शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

एयर एशियाले डेलिभरी अवधि बढायो

माघ २९, क्वालालम्पुर (मलेसिया) । मलेसियाको एयर एशियाले १० ओटा विमान डेलिभरी अवधिलाई ३ वर्ष लम्ब्याउँदै २०१५ मा पुर्‍याएको छ । एयर एशियाले २००५ मा १७५ ओटा एयरबस ए३२० को अर्डर दिन सहमत भएको थियो । २००५ को डिसेम्बरदेखि २०१४ को अक्टोबरसम्म ती विमानको डेलिभरी गरिनुपर्ने थियो । तर, मलेसियाको सुलभ भाडादरका विमान उड्ने बजेट टर्मिनलको क्षमताका कारण ती विमानको डेलिभरी धेरैपटक स्थगित गरिसकिएको छ । अझ कम इन्धन खपत गर्ने उच्च गुणस्तरको विमान ल्याउने उद्देश्यले नयाँ निर्णय गरिएको उक्त विमान कम्पनीले बताएको छ ।
'अहिलेको डेलिभरीलाई लम्ब्याउनुको व्यावसायिक कारण छ । हामी पुरानो पुस्ताको ए३२० को साटो नयाँ पुस्ताको ए३२० ल्याउन चाहन्छौं । निकट भविष्यमै तयार हुनलागेका नयाँ पुस्ताका विमानहरूले अझ कम इन्धन खपत गर्छन्,’ एयर एशियाले भनेको छ । तर, अवधि लम्ब्याए पनि २०१२ मा १४ ओटा विमानको डेलिभरी भने लिने उक्त कम्पनीको योजना छ । त्यसबाट उसको फिलिपिन्स र भियतनाममा गरिने संयुक्त लगानीलाई टेवा पुग्ने एयर एशियाले अपेक्षा गरेको छ । एएफपी/रासस

भारतमा निर्यात बढ्यो, प्याजको प्रतिबन्ध फुकुवा


माघ २९, नयाँ दिल्ली(भारत) । भारतको निर्यात जनवरीमा गतवर्षको भन्दा ३२ दशमलव ५० प्रतिशतले बढेर २० अर्ब ६० करोड डलर पुगेको छ । पश्चिमा देशहरूबाट मागमा आएको वृद्धिका कारण निर्यात बढेको त्यहाँको वाणिज्य सचिवले शनिवार बताएका छन् । भारतले अप्रिलदेखि जनवरीसम्ममा निर्यातबाट १ खर्ब ८४ अर्ब ६० करोड डलर आम्दानी गरेको छ । भारतबाट निर्यात हुने बहुमूल्य रत्न, गरगहना, इञ्जिनीयरिङ, र पेट्रोलियम उत्पादनको माग अत्याधिक बढेको छ । 'निर्यातले ठूलो फड्को मारेको छ,’ वाणिज्य सचिव राहुल खुल्लरले भने । साथै खुल्लरले फेब्रुअरीसम्ममा २ खर्बभन्दा बढीको निर्यात हुने सम्भावना व्यक्त गरेका छन् । त्यसैगरी अप्रिलदेखि जनवरीसम्म २ खर्ब ७३ करोड ६० लाख डलरबराबरको आयात भएको छ । सो अवधिमा ८९ अर्ब डलरको व्यापार घाटा भएको छ । साथै प्याजको भाउमा कमी आएपछि प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । एपी/रासस

नोकिया र माइक्रोसफ्टबीच सहकाय

माघ २९, लण्डन/सियाटल । नोकियाले माइक्रोसफ्टसँग दीर्घकालीन साझेदारी गर्ने भएको छ । उसले आफ्नो मोबाइल फोनको अपरेटिङ सिष्टममा विण्डोज फोन ७ लाई आधार बनाउनेछ । त्यसको बदलामा माइक्रोसफ्टले नोकियाको सेवाहरूलाई आफ्नो बिङ्ग र एडसेण्टरजस्ता सेवाहरूमा संलग्न गर्ने छ । त्यसैगरी माइक्रोसफ्टले नोकियालाई डेभलोपर टुल दिनुका साथै नोकियाको सेवालाई माइक्रोसफ्ट मार्केटप्लेसमा पनि आबद्ध गर्नेछ । सिम्बियन र मिगोजस्ता रहेका नोकियाले सपोर्ट गर्ने हाल प्रचलनमा रहेका अपरेटिङ सिष्टमलाई क्रमशः विस्थापन गरिनेछ । गूगल र एप्पलसँग प्रतिस्पर्धा गर्न नोकियाले माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको हो । नोकियाको त्यस्तो निर्णयपछि उसको शेयर १४ प्रतिशतले तल ओर्लेको छ । माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गरेपछि नोकियाको नाफा घट्ने डरले उसको शेयरमूल्य घटेको हो । नोकियो विश्वकै सर्वाधिक विक्री हुने मोबाइल ब्राण्ड हो । रोयटर्स

Admin 2011-02-13