शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 20, 2012
  

आकाशकै रङमा रङ्गिँदै कोलकाता

भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले कोलकाता शहरका सबै १ करोड ४० लाख बासिन्दालाई आफ्ना घर आकाशे नीलो रङमा रङ्गाउन निर्देशन दिएकी छन् । सो निर्देशनका पछाडि बनर्जीले राज्य सरकारले आर्थिक विकासका लागि अघि सारेको नारा ‘ओनुप धिगोल मेग’ (आकाश नै सीमा हो कारण भएको तर्क गरेकी छन् । पूरै शहरकै रङ अनिवार्य रुपले परिवर्तन गराउन दिइएको उक्त निर्देशनअनुसार निजीदेखि सरकारी भवन, कोलकातामा गुड्ने भाडाका ट्याक्सी र ऐतिहासिक स्थानहरुसमेत परेका छन् ।

‘सरकारी भवनहरुका साथै निजी आवासको पनि रङ परिवर्तन गर्न सरकारले छिट्टै एक निर्देशिका जारी गर्छ, ’ पश्चिम बङ्गाल राज्यका शहरी पूर्वाधार विकास मन्त्री फिरहाद हकिमले जानकारी दिए । तर, बनर्जीको यो निर्देशको कोलकाता शहरमा विरोध पनि शुरु भएको छ । शहरका कतिपय बासिन्दाले निजी घरका रङ परिवर्तन गर्न सरकारले आर्थिक सहयोग नगर्ने भए आफ्नो रकम विनाकारण खर्च हुने गुनासो गरेका छन् । तर, कोलकाताका मेयर सोभन चटर्जीले भने आकाशे नीलो रङ मन लोभ्याउने र आँखालाई शीतलता दिने भएकाले शहरको रुप नै परिवर्तन हुने दाबी गरे ।

भारतमा कोलकाता मात्रै शहरको सबै रङ एकैप्रकारले रङ्गाउने पहिलो शहर भने होइन । यसअघि राजस्थानको प्रख्यात पर्यटकीय शहर जोधपुरलाई पनि नीलो रङले रङ्गाइएको थियो । यसै भएकाले जोधपुर ‘नीलो शहर’का नामले पनि प्रख्यात छ । त्यसैगरी राजस्थानकै अर्को शहरलाई ‘गुलाफी शहर’ उपनामले पनि चिन्ने गरिन्छ । त्यस्तै सन् २००६ मा पनि विहार राज्यको एक शहरकै रङ गुलाफी बनाइएको सुनिएको थियो ।