अमेरिकी म्यानुफ्याक्चरिङ ६ महीनायताकै उच्च
पुस २०, न्यूयोर्क (अमेरिका) । अमेरिकाको म्यानुफ्याक्चरिङ सूचक ६ महीनायताकै उच्चबिन्दुमा पुगेको छ । डिसेम्बरमा अमेरिकी म्यानुफ्याक्चरिङ ‘पर्चेजिङ म्यानेजर्स इण्डेक्स’ (पीएमआई) सूचकमा ५३ दशमलव ९ अङ्कमा रहेको छ । ‘द इण्टिच्युट फर सप्लाई म्यानेजमेण्ट’ले सार्वजनिक गरेको सो तथ्याङ्कको आधारमा म्यानुफ्याक्चरिङ क्षेत्रको यो वृद्धि सन् २०११ को जुनपछिकै उच्च हो । सूचकमा कुनै पनि आर्थिक क्षेत्र ५० अङ्क भन्दामाथि जानुले सो क्षेत्र फैलिरहेको सङ्केत गर्दछ । सन् २०११ को चौथो त्रैमासमा अमेरिकामा उत्पादन तथा आन्तरिक खपत वृद्धि भएपछि ‘पीएमआई’ सूचकमा समेत त्यसको सकारात्मक प्रभाव परेको छ ।
इन्ष्टिच्युटले डिसेम्बरमा भएको वृद्धिसँगै सन् २०१२ मा अमेरिकामा माग बढेको बताएको छ । म्यानुफ्याक्चरिङमा भएको वृद्धिसँगै त्यहाँ निर्माण गतिविधि पनि बढेका छन् । मङ्गलवार सार्वजनिक तथ्याङ्कले सन् २०११ नोभेम्बरमा निर्माण तथा पूर्वाधार विकासका खर्च विगत १८ महीनायताकै उच्चबिन्दुमा पुगेको देखाएका छन् । म्यानुफ्याक्चरिङ तथा निर्माण गतिविधिमा आएको वृद्धिले अमेरिकामा बेरोजगारी दर पनि घट्ने देखिएको छ । शुक्रवार अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गर्ने बेरोजगारीदरसम्बन्धी तथ्याङ्कले रोजगारी बढेको जानकारी दिने आशा गरिएको छ । विश्लेषकहरूले डिसेम्बरमा अमेरिकामा १ लाख ६५ हजार रोजगारी थपिएका बताइरहेका छन् । यो ८ दशमलव ६ प्रतिशतको उच्च बेरोजगारीदर धानिरहेको अमेरिकी अर्थतन्त्रका लागि सुखद भएको उनीहरूको भनाइ छ । यसका साथै अर्थशास्त्रीहरूले सन् २०११ को चौथो त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) अघिल्लो त्रैमासभन्दा १ दशमलव ८ प्रतिशतले बढ्न सक्ने अनुमान गरेका छन् । सुक्ष्म आर्थिक विश्लेषकहरूले सन् २०११ को चौथो त्रैमासमा ‘जीडीपी’ ३ दशमलव ५ प्रतिशत रहने बताएका छन् । यससँगै सन् २०११ मा निराशाजनक कारोबार गरेको प्रमुख अमेरिकी शेयर बजार ‘वालष्ट्री’ले पनि वर्षको राम्रो शुरुआत गरेको छ । आर्थिक गतिविधि बढेका तथ्याङ्क सार्वजनिक भएपछि मङ्गलवार प्रमुख अमेरिकी शेयर सूचकहरू ‘एस एण्ड पी ५००’ र ‘डाउ जोन्स’ दुवै १ दशमलव ७ प्रतिशतले बढेका थिए ।