‘ग्रीस यूरोजोनबाट बाहिरिन सक्छ’
पुस २०, एथेन्स (ग्रीस) । ग्रीसलाई दोस्रो खेपमा १ खर्ब ३० अर्ब यूरो (२ खर्ब १८ अर्ब ६० करोड डलर) दिने विषयमा सम्झौता नभएमा उक्त देश यूरोजोनबाटै बाहिरिनुपर्ने अवस्था आउने त्यहाँको सरकारको चेतावनी छ । ऋणसमस्यामा नराम्रोसँग फसेको ग्रीसबाट सार्वजनिक रूपमा त्यस्तो चेतावनी आउनुलाई कतिपयले अनौठो मानेका छन् । तर, त्यस्तो कडा चेतावनी दिनुका पछाडि सरकारको खर्च कटौतीसम्बन्धी कडा कार्यक्रमप्रति देशभित्रबाट समर्थन खोज्नुका साथै अन्तरराष्ट्रिय ऋणदाताहरूप्रति समेत लक्षित गरिएको हुन सक्ने विश्लेषकहरूको अनुमान छ । ग्रीसले ईयू, अन्तरराष्ट्रिय मुद्रा कोष तथा निजी बण्डहोल्डरहरूसँग ऋणमोचन योजनामा सहमति खोजिरहेको छ । मार्चमा हुने भनिएको आगामी बण्ड निष्कासन अघि नै त्यस्तो सम्झौता हुन नसकेमा ग्रीस सरकारले ऋण भुक्तानीको म्याद नाघ्नेछ । ग्रीस र ईयूका अन्य सदस्यहरूले उक्त देश यूरोबाट बाहिरिने सम्भावनाको पटकपटक खण्डन गर्दै आएका छन् । किनभने, ग्रीस यूरोजोनबाट बाहिरिएमा उक्त क्षेत्र झनै गहिरो सङ्कटमा पर्न सक्ने ठानिएको छ ।
तर, दोस्रो खेपको ऋणमोचन सम्झौताका लागि लागू गर्नुपर्ने सुधार कार्यक्रम अलोकप्रिय रहेकाले पछिल्ला दिनहरूमा ग्रीस सरकार तीव्र दबाबमा छ । विभिन्न कर्मचारी तथा श्रमिक सङ्गठनहरूले सरकारको रोजगारी तथा ज्याला कटौती कार्यक्रमको चर्को विरोध गरेका छन् । त्यसैले, कि त यूरोजोन नै छाडनुपर्ने वा खर्च कटौतीको कार्यक्रम लागू गर्नैपर्ने बाध्यता रहेको ग्रीस सरकारका अधिकारीहरूले व्यक्त गर्दै आएका छन् । ग्रीसलाई ऋणको म्याद नाघ्नबाट तथा यूरोजोनबाट बाहिरिनबाट जोगाउन जनवरीको मध्यतिर नयाँ ऋणमोचन योजना बनाउने गत अक्टोबरमै सहमति भएको छ । त्यसका लागि ईयू, आईएमएफ र यूरोपेली केन्द्रीय बैङ्कका सुपरिवेक्षकहरू एथेन्समा भेला हुने भएका छन् ।
ए