भारतको सुन आयातमा कमी
फागुन ६, मुम्बई (भारत) । सन् २०११ को चौथो त्रैमासमा भारतको सुन आयात अघिल्लो वर्षको सोही अवधिमा भन्दा ४४ प्रतिशतले घटेको ‘द वल्र्ड गोल्ड काउन्सील’ ले बताएको छ । काउन्सिलले बिहीवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा त्यहाँ १ सय ५७ टन सुन आयात भएको थियो । तर, २०११ को वर्षभरिमा भएको सुनको आयात भने अघिल्लो वर्षको भन्दा १ दशमलव १ प्रतिशतले बढी रहेको प्रतिवेदनमा उल्लेख छ । खासगरी, वर्षको पूर्वाद्र्धमा उच्च परिमाणमा सुनको आयात भएको थियो । त्यसैगरी अन्तिम त्रैमासमा सुनको आयात घटे तापनि मूल्य भने हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
भारतले २०११ को वर्षमा कुल ९ सय ३३ मेट्रिक टन सुन आयात गरेको जानकारी प्रतिवेदनमा दिइएको छ । अघिल्लो वर्षमा भने ९ सय ५८ मेट्रिक टन आयात गरेर भारत विश्वकै सबैभन्दा ठूलो सुन आयातकर्ता रहेको थियो । २०११ को अन्तिम त्रैमासमा भारतमा सुनबाट निर्मित गरगहनाको मागमा ४४ प्रतिशतले कमी आएको थियो । त्यसैगरी उक्त अवधिको सुनमा गरिने लगानी पनि ३८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । उक्त त्रैमासमा सुनको मूल्य ५ दशमलव २ प्रतिशतले महँगिएपछि नोभेम्बरमा हालसम्मकै उच्च २९ हजार ५ सय १६ रुपया पुगेको थियो । सुन आयातमा भारतलाई उछिन्दै चीन सन् २०१२ मा चीनले सुन आयातमा भारतलाई उछित्रे अनुमान पनि काउन्सिलले गरेको छ । प्रतिवेदनमा यो वर्ष चीन विश्वमै सबैभन्दा ठूलो सुन बजार बत्रे बताइएको छ । प्रतिवेदनअनुसार सन् २०११ मा चीनले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी सुन किनेको छ । गतवर्ष चीनमा ७ सय ७० मेट्रिक टन सुन भित्रिएको बताइएको छ ।
सुनको माग उच्चतातर्फ बढिरहँदा यो वर्ष भने चीनले भारतलाई उछित्रसक्ने काउन्सिलले पूर्वानुमान गरेको हो । मागमा भएको उच्च वृद्धिले चीन सन् २०११ को दोस्रो अर्धवार्षिक अवधिमा विश्वकै सबैभन्दा ठूलो स्वर्ण आभूषण बजार बत्र पुगेको काउन्सिलले बताएको छ । विश्लेषकहरूले चिनियाँहरूको आम्दानी बढिरहेकाले सुनका आभूषण तथा सुनबाट बनेका अन्य विलासिताका वस्तुहरूको माग उच्च रहेको बताएका छन् । त्यसैगरी त्यहाँ औद्योगिक लगानीका अन्य क्षेत्रहरू त्यति धेरै नभएकाले पनि सुन लगानीकर्ताहरूका लागि आकर्षक विकल्प रहेको उनीहरूको भनाइ छ । साथै इलेक्ट्रोनिक्स सामग्रीको उत्पादनमा पनि प्रयोग हुने भएकाले सुनको प्रयोग व्यापक रहेको विश्लेषकहरू बताउँछन् । एजेन्सी