम्बोधन गर्दै भनेका थिए । आयोजकहरूले भने आफूहरूले प्रदर्शन जारी नै राख्ने बताएका छन् । प्रदर्शनकारीको बसोबासबारे कुनै सङ्गठित सञ्जालको व्यवस्था नगरिएकाले अन्य शहरबाट न्यूयोर्क आएका प्रदर्शनकारीलाई कहाँ बस्ने र कहाँ सुत्ने भत्रे समस्या देखिएको छ । जुकोटी पार्कबाट निष्कासित केही प्रदर्शनकारीलाई केही स्थानीय चर्चले वास दिएका छन् । त्यसैगरी, थ्याङ्कगिभिङ बिदा नजिकिँदै गएकाले थप प्रदर्शनकारी घर फर्किने अनुमान गरिएको छ । आयोजकहरूले भने आगामी कदमबारे खुलाउन चाहेनन्, तर छलफल र योजना भइरहेको बताए ।