चीनमा बैङ्कको अनिवार्य सञ्चिति अनुपात कटौती

फागुन ७, साङ्घाई/बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाले बैङ्कहरूले अनिवार्य राख्नुपर्ने सञ्चिति रकममा कटौती गरेको छ । यसअनुसार ठूला बैङ्कहरूको अनिवार्य सञ्चिति अनुपातलाई ५० आधार बिन्दुले घटाएर २० दशमलव ५ प्रतिशतमा झारिएको छ । फलस्वरूप बैङ्कहरूले थप साढे ३ खर्बदेखि ४ खर्बसम्म कर्जाप्रवाह गर्न सक्नेछन् । गत नोभेम्बरमा पनि केन्द्रीय बैङ्कले त्यस्तो सञ्चिति अनुपातमा कटौती गरेको थियो ।चीनको अर्थतन्त्र लगातार पाँचौं त्रैमाससम्म पनि सुस्तिँदै गएकाले लगानी प्रवद्र्धनका लागि बैङ्कहरूको कर्जाप्रवाह बढाउने उद्देश्यले त्यस्तो कटौती गरिएको हो । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । बैङ्कहरूको अनिवार्य सञ्चिति रकम कटौतीको घोषणाले घरेलु शेयरबजारका लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ताहरूले लामो समयदेखि मौद्रिक नीतिमा खुकुलोपन चाहिरहेका छन् । आगामी दिनमा शेयरबजार उकालो लाग्ने शेङ्झेनस्थित यिङ्दा सेक्युरिटिजका अनुसन्धान प्रमुख लि दाजिआओको टिप्पणी छ । आगामी दिनमा पनि चीन व्यावहारिक मौद्रिक नीतिप्रति प्रतिबद्ध रहने सहायक गभर्नर जिन कीले बताइन् । मूल्यमा ऊध्र्वगामी र अर्थतन्त्रमा अधोगामी दबाब साथसाथै रहेको उनको टिप्पणी छ । आगामी दिनमा पनि बैङ्कहरूको कर्जाप्रवाह कमजोर र पूँजी आप्रवाह अस्थिर नै रहेमा केन्द्रीय बैङ्कले सञ्चिति रकममा फेरि कटौती गर्नुपर्ने विश्लेषकहरूले बताएका छन् । तर, केन्द्रीय बैङ्क महँगीबारे पनि सतर्क रहेकाले नीतिगत खुकुलोपना विस्तारै आउने उनीहरूको मूल्याङ्कन छ । चीनको आर्थिक वृद्धिदर पहिलो त्रैमासमा अघिल्लो त्रैमासको ८ दशमलव ९ प्रतिशतबाट ८ दशमलव २ प्रतिशतमा रहने एक सर्वेक्षणले देखाएको छ । श्रमबजारमा वार्षिक रूपले प्रवेश गर्ने नयाँ कामदारलाई रोजगारी दिन चीनको अर्थतन्त्र प्रत्येक वर्ष सरदर ८ प्रतिशतका दरले बढ्नुपर्ने अर्थशास्त्रीहरूको मूल्याङ्कन छ । चीनको अर्थतन्त्र सुस्तिनुले यूरोपेली ऋणसङ्कट र कमजोर अमेरिकी अर्थतन्त्रको सामना गरिरहेको विश्व अर्थतन्त्रमा थप भार पर्नेछ ।
चिनिया बैङ्कहरूको नाफा उच्च चिनियाँ बैङ्कहरूको कुल नाफा अघिल्लो वर्षभन्दा सन् २०११ मा १५ दशमलव ८ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । ‘द चाइना बैङ्किङ रेगुलेटोरी कमिशन’ले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको सो तथ्याङ्कअनुसार बैङ्कहरूको कुल नाफा गतवर्ष १ खर्ब ६५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ । तर, चिनियाँ बैङ्कहरूको मुनाफा वृद्धिदर भने सन् २०१० को भन्दा आधा मात्र रहेको छ । उक्त वर्ष त्यहाँको बैङ्किङ क्षेत्रको नाफा वृद्धिदर सन् २००९ को तुलनामा ३४ दशमलव ५ प्रतिशतले बढी थियो । त्यसका साथै कमिशनले निष्कृय अथवा खराब ऋणको अनुपात सन् २०११ मा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले तल ओर्लिएको पनि जानकारी दिएको छ । कमिशनले सार्वजनिक गरेका तथ्याङ्कमा विश्वमै सबैभन्दा उच्च नाफा आर्जन गरिरहेका ‘इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क अफ चाइना’ र ‘चाइना कमर्शियल बैङ्क’लगायतका सबै वाणिज्य बैङ्क परेका छन् । एजेन्सीहरू