जापानको मासिक व्यापारघाटा ३३ वर्षकै अत्यधिक
फागुन ८, टोकियो (जापान) । जनवरी महीनामा जापानले ३३ वर्षपछिकै उच्च मासिक व्यापारघाटा बेहोरेको छ । जापानी अर्थ मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उसको सन् २०१२ जनवरीको व्यापारघाटा १८ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । यो सन् १९७९ मा आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न शुरू भएयताकै उच्च भएको मन्त्रालयले बताएको छ । गतवर्षको प्राकृतिक तथा आणविक दुर्घटनाले इन्धन आयातमा ठूलो वृद्दी र लगातार बढिरहेको येनको भाउका कारण निर्यात असर परेपछि जापानको व्यापारघाटा चुलिएको हो । जनवरीमा जापानको कुल निर्यात ९ दशमलव ३ प्रतिशतले कम भएको बताइएको छ । उता, कुल आयात भने सो महीना ९ दशमलव ८ प्रतिशतले बढेको जानकारी अर्थ मन्त्रालयले दिएको छ । गत महीना जापानले गर्ने तरल प्राकृतिक ग्यास र कोइलाको खरीद क्रमशः ७४ दशमलव ३ प्रतिशत र २६ दशमलव ५ प्रतिशतले बढेको मन्त्रालयले बताएको छ ।
जनवरीमा जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनतर्फको निर्यातमा २० दशमलव १ प्रतिशतले कमी आएर व्यापारघाटा ७ अर्ब ४ करोड डलर पुगेको देखिएको छ । चीनको आर्थिक वृद्धिदर घटिरहेकाले त्यहाँ मागमा कमी आएपछि निर्यात घटेको बताइएको छ । जनवरीको कुल व्यापरघाटामध्ये चीनसँगको असन्तुलन ४० प्रतिशत हो । त्यसैगरी यूरोपियन युनियनसँगको व्यापारघाटा गत महीना ९८ दशमलव ९ प्रतिशतले बढ्दै ९० लाख डलर रहेको छ । सो महीना यूरोपतर्फको कुल निर्यात ७ दशमलव ७ प्रतिशतले घटेको मन्त्रालयले उल्लेख गरेको छ । यूरोजोन ऋणसङ्कटले यूरोपमा हुने माग घटेपछि निर्यात प्रभावित बनेको अर्थ मन्त्रालयको भनाइ छ । ‘व्यापारघाटाको क्रम सन् २०१३ को प्रारम्भिक महीनासम्म जारी रहने देखिन्छ,’ बार्कलेज क्यापिटलका अर्थविद् युइचिरो नागईले बताए । अमेरिका र यूरोपमा छाएको मन्दी नहट्दासम्म निर्यात कमजोर भई नै रहने नागईले उल्लेख गरे । एएफपी/रासस