शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 09, 2012
  

कोका–कोलाको विक्री बढ्यो


माघ २५, न्यूयोर्क (अमेरिका) । विश्वको सबैभन्दा ठूलो हल्का पेय उत्पादक द कोका–कोला कम्पनीले अपेक्षाकृत रूपमा विक्री बढेपनि नाफा घटेको बताएको छ । सन् २०११ मा आम्दानी ३३ प्रतिशतले बढेर ४६ अर्ब ५४ करोड डलर पुगेको कम्पनीले बताएको छ । सन् २०१० मा द कोका–कोला कम्पनीको आम्दानी ३५ अर्ब १२ करोड डलर रहेको थियो । त्यसैगरी कम्पनीका अनुसार सन् २०११ को चौथो त्रैमासमा ११ अर्ब ४ करोड डलर आम्दानी भएको छ । वालस्ट्रीट विश्लेषकहरूले यसअघि सो अवधिमा कोका–कोलाको आम्दानी ११ अर्ब डलर हुने पूर्वानुमान गरेका थिए । उत्पादनहरूको मूल्यवृद्धि र कोका–कोला ब्राण्डका जूस तथा पेयहरूको उच्च विक्रीले आम्दानी बढाएको कम्पनीको भनाइ छ । गतवर्षको अक्टोबर–डिसेम्बरमा विश्वव्यापी विक्रीदर ३ प्रतिशतले बढेको जानकारी कोका–कोलाले दिएको छ । सो अवधिमा कम्पनीका उत्पादनहरूको विक्री यूरोप र उत्तरी अमेरिकामा १ प्रतिशत र एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा ४ प्रतिशत बढेको बताइएको छ ।


नाफा घट्यो

उत्पादनको मूल्य र विक्री बढे पनि मुनाफा भने घटेको कम्पनीले बताएको छ । गतवर्षको मुनाफा अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले घटेर ८ अर्ब ५७ करोड डलर रहेको कम्पनीले बताएको छ । सन् २०१० मा द कोका–कोला कम्पनी ११ अर्ब ८१ करोड डलर मुनाफा आर्जन गर्न सफल भएको थियो । त्यसैगरी गतवर्षको चौथो त्रैमासको मुनाफामा ७१ प्रतिशतले कमी देखिएको बताइएको छ । त्यसका साथै अन्य ब्राण्डका पेयबाट राम्रो आम्दानी भए पनि सन् २०११ मा स्प्राइट र मिनेट मेड ब्राण्डका हल्का पेयको आम्दानी भने अघिल्लो वर्षको तुलनामा घटेको कम्पनीले बताएको छ । कम्पनीका कार्यकारी प्रमुख मु≈तार केण्टले कम्पनीको पुनः संरचनामा गरिएको खर्चले नाफा घटाएको बताए । ‘१२ महीने अवधिलाई समीक्षा गर्दा विशेषगरी उत्तर अमेरिकामा उपभोक्ताहरूको आत्मविश्वास फर्किन थालेको देखिन्छ । सन् २०१० को तुलनामा गतवर्ष मानिसहरूको भ्रमण जाने र बाहिर गएर खाने क्रम बढेको हामीले पाएका छौं,’ केण्टले भने । त्यसले कम्पनीका उत्पादनको विक्री बढाएको उनको भनाइ थियो ।