जीएमद्वारा अहिलेसम्मकै सबैभन्दा उच्च नाफा आर्जन
फागुन ६, मिसिगन (अमेरिका) । अमेरिकी अटो निर्माता जनरल मोटर्स (जीएम) सन् २०११ मा आफ्नो १ सय ३ वर्षको इतिहासकै सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । जीएमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गतवर्षको खुद मुनाफा ७ अर्ब ६० करोड अमेरिकी डलर रहेको बताइएको छ । जीएमले गरेको यो आर्जन सन् २०१० को तुलनामा ६२ प्रतिशतले बढी हो । प्रतिवेदनअनुसार गत वर्ष कम्पनीद्वारा उत्पादित सवारीसाधनको विक्री वृद्धिदर ७ दशमलव ६ प्रतिशत रहेको बताइएको छ ।
सन् २०११ भरि विश्वभर कुल ९० लाख गाडी विक्री भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी गतवर्षको कुल आम्दानी अघिल्लो वर्षभन्दा ११ प्रतिशत बढेर १ खर्ब ५० अर्ब पुगेको जानकारी प्रतिवेदनमा दिइएको छ । जीएमले यसअघि सन् १९९७ मा उच्च मुनाफा आर्जन गर्न सकेको थियो । स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी)को माग उच्च रहेको त्यो वर्षमा कम्पनीको कुल मुनाफा ६ अर्ब ७० करोड डलर रहेको थियो । सन् २००८ को वित्तीय सङ्कटको चपेटमा परेर टाट पल्टिएको जीएमलाई अमेरिकी सरकारले सन् २००९ मा ५० अर्ब डलरबराबरको वित्तीय उद्धार गरेको थियो । कम्पनीको २६ दशमलव ५ प्रतिशत शेयरमा अमेरिकी सरकारको स्वामित्व रहेको छ । उच्च विक्री गर्न सफल जीएम सन् २०११ मा विश्वको सबैभन्दा ठूलो अटो निर्माता पनि घोषित भएको छ । यसका साथै कम्पनीले विश्वभरिबाट छानिएका ४८ हजार योग्य कर्मचारीलाई प्रतिव्यक्ति ७ हजार डलर बोनस दिने घोषणा पनि गरेको छ ।
यूरोप र ल्याटिन अमेरिकामा भने घाटा जीएमको प्रतिवेदनमा गतवर्ष यूरोप र ल्याटिन अमेरिकामा भने घाटा बेहोरिएको बताइएको छ । कम्पनीका अनुसार सन् २०११ मा यूरोपमा ७० करोड डलर र ल्याटिन अमेरिकामा १० करोड डलर नोक्सान भएको छ । जीएमकै स्वामित्वमा रहेको यूरोपेली कम्पनी ओपललाई गतवर्ष ९० करोड डलरको घाटा हुँदा नोक्सानी भएको प्रतिवेदनमा दाबी गरिएको छ । एपी/रासस