विमान फिर्ता गर्दै किङफिशर पाइलटहरू कम्पनी छाड्दै

फागुन ९, मुम्बई (भारत) । भारतीय अर्बपति विजय माल्याको स्वामित्वमा रहेको किङफिशर एयरलाइन्सले लिजमा लिएका विमान फिर्ता गर्न लागेको छ । मुम्बईबाट प्रकाशित हुने ‘द मिण्ट’ पत्रिकाले नाम नखुलाउने शर्तमा भारतीय उड्डयन मन्त्रालयका एक उच्च अधिकारीको हवाला दिँदै मङ्गलवार छापेको समाचारमा आर्थिक अभाव र पाइलटहरूको ठूलो सङ्ख्यामा पलायनपछि कम्पनीले यस्तो कदम उठाउन लागेको हो । यसअन्तर्गत किङफिशरले लिज सम्झौताअनुसारको भुक्तानी गर्न नसकेपछि थप दुई एयरबस एथ्री२० विमान फिर्ता गर्ने बताइएको छ । पत्रिकाले कुल ६४ ओटा विमान भएको किङफिशरले हाल एक दर्जनजति मात्र विमान सञ्चालन गरिरहेको खुलासा गरेको छ । त्यसैगरी ‘द टाइम्स अफ इण्डिया’ दैनिकले पनि फेब्रुअरी १४ सम्म कम्पनीका एथ्री२० विमानका पाइलटमध्ये ३५ जनाले राजीनामा दिइसकेको बताएको छ । दैनिकले विगत ६ महीनायता कम्पनीमा कार्यरत ३ सयदेखि ३ सय ५० पाइलटले राजीनामा दिइसकेको उल्लेख गरेको छ । आर्थिक अभावका कारण लामो समयसम्म तलब दिन नसक्नु पाइलटहरूको पलायनको मुख्य कारण रहेको देखिन्छ । यसैले गर्दा किङफिशरले शनिवारयता १ सय उडान रद्द गरेको छ ।
‘द टाइम्स अफ इण्डिया’का अनुसार एयरलाइन्सका नियमित २ सय ४० उडानमध्ये प्रतिदिन ३२ ओटा मात्र सञ्चालन भइरहेका छन् । किङफिशरले उडानहरू रद्द गरेपछि भारतीय नागरिक उड्डयन निर्देशनालयले कम्पनीसँग यस्तो गर्नुको कारण लिखित स्पष्टीकरण मागेको छ । कम्पनीका प्रवक्ताले भने ‘प्राविधिक गडबडीले गर्दा’ उडानहरू रद्द भएका र केही दिनभित्रै सबै सेवा पुनः सञ्चालन गरिने दाबी गरे । यसबाहेक कम्पनीको आर्थिक अवस्थाबारे सोधिएको प्रश्नका जवाफ दिन भने उनले अस्वीकार गरे । टाट पल्टिन लागेका आशङ्का व्यापक भइरहँदा मङ्गलवार किङफिशरको शेयर मूल्य २० प्रतिशतले घटेको थियो । विश्लेषकहरूले भने ‘फ्लाई द गुड टाइम्स’ स्लोगन भएको एयरलाइन्सको ऋण १ अर्ब अमेरिकी डलर नाघेको बताएका छन् । सन् २००५ मा भारतीय उड्डयन बजारमा कब्जा जमाउने महइभ्वाकाङ्क्षी योजनाका साथ शुरू भएको किङफिशरले अहिलेसम्म कुनै नाफा आर्जन गर्न सकेको छैन । एजेन्सी