मर्केल र सार्कोजीद्वारा 'यूरोजोन आर्थिक सरकार’ प्रस्ताव
साउन ३२, पेरिस (फ्रान्स) । फ्रान्सका राष्ट्रपति निकोलास सार्काजी र जर्मन चान्सलर एञ्जेला मर्केलबीच मङ्गलवार भएको भेटवार्तामा यूरोजोन आर्थिक सरकारको प्रस्ताव गरिएको छ । यूरोजोनको ऋणसङ्कट र अर्थतन्त्रमा देखिएको गतिहीनताजस्ता समस्या समाधान गर्न पेरिसमा भएको शिखर वार्ताका क्रममा सार्काेजीले उक्त प्रस्ताव गरेका हुन् । उनको प्रस्तावमा यूरोजोनमा 'नयाँ आर्थिक सरकार'का प्रमुखमा यूरोपियन युनियनका अध्यक्ष प्रमुख रहने उल्लेख छ । प्रस्तावमा यूरोजोनका सबै राष्ट्रप्रमुखहरू 'नयाँ आर्थिक सरकार'मा रहने बताइएको छ । यूरोजोनको ऋणसङ्कट र अमेरिकाको क्रेडिट रेटिङ झर्नुले यूरो, डलर र शेयरमूल्य विगत केही हप्तादेखि निरन्तर ओरालो लाग्न थालेपछि यूरोपका दुई प्रमुख अर्थतन्त्रका प्रमुखहरूबीच शिखरवार्ता भएको हो ।
वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मर्केल र साराकोजीले सबै यूरोजोन राष्ट्रहरूलाई बजेट सन्तुलनका लागि आफ्ना देशका संविधानमा संशोधनको प्रक्रिया थाल्न पनि आह्वान गरेका छन् । दुई नेताले सन् २०१२ को गृष्मयामसम्म उक्त प्रक्रिया पूरा गर्न आफूहरूले चाहेको उल्लेख गरे । उनीहरूले यूरोजोनमा प्रस्ताव गरिएको साझा ऋणपत्र 'यूरोबण्ड'का लागि भने अहिलेको समय उपयुक्त नभएको बताएका छन् । सार्काेजीले साझा ऋणपत्रबारे आफूहरूको समान धारणा रहेको बताउँदै यूरोपेली आर्थिक एकीकरणको प्रक्रियाको अन्त्यमा मात्र सोबारे सोच्न सकिने बताए । पत्रकार सम्मेलनमा मर्केल र सार्काेजीले ४ सय ४० अर्ब यूरो रहेको 'यूरो उद्धार कोष'को आकार वृद्धि गर्न आवश्यक नभएको उल्लेख गरे । सो क्रममा सार्काजीले यूरोपभरिको वित्तीय कारोबारका लागि नयाँ कर प्रस्ताव गरेका छन् । यस्तो करले यूरो मुद्राको सुदृढीकरण गर्न यूरोपेली राष्ट्रहरूको सक्रियता प्रदर्शित हुने उनको धारणा थियो । सार्काेजीले त्यसको शुरुआतका लागि सन् २०१३ सम्ममा फ्रान्स-जर्मन कर्पोरेट कर स्थापना गरिसक्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै जर्मन चान्सलर मर्केलले यूरो मुद्रा जोगाउन यूरोजोनका सबै सदस्यका वित्तीय र आर्थिक नीतिहरूबीच सुदृढ समन्वय हुनुपर्ने उल्लेख गरिन् । उनले ऋणसङ्कट आउनुमा यूरोजोनका कतिपय सदस्यको वर्षौंको गतविधि कारण रहेको र केही दिनमै यस्तो समस्या समाधान गर्न नसकिने बताइन् । 'नयाँ आर्थिक सुशासन'मा जोड दिँदै मर्केलले हराएको आत्मविश्वास पुन:स्थापित गर्न आफूहरू लागिपरेको उल्लेख गरिन् । मर्केल(सार्काेजी शिखर वार्तामा गरिएका प्रस्ताव बुधवार नै यूरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पुलाई पठाइएको छ । सार्काेजी र मर्केलद्वारा हस्ताक्षरित पत्रमा वार्ताका क्रममा उठेका विषय उल्लेख गरिएको छ । त्यसैगरी बजेटघाटा कम गर्ने यूरोपियन युनियनको प्रस्तावमा बाधक हुने ईयू संरचनागत कोष स्थगति गर्न पनि आग्रह गरिएको छ । एपी/रासस
भारतका प्रमद्वारा अन्नाको आलोचना
साउन ३२, नयाँ दिल्ली (भारत) । भारतका प्रधानमन्त्री मनमोहन सिंहले भ्रष्टाचारविरूद्ध भोकहडताल गरिरहेका अभियन्ता अन्ना हजारेले लोकतन्त्रमा नै गतिरोध उत्पन्न गराएको आरोप लगाएका छन् । अन्नाको उद्देश्य आदर्श नै भए तापनि संसद्समक्ष शर्त राख्नु उचित नभएको सिंहको तर्क छ । यसैबीच अन्नालाई राखिएको जेलबाहिर उनका हजारौं समर्थकले प्रदर्शन गरिरहेका छन् । हजारेको भोकहडताल योजना सार्वजनिक भएपछि प्रहरीले उनलाई हडताल गर्नबाट रोक्न पक्राउ गरेको थियो । हजारेलाई पक्राउ गरेको विरोधमा भारतभरि नै प्रदर्शन भएका छन् ।भारतको सरकारी संयन्त्रमा रहेको घूसखोरी र कृपावादबाट वाक्क भएका भारतीय जनतालाई हजारेको भ्रष्टाचारविरोधी अभियानले आकर्षित गरेको छ । सरकारी संयन्त्रमा रहेको भ्रष्टाचारले धनी र गरीबबीचको बढ्दो खाडल सम्बोधन हुन नसकिरहेको विशेषज्ञहरूले बताएका छन् ।देशभरि नै 'भ्रष्टाचारविरूद्ध क्रान्ति’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । ७३ वर्षीय हजारेले भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीकै भोकहडताल शैलीमा भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । सार्वजनिक स्थलमा भोकहडताल नगर्ने शर्तमा सरकारले उनलाई रिहा गर्ने प्रस्ताव राखे पनि अन्नाले त्यसलाई अस्वीकार गरेका छन् । एपी/रासस
फ्रान्स-जर्मन वार्ताले शेयरबजारमा उत्साह ल्याउन सकेन
साउन ३२, मिलान (इटाली) । मङ्गलवार पेरिसमा भएको फ्रान्स-जर्मन शिखर वार्ताले विश्वका शेयरबजारहरूमा उत्साह जागृत गर्न सकेन । वार्तामा यूरोजोनको 'नयाँ आर्थिक सरकार'बारे प्रस्ताव गरिए पनि धराशयी भइरहेका अर्थतन्त्रहरूलाई जोगाउन कुनै निर्णायक कदम नआएपछि लगानीकर्ताहरू निराश भएका हुन् । विश्लेषहरूले मङ्गलबार आएको जर्मनीको दोस्रो त्रैमासिक प्रतिवेदन पनि शेयरबजारहरूमा सुस्ती छाउनुको एक अर्को कारण रहेको बताएका छन् । मङ्गलवारको कारोबारमा जर्मनीको प्रमुख शेयर सूचकाङ्क डीएएक्स १ प्रतिशतले कम भएर ५ हजार ९ सय ३१ अङ्क पुगेको थियो । त्यसैगरी, लण्डनको एफटीर्एसइ- १०० शून्य दशमलव ७२ अङ्कले घटेको थियो । फ्रान्सको सीएसी-४० मा भने नगन्य वृद्धि देखिएको थियो । सीएसी-४० शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको थियो ।
एशियामा पनि यही क्रम देखिएको थियो । जापानको निक्केइ-२२५ इण्डेक्स शून्य दशमलव ६ प्रतिशतले घटेर ९ हजार ५७ अङ्कमा बन्द भएको थियो । त्यहाँ केही समययता वृद्धि भइरहेको जापानी येनका कारण निर्यात क्षेत्र प्रभावित भएपछि शेयर सूचकाङ्क घटेको बताइएको छ । चीनका शेयर सूचकाङ्हरूमा सरकारले मौद्रिक नीतिहरूमा कडाइ गर्ने समाचारले प्रभावित गरेको देखियो । साङ्र्घाई कम्पोजिट इण्डेक्समा शून्य दशमलव ३ प्रतिशतले कमी आई २ हजार ६ सय १ अङ्कमा बन्द भएको थियो । त्यस्तै सेञ्जेन कम्पोजिट इण्डेक्स शून्य दशमलव ३ प्रतिशतले घटेको थियो । हङकङको ह्याङशेङ भने शून्य दशमलव ४ प्रतिशतले बढ्दै २० हजार २ सय ८९ अङ्कमा बन्द भयो । त्यसैगरी दक्षिण कोरियाको सोल कोस्पी पनि शून्य दशमलव ७ प्रतिशतले बढेर १ हजार ८ सय ९२ अङ्कमा बन्द भयो ।
बुधवारको शुरुआती कारोबारमा भने अमेरिकी शेयर सूचकाङ्कमा वृद्धि देखिएको छ । डाउ जोन्स इण्डेक्स शून्य दशमलव ८४ प्रतिशतले बढेको थियो । त्यस्तै, एस एण्ड पी-५०० मा १ दशमलव १३ प्रतिशतले वद्धि भएको थियो । गत हप्ता विगत १ वर्षपछि सबैभन्दा कम बिन्दुमा झरेको एस एण्ड पी-५०० मा बुधवार केही बढेको थियो । त्यसैगरी नाष्डाक कम्पोजिट शून्य दशमलव ९२ प्रतिशतले बढेको थियो । एजेन्सी
३६ करोड डलर तालिवानको हातमा पुग्यो
साउन ३२, वाशिङटन (अमेरिका) । अमेरिकी सेनाले तालिवान र अन्य समूहको हातमा ३६ करोड डलर पुगेको हुन सक्ने बताएको छ । सेनाले सन् २००१ यता अफगानिस्तानमा सञ्चालन गरिएका सैन्य कारबाही र निर्माण ठेक्काका कागजपत्रहरूको अध्ययनपश्चात् तालिवान र अन्य आपराधिक समूहहरूले यो परिमाणको रकम हात पारेको हुन सक्ने उल्लेख गरिएको छ ।
विगत एक दशकदेखि जारी युद्धमा रकम दुरुपयोगको शृङ्खला लम्बिँदै जाँदा ती तत्त्वको हातमा रकम गएको सेनाले बताएको छ । समाचार संस्था एपीले प्राप्त गरेको एक गोप्य दस्तावेजमा अफगानिस्तानमा रहेको व्यापक भ्रष्टाचार र शासन व्यवस्थाको कमजोरीको रकम दुरुपयोग मुख्य कारण भएको उल्लेख छ । गतवर्षअमेरिकी सेनाका अफगानिस्तान कमाण्डर जनरल डेभिड पेट्रियासले गर्न लगाएको उक्त अध्ययनले अफगानिस्तानमा सम्पत्ति शुद्धीकरणको ठूलो जालो रहेको पनि बताइएको छ । त्यहाँ अमेरिकी सेनाका लागि काम गर्ने कम्पनीहरू तालिवानलगायत अन्य आपराधिक समूहसँग आबद्ध रहेका कारण रकम विनियोजित क्षेत्रमा पुग्न नसकेको दस्तावेजमा उल्लेख गरिएको छ ।टास्क फोस २०१० नाम दिइएको टोलीले गरेको अध्ययनले उक्त रकम अफगानिस्तानमा खर्च गरिने ३१ अर्ब डलरको सानो अंश मात्रै भए पनि समस्याको गम्भीरता उजागर हुँदै गएको देखाएको छ । एजेन्सी
दोस्रो त्रैमासमा जर्मनीको जीडीपी घटयो
साउन ३२, बर्लिन (जर्मनी) । यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०११ को दोस्रो त्रैमासिक अवधिमा घटेको छ । जर्मनीको तथ्याङ्क कार्यालयले मङ्गलवार सार्वजनिक गरेको प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादनको वृद्धि शून्य दशमलव १ प्रतिशत मात्र रहेको उल्लेख छ ।प्रतिवेदनमा जर्मनीको व्यापार सन्तुलन ऋणात्मक हुनु, उपभोक्ताहरूको क्रयशक्ति घट्नु र निर्माणजन्य लगानीमा कमी आउनुजस्ता कारणले कुल गार्हस्थ्य उत्पादनमा दबाब सृजना गरिरहेकाले कमी आएको बताइएको छ । गत हप्ता मात्र फ्रान्सले आफ्नो दोस्रो त्रैमासिक आम्दानी घटेको बताएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि आर्थिक विश्लेषकहरूले जर्मनी र फ्रान्सजस्ता अर्थतन्त्रको आम्दानी घट्नाले दोस्रो त्रैमासमा यूरोजोनकै आर्थिक वृद्धि शून्य दशमलव २ प्रतिशत मात्र रहने बताएका छन् । जर्मनीका आर्थिक विश्लेषक जोर्ग लुएस्चोले वृद्धिदर घट्नुलाई गम्भीर निराशा भएको र यसबाट विश्वव्यापी आर्थिक सङ्कटबाट जर्मनीमात्र अछुतो रहन नसक्ने देखिएको प्रतिक्रिया दिएका छन् । अहिलेको स्थितिमा मुलुकको अर्थतन्त्रमा गतिहीनताबाहेक अरू केही अपेक्षा गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो ।
वित्तीय संस्था 'आईएनजी'का अर्थशास्त्री क्रासर्टेन ब्रिजेस्कीले राजनीतिज्ञहरू प्रस्तावित साझा ऋणपत्र 'यूरोबण्ड'बारे वादविवाद गरिरहँदा अर्थतन्त्रको वृद्धिमा देखिएको नकारात्मक असरप्रति भने गम्भीर नभएको आरोप लगाएका छन् । जर्मनीको आर्थिक वृद्धि सन् २००९ पछि पहिलोपटक
घटेको हो । एपी/रासस
युआनमा लगानी विस्तार
साउन ३२, हङकङ (चीन) । चीनले युआनको विस्तारित अन्तरराष्ट्रिय भूमिकाका लागि बाटो खोलेको छ । त्यसअन्तर्गत, विदेशी लगानीकर्ताले मुख्यभूमि चीनका शेयर र बण्ड खरीद गर्न सक्नेछन् । चीनका उपप्रधानमन्त्री लि केक्विआङले सार्वजनिक गरेको योजनामा युआनलाई भविष्यमा प्रचलित मुद्राका रूपमा विस्तार गरिने लक्ष्य राखिएको छ । जसअनुसार बुधवार चीनले हङकङमा मुख्य भूमिबाहिरको हालसम्मकै ठूलो युआनमा आधारित बण्डको स्थापना गरेको छ । चीनबाहिर युआनको बजार फैलाउन उक्त बण्डले प्रमुख भूमिका खेल्ने लिले बताए । लिका अनुसार युआन सञ्चिति राखेका विदेशी नागरिकले मुख्य भूमिमा ३ अर्ब १० करोड डलरसम्मको युआन अङ्कित शेयर तथा बण्ड खरीद गर्न सक्नेछन् । चीन र हङकङबीच युआनको प्रवाहलाई अझ विस्तार गरेर चीनले पूँजीमाथिको नियन्त्रणलाई क्रमिक रूपले खुकुलो पार्दै जान खोजेको विश्लेषकले बताएका छन् । एजेन्सी
पोर्चुगलले फेरि ऋण उठायो
साउन ३२, लिस्बन (पोर्चुगल) । यूरोजोनको सार्वजनिक ऋणसङ्कट गहिरिँदै गइरहेको बेला पोर्चुगलले ७८ अर्ब यूरो (१ अर्ब ६७ करोड डलर) ऋण उठाएको छ । यस वर्षको शुरूतिरै पोर्चुगललाई ऋणमोचन कार्यक्रमअन्तर्गत ७८ अर्ब यूरो आवश्यक परेको थियो । सरकारी ऋण निकायले ९८ करोड ५० लाख यूरोको तीनमहीने ऋणपत्र ४ दशमलव ८५४ प्रतिशतका दरले बेचेको बताएको छ । त्यसैगरी, उसले १७ करोड २० लाख यूरोको ६ महीने ऋणपत्र ४ दशमलव ९८९ प्रतिशतका दरले विक्री गरेको छ । अल्पकालीन ऋणपत्रको माग प्रस्तावितभन्दा १ दशमलव ८ प्रतिशतले बढी थियो भने दीर्घकालीन ऋणपत्रको माग ७ दशमलव २ प्रतिशतले बढी थियो । एपी/रासस
'फिच’द्वारा अमेरिकाको क्रेडिट रेटिङ कायमै
साउन ३२, न्यूयोर्क (अमेरिका) । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी 'फिच'ले मङ्गलवार संयुक्त राज्य अमेरिकाको क्रेडिट रेटिङ 'ट्रिपल ए' नै कायम रहेको बताएको छ । 'फिच'ले विश्वकै सबैभन्दा ठूलो क्रेडिट रेटिङ एजेन्सी 'स्ट्याण्डर्ड एण्ड पुअर्स'ले सन् २०११ अगष्ट ५ मा अमेरिकाको रेटिङ 'डबल ए प्लस'मा झारेको कार्यप्रति गम्भीर असहमति जाहेर गर्दै ऋण अनुपात धेरै भए पनि अहिले नै रेटिङ कम गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरेको छ । तर, 'फिच'ले यो वर्षको अन्त्यमा गरिने पुनरवलोकनमा भने परिस्थिति परिवर्तन हुन सक्ने बताएको छ । एजेन्सीले खर्च कटौतीबाट २ दशमलव १ ट्रिलियन डलर जम्मा नगरिए अमेरिकाको रेटिङ घट्न सक्ने चेतावनी पनि दिएको छ । 'फिच'का डेभिड राइलीले आगामी १० वर्षसम्म ऋण अनुपात बढ्न नदिन थप २ ट्रिलियन डलरको आवश्यकता भएको बताएका छन् । विश्लेषकहरूले 'फिच'को पछिल्लो निर्णयबाट अप्ठयारोमा परेको ओबामा प्रशासनलाई केही सहज अवस्था बनेको बताएका छन् । एजेन्सी
दक्षिण कोरियामा एप्पलविरुद्ध मुद्दा
साउन ३२, सोल (दक्षिण कोरिया) । अमेरिकी कम्पनी एप्पल इन्कविरुद्ध दक्षिण कोरियामा प्रयोगकर्ताहरूको गोपनीयता भङ्ग गरेको आरोपमा मुद्दा दायर गरिएको छ । २५ हजार दक्षिण कोरियालीको एक समूहले एप्पलले 'आइफोन युजर लोकेशन'को प्रयोगबाट उनीहरूका गोप्य जानकारी हासिल गरी गोपनीयता भङ्ग गरेको आरोप लगाएका छन् । एप्पलले उक्त कार्य गरेबापत आफूहरूलाई २ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।
मुद्दाका प्रत्येक बादीहरूलाई १० लाख वन ( ९ सय ३२ अमेरिकी डलर) दिइनुपर्ने माग गरिएको छ । बादीहरूका तर्फबाट मुद्दा दायर गर्ने अधिवक्ता किम ह्योङ-सोकले बुधवार एप्पलले प्रयोगकर्ताहरूको गोपनीयताको उल्लघङ्न गरिरहेको आरोप लगाए । उनले एप्पल इन्क र त्यसको दक्षिण कोरियाली शाखालाई प्रयोगकर्ताहरूको गोपनीयताको अधिकारको सम्मान गर्न पनि आग्रह गरे । तर, एप्पल इन्कका दक्षिण कोरिया प्रवक्ता स्टिभ पार्कले भने उक्त, विषयमा बोल्न अस्वीकार गरे ।यसअघि पनि किम ह्योङ-सोकले एप्पलविरुद्ध यस्तै मुद्दा दायर गरेका थिए । सन् २०११ को शुरूतिर दायर उक्त मुद्दाको फैसलामा अदालतले एप्पलले १० लाख वन ( ९ सय ३२ अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो । एपी/रासस
अमेरिकी चुरोट कम्पनीद्वारा सरकारलाई मुद्दा
साउन ३२, कोलम्बिया (अमेरिका) । अमेरिकाका पाँचमध्ये चार ठूला चुरोट कम्पनीले सरकारद्वारा लागू गरिएको नयाँ प्रावधानविरूद्ध मुद्दा हालेका छन् । नयाँ प्रावधानअन्तर्गत धूमपानले मृत्यु भएको व्यक्तिको चित्र र उसको रोगग्रस्त फोक्सो चुरोटको खोलमा राख्नुपर्ने भनिएको छ । तर, प्रावधानले आफूहरूको वाक स्वतन्त्रता हनन हुनुका साथै त्यस्ता चित्र छाप्न लाखौं डलर थप खर्च हुने कम्पनीहरूले गुनासो गरेका छन् ।त्यस्तो चित्र राख्नाले बट्टामा आफ्नो ब्राण्डभन्दा पनि सरकारी सन्देश बढी प्रभावकारी हुने ती चुरोट कम्पनीहरूको भनाइ छ । कानूनी रूपमा वैध उत्पादन गरेपछि त्यसको प्याकेजिङ र विज्ञापनमा सरकारको भावनात्मक सन्देश छापिनु उपयुक्त नरहेको ती कम्पनीका तर्फबाट दर्ता गरिएको मुद्दामा भनिएको छ ।अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले जारी मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । एफडीएले चुरोटको खोलमा छापिनका लागि नौओटा नयाँ चेतावनी स्वीकृत गरेको छ । त्यस्ता चेतावनी बट्टाको माथिल्लो अर्धभाग, अग्रभाग र पछिल्लो भागमा समेत छाप्नुपर्नेछ । एपी/रासस
Admin 2011-08-18