शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आर्थिक सङ्कटको मनोवैज्ञानिक मारमा


मङ्सिर ४, लण्डन (बेलायत) । विश्वव्यापी आर्थिक सङ्कटको मनोवैज्ञानिक प्रभाव बेलायती बैङकरहरूमाथि परिरहेको एक अध्ययनले देखाएको छ । सन् २००८ मा शुरू भएको आर्थिक सङ्कटले सबैभन्दा असर गरेको वित्तीय तथा बैङ्किङ संस्थाका प्रमुखहरूले राजीनामा गर्न थालेका छन् । गत हप्ता लण्डनस्थित लोयड्स बैङ्कका कार्यकारी प्रमुख एण्टोनियो होर्ता ओसारियोले ‘स्वास्थ्यको कारण देखाई’ डिसेम्बरसम्म पद छाड्ने घोषणा गरेपछि यो विषय सतहमा देखिन थालेको हो । तर, निकटस्थ स्रोतहरूका अनुसार वार्षिक १० लाख पाउण्डभन्दा बढी तलब पाउने ओसारियो अहिले एक प्रकारको मनोवैज्ञानिक रोगबाट ग्रसित छन् । सन् २००९ मा लोयड्स बैङ्क आर्थिक सङ्कटको चपेट परेको र त्यसलाई बेलायत सरकारले वित्तीय उद्धार गरेपछि नै ओसारियो क्रमशः ‘डिप्रेसन’को शिकार बन्दै गएको बुझिएको छ ।

ओसारियोको घोषणापछि लोयड्स बैङ्क डुब्न लागेको आशङ्कामा शेयरमूल्य घटेको थियो । आर्थिक र वाणिज्य क्षेत्रको अध्ययन गर्ने संस्था ‘सेण्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च’ (सीईबीआर)ले हालै गरेको एक अध्ययनअनुसार वित्तीय क्षेत्रमा काम गर्नेहरू अहिले विशेषगरी रोजगारी गुम्ने र आफू कार्यरत संस्था डुबेमा त्यसको अपजस लिनुपर्ने डरले चिन्तित छन् । ‘सीईबीआर’ले गरेको अनुमानमा यो सन् २०११ मा अघिल्ला वर्षको तुलनामा वित्तीय क्षेत्रको रोजगारी कटौती हुने सम्भावना बढी छ । ‘सीईबीआर’ले यस वर्ष हुने रोजगार कटौतीले कर्मचारीहरूको सङ्ख्या सन् १९९८ को हाराहारीमा पुग्नेछ । त्यसैगरी लण्डनस्थित मनोवैज्ञानिक उपचार तथा परामर्शदाता संस्था ‘सिटी साइकोलोजिकल ग्रूप’का डा. माइकल सिनक्लेयरले ओसारियोजस्तै अन्य बैङ्कका प्रमुखहरूले राजीनामा दिने सम्भावना वृद्धि भइरहेको उल्लेख गरे । डा. सिनक्लेयरले आर्थिक वृद्धि नहुनु नै कर्पोरेट क्षेत्रमा देखिएको निराशा र तनावको प्रमुख कारण रहेको बताए ।