अमेरिकी कारमाथि चीनमा ‘एण्टी डम्पिङ’ शुल्क
मङ्सिर २८, बेइजिङ (चीन) । चीनले अमेरिकामा बनेका केही प्रकारका कारमाथि ‘एण्टी डम्पिङ’ शुल्क लगाएको छ । बुधवार सरकारको निणर्यबारे जानकारी दिँदै चीनको वाणिज्य मन्त्रालयले उक्त शुल्क अमेरिकामा निर्मित महँगा स्पोर्टस् तथा लक्जरी कारमा लगाइएको बतायो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बिहीवारदेखि लागू गरिने ‘एण्टी डम्पिङ’ शुल्क साढे दुई लिटर डिस्प्लेशमेण्ट क्षमताका इञ्जिन भएका महँगा कारमा २ वर्षको अवधिसम्म लगाइनेछ । नयाँ व्यवस्थाअनुसार चीनमा भित्रिने अमेरिकी कारहरूबाट २ प्रतिशतदेखि २१ दशमलव ५ प्रतिशतसम्म ‘एण्टी डम्पिङ’ शुल्क लिइनेछ । त्यसैगरी महँगा कारमा अमेरिकाले दिएको अनुदानविरुद्ध पनि थप भन्सार शुल्क लगाउने र त्यसको अधिकतम दर १२ दशमलव ९ प्रतिशत कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो निर्णयबाट चीनमा महँगा कार विक्री गरिरहेका अमेरिकी कम्पनीहरू जनरल मोर्टस, फोर्ड, क्राइज्लर, बीएमडब्ल्यू म्यानुफ्याक्चरिङ, मर्सिडिज–बेञ्ज यूएस र अमेरिकन होण्डा मोटरको विक्री प्रभावित हुने देखिएको छ । विश्लेषकहरूले भने तनावमा रहेको अमेरिकासँगको व्यापारिक सम्बन्ध चीन सरकारको पछिल्लो निर्णयबाट थप चिसिने बताएका छन् । चीनमा उत्पादित सस्ता समानमाथि अमेरिकी सरकारले गत महीना ‘एण्टी डम्पिङ’ लगाएपछि बदला स्वरूप चीनले यस्तो कदम चालेको बुझाइ विश्लेषकहरूको छ ।
‘हङकङ विश्वकै विकसित वित्तीय बजार’
मङ्सिर २८, कोलोनी (स्वीट्जरल्याण्ड) । एशियाको प्रमुख व्यापारिक गन्तव्य हङकङले विश्वकै सबैभन्दा विकसित वित्तीय बजारको स्थान पाएको छ । गैरनाफमूलक स्वीस संस्था वल्र्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ)ले बुधवार प्रकाशित गरेको विश्वका प्रमुख वित्त बजारको सूचीमा हङकङ अग्रस्थानमा छ । त्यहाँका शेयर बजार तथा बीमा कम्पनीलगायतका उत्कृष्ट गैरबैङकिङ वित्तीय सेवाका कारण हङकङ प्रथम स्थानमा आएको डब्ल्यूईएफले जानकारी दियो ।
तेलको उच्च मूल्यले विश्व अर्थतन्त्रमा जोखिमः आईईए
मङ्सिर २८, सिङ्गापुर (सिङ्गापुर) । विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीलाई तेलको बढ्दो मूल्यले झनै खराब बनाउने सम्भावना भएकाले तेलको उत्पादन बढाउनुपर्ने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) प्रमुख फतिह बिरोलले बताएका छन् । हाल रहेको तेलको उच्च मूल्यले धेरै देशको आर्थिक पुनर्बहालीलाई असर पार्ने सिङ्गापुर भाषणमा बिरोलले बताए । तेलको उच्च मूल्यबाट चीनको आर्थिक वृद्धिमा समेत असर नपरोस् भत्रे उनको अपेक्षा छ । किनभने, चीनको आर्थिक वृद्धि मन्द भएमा त्यसले विश्वव्यापी पुनर्बहालीमा नै नकारात्मक असर पार्नेछ । अक्टोबरमा प्रतिब्यारेल ७५ अमेरिकी डलर रहेको कच्चा तेल हाल सय डलरको हाराहारीमा छ । त्यसैगरी, यूरोपेली ऋणसङ्कट मन्दीतर्फ बढ्ने सम्भावना रहेकाले आगामी वर्ष यूरोपको आर्थिक वृद्धि झनै मन्द हुनेछ । विकासशील देशमा बढ्दो माग र धनी देशमा घट्दो सञ्चिति देखिएकाले तेल उत्पादकहरूले आप्mना उत्पादन बढाउनुपर्ने बिरोलको सुझाव छ । उत्पादन बढाउने विषयमा आज बुधवारै तेल निर्यातक देशहरूको समूह ओपेकको बैठक भियनामा बस्दै छ । मध्यपूर्व र उत्तर अफ्रिकाका तेल उत्पादक देशले विद्यमान तेल खानीको व्यवस्थापन र नयाँ खानीको विकासका लागि प्रतिवर्ष १ खर्ब डलर लगानी नगरेको खण्डमा २०१५ सम्ममा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ५० डलर पुग्ने बिरोलले बताए ।