शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 17, 2012
  

जोल्लिकपछि विश्व बैङ्कको नेतृत्वका लागि घम्साघम्सीको सङ्केत


फागुन ४, वाशिङटन डीसी (अमेरिका) । विश्व बैङ्कका प्रमुख रोबर्ट जोल्लिकको पदावधि सकिएपछि बैङ्कको नेतृत्वका लागि घम्साघम्सीको सङ्केत देखिएको छ । जुनमा आफ्नो पदावधि सकिएपछि फेरि विश्व बैङ्कको नेतृत्व पुनः नसम्हाल्ने घोषणा गरेका जोल्लिकको बहिर्गमनपछि अमेरिकीहरूको वर्चस्व रहँदै आएको बैङ्कको नेतृत्वमा विकासशील राष्ट्रहरूले पनि आफ्नो दाबी पेश गर्ने देखिएपछि यस्तो घम्साघम्सी हुने अनुमान गरिएको हो । जोल्लिकले बुधवार एक विज्ञप्ति जारी गर्दै आफ्नो पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गरेका थिए । विज्ञप्तिमा जोल्लिकले यो अवधिमा विश्वव्यापी वित्तीय सङ्कटको सामना गर्न आफ्नो नेतृत्वले प्रभावकारी कदम उठाएको जिकीर गरेका थिए । ‘विश्व बैङ्क झनै सुदृढ बनेको छ । नयाँ चुनौतीहरूको सामना गर्न सक्षम नेतृत्व विकास भइसकेकाले अब आउने प्रमुखलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,’ विज्ञप्तिमा भनिएको छ । तर, विश्लेषकहरूले भने विश्वव्यापी ऋणदाताका रूपमा रहेको विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)मा लामो समयदेखि अमेरिकी र यूरोपेली वर्चस्वप्रति विकासोन्मुख देशहरू असन्तुष्ट रहेको बताएका छन् । अमेरिका र यूरोपले दुवै संस्थाको नेतृत्व एक सम्झौताअन्तर्गत गर्दै आएका छन् । सन् १९४५ मा अमेरिका र यूरोपबीच भएको उक्त सम्झौतामा विश्व बैङ्कको नेतृत्व अमेरिकीहरूले गर्ने र आईएमएफका कार्यकारी निर्देशकहरू यूरोपेली नै हुने उल्लेख गरिएको छ । यसअन्तर्गत विश्व बैङ्कको स्थापनापछिका सबै ११ जना अध्यक्ष अमेरिकी नै छन् । त्यसैगरी, आईएमएफका अहिलेसम्मका सबै कार्यकारी निर्देशक पनि यूरोपबाटै छानिएका छन् । विश्लेषकहरूले भने चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका र रूसलगायतका विकासशील राष्ट्रहरूको उदय र विश्वव्यापी वित्तीय सङ्कटले सन् १९४५ को उक्त सम्झौता कमजोर भइरहेको उल्लेख गरेका छन् । गतवर्ष विकासशील राष्ट्रहरूले आईएमएफको नेतृत्व सधैं यूरोपेलीहरूले नै गरेको र अब आफ्नो पालो आउनुपर्ने दाबी गरेका थिए ।

तर, अमेरिकासहितका धनी र शक्तिशाली राष्ट्रहरूले फ्रान्सकी पूर्वअर्थमन्त्री क्रिष्टिन लागार्दलाई समर्थन गरेका थिए । विशेषगरी गतवर्ष डोमिनिक स्ट्राउस कहान प्रकरणपछि उनीहरूले यूरोपबाहेकको नयाँ ठाउँबाट नेतृत्व छनोट गर्न अभियानै चलाएका थिए । बुधवार मात्रै विश्वका प्रमुख ५ दर्जन विकास सङ्गठन तथा बौद्धिकहरूले संयुक्त रूपमै अब अमेरिकाले बैङ्कको नेतृत्वमा आफ्नो एकाधिकार त्यागेको घोषणा गर्नुपर्ने आह्वान गरेका थिए । ‘विश्व बैङ्क मुख्य रूपमा विकासशील तथा गरीब राष्ट्रमै केन्द्रित रहेकाले उसले गर्ने निर्णयको स्वाभाविक असर ती देशमा पर्छ । विकासशील तथा गरीब देशका समस्या नबुझ्नेले बैङ्कको नेतृत्व सम्हालेमा त्यसको अर्थ रहँदैन,’ उनीहरूले जारी गरेको एक खुला पत्रमा उल्लेख छ । ब्राजिलका अर्थमन्त्री गुइडो माण्टेगाले यस्तो आह्वानलाई समर्थन गर्दै विकासशील देशहरूसँग पनि नेतृत्वका लागि समान हैसियत रहेको धारणा व्यक्त गरे । केही विश्लेषकले भने विश्व बैङ्कको नेतृत्व वर्तमान अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिण्टनले पाउन सक्ने बताएका छन् । एएफपी\रासस