भारतमा महँगी २ वर्षकै न्यून
फागुन २, नयाँ दिल्ली (भारत) । भारतको महँगीदर २ वर्षयताकै न्यून बिन्दुमा पुगेको मङ्गलवार प्रकाशित आधिकारिक तथ्याङ्कले देखाएको छ । महँगीको प्रमुख सूचक मानिने थोक विक्रीमूल्य परिसूचक अर्थात् होलसेल प्राइस इण्डेक्स (डब्ल्यूपीआई को आधारमा जनवरीमा महँगीदर ६ दशमलव ५५ प्रतिशतमा पुगेको छ ।

डिसेम्बरमा भने महँगीदर ७ दशमलव ४७ प्रतिशत रहेको थियो । खासगरी, खाद्यवस्तु तथा तरकारीको घट्दो मूल्यका कारण महँगीदर घटेको हो । तर, जनवरीमा घटेको महँगी बजार अपेक्षाअनुरूप नै रहे तापनि अझै पनि त्यो केन्द्रीय बैङ्कको लक्ष्यभन्दा ५ प्रतिशत माथि नै छ । खासगरी खाद्यवस्तुको बढ्दो मूल्यले २०११ वर्षभरि नै महँगीदर दोहोरो अङ्कमा रहेको थियो । डिसेम्बरदेखि भने महँगी कम हुन थालेको हो । केन्द्रीय बैङ्कले महँगी नियन्त्रण गर्न २०१० को मार्चपछि १३ पटक ब्याजदर बढाइसकेको छ । त्यसबाट औद्योगिक गतिविधि तथा आर्थिक वृद्धिसमेत सुस्त भएको छ । तर, ब्याजदर चरम बिन्दुमा पुगिसकेकाले अब आप्mनो ध्यान आर्थिक वृद्धितर्फ हुने केन्द्रीय बैङ्कले पछिल्ला दिनहरूमा भन्दै आएको छ । बैङ्कले अप्रिल वा मार्चमा ब्याजदर कटौती गर्न सक्ने विश्लेषकहरूको अनुमान छ । मार्चमा सकिने यस आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि झण्डै ६ दशमलव ९ प्रतिशतमा रहने देखिन्छ, जुन पछिल्ला वर्षहरूको तुलनामा न्यून हो ।