१ खर्ब ३० अर्ब यूरोको वित्तीय उद्धार पाउंदै ग्रीस
फागुन ९, ब्रसेल्स (बेल्जियम) । महीनौंसम्मको दुबिधा र नाटकीय ढिलाइपछि ऋणसङ्कटग्रस्त ग्रीसले वित्तीय उद्धार प्याकेजअन्तर्गत दोस्रो किस्ताको १ खर्ब ३० अर्ब यूरो पाउने भएको छ । यसबारे निर्णय लिन ब्रसेल्समा आयोजित यूरोजोनका अर्थमन्त्रीहरूको एक बैठकले ग्रीसलाई दिइने वित्तीय उद्धारमा सहमति गरेको थियो । सोमवार शुरू भएको बैठकमा रातभर यस विषयमा गम्भीर छलफल चलेको र मङ्गलवार सबेरै वित्तीय उद्धारको दोस्रो किस्ता प्रदान गर्ने निर्णय गरिएको थियो । यूरोजोन अर्थमन्त्रीहरू यूरोपियन युनियन (ईयू र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)द्वारा आर्थिक सुधार तथा पुनरुत्थानका लागि अघि सारिएका शर्तहरू ग्रीस सरकार र संसद्ले स्वीकार गरेपछि उक्त सहयोग राशी दिन सहमत भएका हुन् ।
वित्तीय उद्धार प्याकेजमा तोकिएको रकम यूरोपेली वित्तीय स्थायित्व संयन्त्र (ईएफएसएफ) र आईएमएफले संयुक्त रूपमा दिने बुझिएको छ । यसबाट आगामी महीनासम्म टाट पल्टिने आशङ्का गरिएको ग्रीसका समस्या तत्काललाई टरेको छ । अर्थमन्त्रीहरूको बैठकले अघि सारिएका शर्तहरू प्रभावकारी ढङ्गले पालन गरिए सन् २०२० सम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १ सय २० प्रतिशत रहेको ग्रीसको सार्वजनिक ऋण उल्लेख्य रूपमा घटाउन कार्ययोजना तयार गरेको छ । यूरोजोन अर्थमन्त्रीहरूले बैठकको अन्त्यमा ग्रीसको ऋणपत्र किनेका निजी लगानीकर्ताहरूलाई ऋणपत्रको मूल्य अपलेखन गर्न आह्वान गरेका छन् । यसबाट ग्रीस सरकारको विशाल सार्वजनिक ऋण १ खर्ब ७ अर्बले कम हुने विश्वास लिइएको छ । ‘लगानीकर्ताहरूलाई ऋणपत्रको प्रचलित मूल्य साढे ५३ प्रतिशतले अपलेखन गर्न आग्रह गरिएको छ,’ बैठकको संयोजन गरेका लक्जेम्बर्गका प्रधानमन्त्री तथा यूरोग्रूपका अध्यक्ष जाँ– क्लाउडे जङ्करले भने । ग्रीस सरकारद्वारा जारी ऋणपत्रको निजी खरीदकर्तामा प्रायजसो बैङ्क तथा लगानी कोष रहेका छन् ।
त्यसैगरी बैठकले ग्रीस सरकारलाई ऋण दिएका यूरोजोन राष्ट्रहरू तथा तिनका केन्द्रीय बैङ्कहरूले ब्याजदरमा उल्लेख्य कटौती गर्ने निर्णय पनि लिइएको छ । निर्णयअनुसार उद्धार प्याकेजअन्तर्गत दिइएको पहिलो किस्ताको रकमको ब्याजदर अहिले वित्तीय बजारमा प्रचलित २ देखि ३ प्रतिशत अङ्कबाट साढे १ प्रतिशत कायम गरिएको छ । त्यस्तै यूरोजोनका केन्द्रीय बैङ्कहरूले ग्रीसको ऋणपत्रबाट पाउने नाफा पनि नलिने गरी योजना तयार भएको छ । साथै ग्रीसको वित्तीय उद्धारको रकम आगामी ३ महीनाभित्र छुट्टै सरकारी खाता खडा गरी त्यसैबाट खर्च गरिने पनि यूरोजोन अर्थमन्त्रीहरूले उल्लेख गरेका छन् । यसबाट उसको ऋणभार थप कम हुने अपेक्षा अर्थमन्त्रीहरूको रहेको छ । ‘आजको दिन ग्रीसको अर्थतन्त्रका लागि ऐतिहासिक घडी भएको भत्रु अतिरञ्जित हुनेछैन,’ बैठक चलिरहँदा ब्रसेल्सतर्फ हानिएका ग्रीक प्रम लुकास पापादेमोसले बताए । तर, अर्थमन्त्रीहरूले ग्रीस सरकारसमक्ष आर्थिक सुधारको प्रगतिबारे कडा नियमन प्रणाली अख्तियार गर्नुपर्ने र त्यसो नभएमा सहयोग रोक्ने चेतावनी दिएको एक ईयू अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिए । एजेन्सीहरू