भ्याटको स्थिरताले बेलायतमा मुद्रास्फीति घट्यो
फागुन ६, लण्डन (बेलायत) । बेलायत सरकारको तथ्याङ्क कार्यालय अफिस अफ दि नेशनल स्ट्याटिष्टिक (ओएनएस)ले सन् २०१२ को प्रारम्भिक महीनाहरूमा त्यहाँको मुद्रास्फीति घट्ने बताएको छ । ओएनएसका अनुसार जनवरीमा कञ्जुमर प्राइस इण्डेक्स (सीपीआई का आधारमा मुद्रास्फीति ३ दशमलव ६ प्रतिशतले घटेको छ । डिसेम्बरमा बेलायतको मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत रहेको थियो । उपभोक्ता मूल्यसूचक अर्थात् सीपीआईलाई मुद्रस्फीतिको मापकका रूपमा हेरिन्छ । ओएनएसले यो वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) को स्थिर दरले मुद्रास्फीति घटाउन भूमिका खेलेको बताएको छ । सन् २०११ मा बेलायतमा भ्याटको दर १७ दशमलव ५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएपछि त्यहाँको वार्षिक मुद्रास्फीति दर उच्च भएको थियो । ओएनएसले जनवरीको मुद्रास्फीति दर विगत १४ महीनायताकै न्यून भएको जानकारी दिएको छ ।
तर, यो बेलायतको केन्द्रीय बैङ्कले तोकेको लक्ष्यभन्दा बढी नै हो । बैङ्क अफ इङल्याण्डले बेलायतको मुद्रास्फीति २ प्रतिशतसम्म राख्ने लक्ष्य लिएको छ । यसका साथै जनवरीमा घरजग्गा ब्याज भुक्तानीसहितको बेलायती रिटेल प्राइस इण्डेक्स(आरपीआई को आधारमा मुद्रास्फीति अघिल्लो महीनाको तुलनामा ३ दशमलव ९ प्रतिशतमा ओर्लिएको पनि ओएनएसले उल्लेख गरेको छ । डिसेम्बरमा त्यहाँको आरपीआई मुद्रास्फीति दर ४ दशमलव ८ प्रतिशत रहेको थियो । ‘यो वर्ष भ्याटको दर स्थिर रहेकाले त्यसबाट मुद्रास्फीतिमा हुने दबाब घटेको हो,’ ओएनएसका फिल गोडिङले बताए । यसबाट बेलायतमा महँगी घटेको विश्लेषकहरूले बताएका छन् । मुद्रास्फीतिका साथै ओएनएसले जनवरी महीनामै तलबमानमा पनि १ दशमलव ९ प्रतिशतको वृद्धि देखिएको उल्लेख गरेको छ । ‘महँगी घटिरेहको राम्रो खबरले सबैलाई सन्तोषको सास फेर्न दिएको छ । आर्थिक मन्दीले कठिन अवस्थाको सामना गरिरहेकाहरूलाई यसले पक्कै राहत दिनेछ,’ मुद्रास्फीति घटेको समाचारको स्वागत गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भने । एजेन्सी