शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 20, 2012
  

ह्वाइटहाउसको पूर्वानुमान २० लाख रोजगारी थपिंदै

फागुन ७, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले यो वर्ष देशमा थप २० लाख रोजगारी सृजना हुने पूर्वानुमान गरेको छ । अमेरिकी राष्ट्रपतिलाई आर्थिक विषयमा परामर्श दिने ‘काउन्सिल अफ इकोनोमिक एडभाइजर्स’ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक सुधार तथा पुनरुत्थानले गति लिइरहेकाले रोजगारी वृद्धिदर बढ्ने उल्लेख छ । तर, आयको असमानता र यूरोपेली ऋणसङ्कटले अमेरिकी अर्थतन्त्र र रोजगारी वृद्धिमा समस्या आउन सक्नेतर्फ पनि प्रतिवेदनले सचेत गराएको छ । ‘आर्थिक मन्दीको प्रभाव कम गर्न र सुदृढ आर्थिक पुनरुत्थानका लागि उठाइएका कदमले सकारात्मक प्रभाव पारे पनि आर्थिक सङ्कट तथा त्यसका कारण पूर्णरूपमा निवारण भएका छैनन्,’ इकोनोमिक रिपोर्ट अफ द पे्रसिडेण्ट शीर्षकको सो प्रतिवेदनमा भनिएको छ ।

ओबामा प्रशासनका आर्थिक नीतिहरू झल्काउने ४ सय ४४ पृष्ठको सो प्रतिवेदनमा अमेरिकी अर्थतन्त्रलाई थप गति दिन पुनरुत्थान, पुनः सन्तुलन र पुनर्निर्माण (रिकभर, रिब्यालेन्स एण्ड रिबिल्ड ) जस्ता तीन प्रमुख योजना अघि सारिएको छन् । राष्ट्रपतिले गत महीना अमेरिकी कङ्ग्रेसमा दिएको स्टेट अफ द युनियन सम्बोधनलाई पछ्याउँदै सो प्रतिवेदनमा आयको समानताले मात्र सबै अमेरिकीले न्यायपूर्ण ढङ्गले आर्थिक वृद्धिको फाइदा लिनसक्ने उल्लेख छ । साथै अमेरिकी र विश्वकै सकारात्मक आर्थिक परिदृश्यका लागि यूरोजोन ऋणसङ्कटका उपाय यथाशीघ्र खोजिनुपर्नेमा पनि जोड दिइएको छ । त्यसैगरी राष्ट्रपतिका आर्थिक परामर्शदाताहरूले रोजगार तथा निर्यातको वृद्धिका लागि अमेरिकामा अहिले औद्योगिक उत्पादनको पुनरुत्थान (म्यानुफ्याक्चरिङ रिभाइभल) आवश्यक रहेकोतर्फ पनि सङ्केत गरेका छन् । प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक पे्रस विज्ञप्ति जारी गर्दै आफूले आगामी ५ वर्षमा निर्यात दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताए । एजेन्सी