स्पेनको अर्थतन्त्र सङ्कुचित मन्दीमा प्रवेशको आशङ्का

फागुन ७, म्याड्रिड (स्पेन) । ऋणसङ्कटग्रस्त स्पेनको अर्थतन्त्र विगत २ वर्षयता पहिलोपटक सङ्कुचित भएको छ । स्पेनको अर्थ मन्त्रालयका अनुसार सन् २०११ को चौथो त्रैमासमा कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) शून्य दशमलव ३ प्रतिशतले घटेको छ । सो अवधिमा त्यहाँको घरायसी खर्च अघिल्लो त्रैमासको तुलनामा १ दशमलव १ प्रतिशतले कम भएको बताइएको छ । त्यसैगरी सार्वजनिक खर्च पनि ३ दशमलव ६ प्रतिशतले खुम्चिएको अर्थ मन्त्रालयले बताएको छ । अघिल्ला त्रैमासहरूमा स्थिरता देखिए पनि सन् २०११ को अन्तिम त्रैमासमा वृद्धिदरमा सङ्कुचन आएपछि विश्लेषकहरूले स्पेन मन्दीतर्फ लम्किएको उल्लेख गरेका छन् । गतवर्षको चौथो त्रैमासमा त्यहाँ बेरोजगारहरूको सङ्ख्या ५३ लाख पुग्नु र अर्थतन्त्रका सबै सूचक नकारात्मक हुनुले यो वर्षको पहिलो त्रैमासमा वृद्धिदर झनै घट्ने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर घटेको तथ्याङ्क स्पेनका नवनियुक्त प्रधानमन्त्री मारियानो रहोयले गत महीना थप खर्च कटौतीका लागि गरेको घोषणाको प्रभाव देखिनुअगावै आएको छ । ‘यूरोजोनका केही देशले मन्दीलाई छल्न सके पनि स्पेनले भने त्यसो गर्न सक्ने देखित्र’, रोयल बैङ्क अफ स्कटल्याण्डका अर्थविद् निक म्याथ्युजले भने । त्यहाँ खट्किएको वित्तीय सुदृढीकरण तथा त्यसले आन्तरिक मागमा परिरहेको उच्च दबाब नघट्दासम्म स्पेन मन्दीमा जाने सम्भावना निकै रहेको उनले बताए ।
यूरोजोनका अन्य देशको अवस्था पनि उस्तै यूरोजोन ऋणसङ्कटका असरहरू उद्घाटित भइरहँदा सो क्षेत्रका अन्य राष्ट्रका अवस्था पनि उस्तै रहेको देखिन्छ । गत बुधवार सार्वजनिक तथ्याङ्कअनुसार इटाली र नेदरल्याण्डस् मन्दीमा प्रवेश गरिसकेका छन् । ती दुवै देशको आर्थिक वृद्धिदर गतवर्ष क्रमशः चौथो र दोस्रो त्रैमासमा लगातार शून्य दशमलव ७ प्रतिशतले घटेको थियो । त्यसैगरी यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको वृद्धिदर पनि सो अवधिमा शून्य दशमलव २ प्रतिशतले घटेको बताइएको छ । फ्रान्सको वृद्धिदर भने चौथौ त्रैमासमा अनपेक्षित रूपमा शून्य दशमलव २ प्रतिशतले बढेको छ । एजेन्सी