तेलको मूल्यवृद्धि
पुस २०, लण्डन (बेलायत) । बुधवार अन्तरराष्टिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । केही समययता अस्थिर रहेको कच्चा तेलको मूल्य विश्वव्यापी आर्थिक सुधार तथा मध्यपूर्वमा युद्धको भय तथा अमेरिकी डलरको भाउ घट्नुले बढेको हो । बुधवारको कारोबारमा कच्चा तेल १ सय २ डलर ३३ सेण्टमा कारोबार भयो । फेबु्रअरी डेलिभरीको ‘बे्रण्ट क्रुड’ भने अघिल्लो दिनको प्रतिब्यारेल १ सय १२ दशमलव २७ अमेरिकी डलरबाट १ सय ५ डलरमा ओर्लिएर कारोबार भयो । त्यसैगरी ‘यूएस क्रुड’को प्रतिब्यारेल मूल्य अघिल्लो दिनको भन्दा ४ दशमलव १३ डलरले वृद्धि हुँदै १ सय २ दशमलव ९६ डलर पुगेको थियो । अमेरिका, चीन, भारत र केही यूरोजोन राष्ट्रका आर्थिक गतिविधि अपेक्षा गरिएभन्दा राम्रो रहेका तथ्याङ्क सार्वजनिक भएपछि तेलको माग बढेको छ । त्यसका साथै विश्वको तेस्रो ठूलो तेल निर्यातकर्ता इरानको आणविक कार्यक्रमलाई लिएर बढेको तनाबले पनि तेलको मूल्य वृद्धि गराएको छ । गत हप्ता इरानले आफूविरुद्ध नाकाबन्दी लगाइए विश्वमा २० प्रतिशत तेल आपूर्ति हुने होर्मुजको जलमार्गलाई बन्द गरिदिने धम्की दिएको थियो । इरानको त्यस्तो धम्कीपछि खरिदकर्ता अभाव हुने डरले तेल जम्मा गर्न अग्रसर भएकाले पनि मूल्य वृद्धि भएको हो । त्यसैगरी केही दिनयता डलरको भाउमा आएको कमीले पनि कच्चा तेलको मूल्य सस्तो भएकाले लगानीकर्ता तेल खरीद गर्न हौसिएका हुन् ।