भारतमा डिजेलभन्दा सौर्य ऊर्जा सस्तो
माघ १२, मुम्बई (भारत) । भारतमा पहिलोपटक डिजेलबाट उत्पादित विद्युत्भन्दा सौर्य ऊर्जाबाट उत्पादित विद्युत् लागत सस्तिने भएको छ । ब्लूमबर्ग न्यू इनर्जी फाइनान्सका अनुसार, सन् २०१० को डिसेम्बरपछि सौर्य ऊर्जाको लागत खर्च २८ प्रतिशतले घटिसकेको छ । गतवर्ष सोलार प्यानेलको मूल्य ५१ प्रतिशतले ओर्लिएपछि सौर्य ऊर्जा सस्तिएको हो । चीनको सनटेक पावर होल्डिङ्गस कम्पनीलगायत विश्वका १० ठूला उत्पादकले तिनका उत्पादन क्षमतालाई दोब्बर बनाएपछि सौर्य प्यानेलको मूल्य घटेको हो । ‘चिनियाँ उत्पादनको सस्तो मूल्यका कारण भारतमा सोलार ऊर्जाको मूलप्रवाह बन्दै गइरहेको छ,’ किरण इनर्जी सोलार पावरका संस्थापक अर्देशिर क«ण्टक्टरले भने । तथ्याङ्कअनुसार इटली, स्पेन र हवाईमा जस्तै भारतमा पनि तेलको बढ्दो मूल्य र सोलार प्यानेलको घट्दो मूल्यका कारण सरकारी अनुदानविना पनि सौर्य ऊर्जा सुलभ हुुँदै गएको छ । भारतको सबैभन्दा ठूलो मोबाइल–फोन सञ्चालक भारती एयरटेल लिमिटेड र विश्वकै सबैभन्दा ठूलो आँपको रस उत्पादनकर्ता जैन इरिगेशन सिष्टम्सले तिनका डिजेल जेनेरेटरको ठाउँमा सोलार प्यानेल राख्ने भएका छन् ।
भारतका अन्य कारखाना र कार्यालयमा पनि डिजेल जेनेरेटरको साटो सार्यै ऊर्जा प्रयोग गरिनुपर्ने मासे र बेयर क्लिन इनर्जी लिमिटेडका प्रमुख कार्यकारी ललित जैनको जोड छ । उक्त कम्पनीअन्तर्गत भारत, इटली, बेलायत र जर्मनीमा गरी १ सय मेगावाटको सौर्य ऊर्जा केन्द्र सञ्चालनमा छन् । किरणले २०१३ सम्ममा प्रतियुनिट (किलोवाट– आवर)को औसत ८ रुपयाँ ७८ पैसामा सौर्य विद्युत् उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । राज्यबाट सहुलियतप्राप्त डिजेल प्रयोग गरी जेनेरेटरबाट उत्पादित विद्युत् को भने १७ रुपयाँ पर्ने ऊर्जा विश्लेषक चरणजित सिंहले बताए । भारतमा हाल सबैभन्दा सस्तो विद्युत्स्रोत कोइला हो, जसबाट ४ रुपयाँमा एक युनिट प्राप्त हुन्छ । चीन र अमेरिकापछि विश्वकै तेस्रो ठूलो ऊर्जा खपतकर्ता भारतले सन् २०२२ सम्ममा २० हजार मेगावाटबराबरको सौर्य ऊर्जा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।
एजेन्सी