१७ ठूला बैङ्कका रेटिङ कटौतीको सम्भावना
फागुन ६, ब्रसेल्स (बेल्जियम) । रेटिङ एजेन्सी मूडीजले १७ ओटा विश्वस्तरका र १ सय १४ ओटा यूरोपेली वित्तीय संस्थाको क्रेडिट रेटिङ कटौती हुन सक्ने चेतावनी दिएको छ । त्यसबाट यूरोजोनको सरकारी ऋणसङ्कटको असर विश्वव्यापी वित्तीय प्रणालीमा फैलिरहेको थप सङ्केत मिलेको छ । पूँजीबजारमा काम गरिरहेका वित्तीय संस्थाहरूले कमजोर लगानी, बढ्दो कर्जा अन्तर, बढ्दो नियमन बोझ र सञ्चालनमा झन् बढी अप्ठेरो सामना गरिरहेको मूडीजको मूल्याङ्कन छ । यूबीएस, क्रेडिट सुइसे र मोर्गन स्टान्लीजस्ता विश्वव्यापी बजार सञ्जाल भएका बैङ्कहरूको दीर्घकालीन क्रेडिट रेटिङलाई तीन स्थानले कटौती गर्न सक्ने बताइएको छ । त्यसैगरी बारक्लेज, बीएनपी परिबास, क्रेडिट एग्रीकोल, डायचे बैङ्क, एचएसबीसी होल्डिङ्स र गोल्डम्यान साक्सको क्रेडिट रेटिङलाई दुई स्थानले तल झार्न सकिने मूडीजको भनाइ छ । बैङ्क अफ अमेरिका र नोमुराको भने एक स्थानले क्रेडिट रेटिङ झर्न सक्ने सम्भावना छ । त्यसैगरी यूरोपका १६ देशका १ सय १४ वित्तीय संस्थाको पनि क्रेडिट रेटिङमा कटौती हुने सम्भावना छ । उता, ग्रीसको ऋणमोचनबारेमा भइरहेको ढिलाइले एशियाली शेयरबजारका साथै यूरो पनि खस्केका छन् । तर, मूडीजको घोषणाले भने बजारमा खासै प्रतिक्रिया नदेखिएको व्यवसायीहरूले बताए । एजेन्सी