शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

उच्च विक्रीले ‘नाइकी’को आम्दानी बढायो

पुस ६, ओरेगन (अमेरिका) । अमेरिकी स्पोर्टस्वेयर उत्पादक ‘नाइकी’को सन् २०११ को दोस्रो अर्धवार्षिक आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनमा जुलाई–डिसेम्बर अवधिसम्म कुल आम्दानी ५ अर्ब ७३ करोड अमेरिकी डलर भएको बताइएको छ । यस अवधिमा कम्पनीको खुद मुनाफा ३ प्रतिशतले वृद्धि भई ४६ करोड ९० लाख डलर रहेको प्रतिवेदनमा उल्लेख छ । गतवर्षको यही अवधिमा कम्पनीले ४५ करोड ७० लाख डलर मुनाफा आर्जन गरेको थियो । नाइकीले जुलाई– डिसेम्बर अवधिमा गरेको आम्दानी विश्लेषकहरूले गरेको पूर्वानुमानभन्दा बढी हो । यसअघि कम्पनीको आम्दानी ५ अर्ब ६३ करोड डलर हुने अनुमान गरिएको थियो । त्यसैगरी कम्पनीका उत्पादनहरूको मागमा १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ९० करोड डलर पुगेको जानकारी पनि प्रतिवेदनमा दिइएको छ । त्यसैगरी कम्पनीकै स्वामित्वमा रहेका ‘कन्भर्स’ र ‘उम्ब्रो’ ब्राण्डका उत्पादन विक्री जुलाई– डिसेम्बर अवधिमा ५ प्रतिशतले बढेको कम्पनीले बताएको छ । उत्पादनहरूका विक्री उच्च हुनुले आम्दानी बढेको कम्पनीको भनाइ छ । तर, आम्दानी बढे पनि उत्पादन लागत वृद्धि भएकाले नाफाको मार्जिन भने २ दशमलव ६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।