‘इटालीले ओलम्पिक्सको खर्च बेहोर्न सक्दैन’
फागुन ४, रोम (इटाली) । ऋणसङ्कटग्रस्त इटालीले सन् २०२० मा हुने ओलम्पिक्स प्रतियोगिताको दाबी छाडेको घोषणा गरेको छ । इटालीका प्रधानमन्त्री मारियो मोण्टीले यसबारे जानकारी दिँदै प्रतियोगिताको तयारीमा खर्च हुने साढे १२ अर्ब डलर जुटाउन नसक्ने बताएका हुन् । मोण्टीले मन्त्रिपरिषद्को निर्णयबाटै ओलम्पिकको दाबी छाडिएको बताए । ‘हामी आमइटालेली करदाताले तिरेको रकम गैरजिम्मेवार तरीकाले खर्च गर्ने पक्षमा छैनौं । आर्थिक सङ्कटको यो घडीमा ओलम्पिक्सभन्दा सङ्कट समाधानमै खर्च गर्नु बढी लाभदायक छ,’ मोण्टीले बताए । सो निर्णय मन्त्रिपरिष्बाट एकमतले पारित भएको र त्यसबारे गम्भीरतापूर्वक अध्ययन गरिएको उनले बताए । ‘इटालीसँग अहिले महइभ्वाकाङ्क्षी आर्थिक लक्ष्य हुनु जरुरी छ । सरकार आर्थिक मितव्ययिताका साथै वृद्धिदर बढाउनेतर्फ पनि केन्द्रित रहेको छ,’ उनले भने । एजेन्सी