शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विकासशील देशहरूमा वित्तीय सङ्कट अवश्यम्भावी

वैशाख ३१, साङ्र्घाई (चीन) । आगामी ५ देखि १० वर्षसम्ममा विकासशील देशहरूमा  वित्तीय सङ्कट देखा पर्ने तर चीनले भने उक्त सङ्कटलाई छल्ने त्यहाँको केन्द्रीय बैङ्कका एक सल्लाहकारले बताएका छन् । ब्राजिल र भारतजस्ता उदीयमान अर्थतन्त्रहरूले वित्तीय र चालू खातामा घाटाको सङ्कट बेहोर्नुपर्ने निश्चित रहेको ली दाओकुइको विचार छ । साथै, त्यस अवधिमा वित्तीय सुदृढीकरणका लागि चीनले अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने लीको धारणा छ । तर, चीनको अवस्था अन्य विकासशील र विकसित अर्थतन्त्रभन्दा भिन्न रहेकाले त्यस्तो सङ्कट बेहोर्नु नपर्ने लीले दाबी गरेका छन् ।

लीका अनुसार, अमेरिकी डलर, यूरो र येनले अधोगतिजन्य मध्यकालीन र दीर्घकालीन दबाबको सामना गर्नुपर्नेछ । फेब्रुअरीमा भारतले आफ्नो व्यापारघाटाप्रति गम्भीर चिन्ता प्रकट गरेको थियो । भारतको व्यापारघाटा आगामी ३ वर्षभित्रै दोब्बरभन्दा बढेर २ खर्ब ७८ अर्ब ५० करोड पुग्नेछ । त्यसबाट भारतले चालू खाताको घाटा बेहोर्नुपर्ने निश्चित छ ।ब्राजिलको चालू खाता घाटा पनि मार्चमा हालसम्मकै उच्च हुन पुगेको छ । ब्राजिलस्थित विदेशी कम्पनीहरूले आफ्नो देशतर्फ पठाएका नाफा बढेको र ब्राजिलियनहरूले भने विदेश यात्रा र मालसामान खरीदमा बढी खर्च गरेकाले त्यस्तो अवस्था आएको हो  ।  ब्राजील, चीन र भारतको वित्तीय सन्तुलन पूर्वानुमान गरेभन्दा कमजोर रहेको अन्तरराष्ट्रिय मुद्रा कोषले जनवरीमा चेतावनी दिएको थियो । खासगरी ब्राजिलको आर्थिक खातामा विशेष समस्या देखिएको कोषले बताएको थियो । एजेन्सी

अलीबाबाविरुद्ध याहूको मुद्दा

वैशाख ३१, हङकङ । चिनियाँ ई-कमर्शको ठूलो कम्पनी अलीबाबाले अमेरिकास्थित याहूले अलीबाबाको अनलाइन पेमेण्ट युनिट हस्तान्तरण गर्नु अवैध भएको भनी लगाएको आरोपको शनिवार खण्डन गरेको छ ।अमेरिकाको क्यालिफोर्नियास्थित इण्टरनेट सेवाप्रदायक कम्पनी याहूले गत मङ्गलवार अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशनमा अलीबाबाविरुद्ध मुद्दा हालेको थियो । अलीबाबाले 'अलिपे' नामक भुक्तानी एकाइको स्वामित्व ज्याक मा नामक प्रमुख कार्यकारी रहेको चिनियाँ कम्पनीलाई हस्तान्तरण गरेको बताएको थियो ।

याहूले दर्ता गरेको मुद्दामा अलीबाबाका सञ्चालक समिति र शेयरहोल्डरहरूलाई जानकारी नदिई र उनीहरूको स्वीकृति नलिई यस्तो स्वामित्व हस्तान्तरण गरेको आरोप लागेको छ । अलीबाबामा याहूको ४३ प्रतिशत स्वामित्व छ र यसरी हिसाब गर्दा अलिपेमा उसको स्वामित्व करीब ४० प्रतिशत हुन आउँछ । यसरी स्वामित्व हस्तान्तरण गर्ने कुरा गत अगष्टको शुरूमा गरेको भए पनि अलीबाबाका प्रमुख शेयरहोल्डरहरू जापानको 'सफ्टबैङ्क'लगायतका कम्पनीलाई गएको मार्च महीनामा मात्र जानकारी दिइएको थियो । तर, माले भने यो भनाइको शनिवार खण्डन गरेका छन् । 'सञ्चालक समिति र याहू, सफ्टबैङ्कलगायतका शेयरहोल्डरहरूलाई पहिल्यै जानकारी दिइएको थियो र अलिपेको स्वामित्व हस्तान्तरण गर्ने कुरा उनीहरूलाई राम्ररी थाहा थियो', उनले डाउजोन्स समाचारलाई भने । माको कम्पनीले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो स्वामित्व हस्तान्तरण चीनको नियमनलाई दृष्टिगत गरी अलिपेको सञ्चालन निरन्तर राख्ने उद्देश्यले गरिएको बताएको थियो । एएफपी/रासस

भारतमा पेट्रोलको मूल्य ५ रूपैयाँले बढ्यो

वैशाख ३१, नयाँ दिल्ली (भारत) । भारतमा आज आइतवारदेखि पेट्रोलको मूल्य प्रतिलिटर भारू ५ ले बढ्ने भएको छ । भारतको राज्य नियन्त्रित तेल कम्पनी इण्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम कर्पोरेशन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेशनले पेट्रोलको मूल्य बढाएका हुन् । पेट्रोलको मूल्यवृद्धिबारेको उक्त जानकारी दुई कम्पनीका अधिकारीहरूले शनिवार जानकारी दिएका हुन् । एजेन्सी

तेल मूल्यले चिन्तित ओबामा

वैशाख ३१, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेट्रोलियम पदार्थको मूल्यको दबाब बढ्दै गएपछि अलास्कास्थित नेशनल पेट्रोलियम रिजर्भमा पेट्रोलियम पदार्थको वार्षिक करारमा विक्री बढाउने र अन्य क्षेत्रबाट तिनको उत्पादनसमेत बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार साप्ताहिक रेडियो र इण्टरनेट सम्बोधनमा अमेरिकी राष्ट्रपतिले पछिल्लो समयमा अमेरिकी उपभोक्ताका लागि सबभन्दा ठूलो बोझ पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको कुरा स्वीकार गरे । अहिले अमेरिकाका कतिपय स्थानमा पेट्रोलको मूल्य ४ डलर प्रतिग्यालेनको हाराहारी छ ।

यस्तो मूल्यवृद्धि अक्सर अल्पकालीन हुन्छ र यस्तो समस्याको तयारी समाधान नहुने हुनाले सार्थक समाधानका लागि गर्न सकिने उपायहरू थोरै छन्, ओबामाले भने । राष्ट्रपतिले अमेरिकी स्रोतहरूबाट जिम्मेवारीपूर्ण ढङ्गले तेल उत्पादन गर्नुका साथै सुरक्षा र वातावरणीय पक्षलाई पनि प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि अलास्काको यो रिजर्भबाट करारमा बेलाबेलामा पेट्रोलियम पदार्थको करार विक्री हुने गरेको थियो, तर त्यो वार्षिक अवधिको हुने गरेको थिएन । ओबामाले तेल र ग्यासका स्रोतहरू थप मूल्याङ्कन गर्ने बताए । यसमा दक्षिणी आन्द्र महासागरको स्रोतको अवस्था र मेक्सिको खाडीलाई तेल उत्पादनका लागि करारमा दिने कुरा पनि मूल्याङ्कन गर्ने बताए । एएफपी/रासस

विश्वव्यापी खपत २०५० सम्ममा तीन गुणाले बढ्ने चेतावनी

संयुक्त राष्ट्रसङ्घ । प्राकृतिक स्रोतको विश्वव्यापी खपत २०५० सम्ममा झण्डै तीन गुणाले बढेर वार्षिक १ खर्ब ४० अर्ब टन खपत हुने संयुक्त राष्ट्रसङ्घले बिहीवार चेतावनी दिएको छ । कच्चा तेल, तामा, सुनजस्ता सस्ता र गुणस्तरीय स्रोत तीव्ररूपले रित्तिँदै गएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूनेप) समितिले चेतावनी दिएको हो  ।तर, त्यस्तो खपतदरलाई घटाउन देशहरूले उचित कदम तत्काल नचालेको खण्डमा  विश्वले धान्न नसक्ने पनि सङ्घको चेतावनी छ । त्यसैले खनिजपदार्थ, धातु, जैविक इन्धन र वनस्पति इन्धनको प्रयोगमा व्यापक कटौती गर्नुपर्ने सङ्घको वातावरणीय समितिले सुझाव दिएको छ ।

२०५० सम्ममा विश्वको जनसङ्ख्या ९ अर्ब ३० करोड पुग्नेछ । त्यतिबेलासम्ममा हाल विकासशील रहेका देशहरू पनि सम्पन्न भइसक्नेछन् । त्यसैले त्यतिखेरको खपत पृथ्वीले धान्न सक्नेभन्दा निकै बढी पुग्ने समितिको प्रतिवेदनले भनेको छ । त्यसैले आर्थिक वृद्धिदरभन्दा पनि बढी दरले थोरैबाट धेरै गर्नसक्ने उपायबारे देशहरूले सोच्नैपर्ने यूनेपको सुझाव छ । 'राम्रो र उन्नत जीवन स्रोतको अत्याधिक खपतमा निर्भर हुँदैन भन्ने बुझ्न अति आवश्यक छ,’ यूनेपले स्मरण गराएको छ । विश्वभरिका स्रोतको खपत विस्फोटक अवस्थामा पुगिसकेकाले त्यसलाई कुनै पनि हालतमा धान्न नसकिने यूनेपले चेतावनी दिएको छ ।  हाल धनी देशका नागरिकले प्रतिवर्षऔसत १६ टन खनिज, धातु, पेट्रोलियम पदार्थ र बायोमासबाट उत्पन्न स्रोत प्रयोग गर्छन् । कतिपय धनी देशका नागरिकले त ४० टनसम्म त्यस्तो खपत गर्छन् । जबकि, भारतमा अहिले पनि औसत मानिसले प्रतिवर्ष४ टनमात्र स्रोत खपत गर्ने प्रतिवेदनले भनेको छ । त्यसैले स्रोतको प्रयोगमा पुनर्विचार गर्नुका साथै प्राविधिक, वित्तीय र सामाजिक नवप्रवर्तनमा पनि व्यापक लगानी गरिनुपर्ने र कम्तीमा पनि धनी देशले आफ्नो खपत वृद्धिदरलाई शून्यमा झार्नुपर्ने यूनेपको सुझाव छ । एएफपी/रासस    

१६ वर्षकोको सफल औषधि अनुसन्धान

टोरण्टोका एक १६ वर्षको किशोरले सुपरकम्प्युटर सिष्टमको माध्यमबाट एक जटिल रोगबारेको औषधि पत्ता लगाएका छन् । गम्भीर वंशानुगत रोग सिष्टिक फाइब्रोसिसको औषधि आविष्कार गरेबापत ११ कक्षामा पढ्ने ती किशोरलाई सम्मानित पनि गरिएको छ । मार्शल झाङ नामका ती किशोरले विद्यार्थीहरूले तयार पारेका अनुसन्धान प्रतियोगितामा प्रथम स्थान पनि  जितेका छन् । फोक्सो र शरीरका अन्य भागमा लेसाइलो पदार्थ जम्मा हुने सिष्टिक फाइब्रोसिसको हालसम्म कुनै उपचार छैन ।झाङले क्यानडाको साइनेट सुपरकम्प्युटर सञ्जाल प्रयोग गरेर उक्त रोगको कारक तत्त्वको अध्ययन गरेका थिए । त्यसपछि उनले औषधिले कसरी उक्त कारकमाथि काम गर्छ भन्ने पनि सोही सञ्जालमार्फत अध्ययन गरेका थिए । झाङले आफ्नो अध्ययनलाई जीवित कोषमा प्रयोग गर्दा सोचेको भन्दा पनि बढी सफलता पाएका थिए । भविष्यमा मानिसमा गरिने प्रयोगमा पनि आफ्नो औषधीले सफलता पाउने झाङले अपेक्षा गरेका छन् । एजेन्सी

भारतमा इण्डोसल्फान प्रतिबन्ध

वैशाख ३१, नयाँ दिल्ली (भारत) । भारतको सर्वोच्च अदालतले देशभरि व्यापक प्रयोग भइरहेको इण्डोसल्फान विषादीको प्रयोगमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । इण्डोसल्फानले मानिस र वन्यजन्तुमा पर्ने प्रभाव अध्ययनका लागि विषादीको उत्पादन र बेचबिखनमा प्रतिबन्ध लगाइएको हो । इण्डोसल्फानमाथि ८० देशहरूले प्रतिबन्ध लगाइसकेका छन् भने अन्यले उक्त विषादीलाई आगामी केही वर्षभित्रमा विस्थापन गर्दै जाने बताएका छन् ।फलफूल, तरकारी, चिया, कफी, कपास र अन्य बालीलाई कीराबाट जोगाउन प्रयोग गरिने विषादीमध्ये ७० प्रतिशत भारतमा उत्पादन हुन्छ । सर्वोच्च अदालतको शुक्रवार जारी आदेशअनुसार उक्त विषादीलाई दुई महीनासम्मका लागि देशभरि नै प्रतिबन्ध लगाइएको छ । त्यसका साथै, विषादीको प्रयोगबाट मानिस र वातावरणमा पर्ने प्रभावबारे आठ हप्ताभित्र विशेषज्ञ प्रतिवेदन बुझाउन पनि अदालतले आदेश दिएको छ ।  

दक्षिणी राज्य केरलाका एक राजनीतिक समूहले दिएको निवेदनको आधारमा अदालतले त्यस्तो आदेश दिएको हो । केरलाको कसरगोडे क्षेत्रमा इल्डोसल्फानको प्रयोगले मृत्युका साथै जन्मजात अपाङ्गता बढेको उक्त समूहले निवेदनमा भनेको थियो । केरला राज्य सरकारले समेत निवेदनकर्ताहरूलाई समर्थन गरेको थियो । विषादीको प्रयोगबाट थुप्रै मानिस मर्नुका साथै सयौं नवजात शिशुमा जन्मजात अपाङ्गता बढेको राज्य सरकारले बताएको छ ।  प्रधान न्यायाधीश सरोश होमी कापडीआले इल्डोसल्फानलाई पूरै प्रतिबन्ध लगाउने वा विस्तारै प्रतिस्थापन गर्दै जानेबारे अध्ययन गर्न एक विशेषज्ञ समिति बनाउन आदेश दिएका थिए । गत महीना जेनेभा बैठकका बेला १ सय २७ देशले इण्डोसल्फानलाई संयुक्त राष्ट्रसङ्घको प्रदूषक सूचीमा राख्न सहमत भएका थिए । त्यसैगरी, २०१२ सम्ममा उक्त विषादीको प्रयोगलाई उन्मूलन गर्न पनि बैठकले सहमति जनाएको थियो  ।

तर, इण्डोसल्फानको विश्वकै ठूलो प्रयोगकर्तामध्ये भारतले भने ११ वर्षसम्मको 'फेजआउट' अवधि अर्थात् विस्थापन अवधि चाहिने माग गरेको थियो । भारतीय किसानहरू पनि इण्डोसल्फानलाई प्रतिबन्ध लगाउने कुराको विरोधमा छन् । उक्त विषादी सस्तो र सजिलै पाइने भएको उनीहरूको तर्क छ । इण्डोसल्फान उत्पादनकर्ता ठूला भारतीय कम्पनीहरूले पनि बहुराष्ट्रिय कम्पनीको दबाबमा आएको उक्त विषादीविरूद्ध अभियान चलाइएको आरोप लगाएका छन् । तर, इण्डोसल्फानबाट मानिस र वातावरणमा थप नोक्सान हुन नदिइने अदालतले निर्णयगरेको छ । विशेषज्ञ समितिले इण्डोसल्फानको प्रयोग खतरनाक नरहेको भन्ने प्रतिवेदन दिएपछि मात्रै हालको प्रतिबन्ध हटाइने अदालतको निर्णयछ । एपी/रासस

सौर्य ऊर्जाबाट पहिलो अन्तरराष्ट्रिय उडान

वैशाख ३१, फ्रान्कर्फट (जर्मनी) । विश्वमै पहिलोपटक सौर्य ऊर्जाबाट चल्ने विमानले शनिवार एउटा अन्तरराष्ट्रिय उडान गरेको छ । पश्चिमी स्वीट्जरल्याण्डको पेएर्नेबाट उडेको उक्त विमान १३ घण्टापछि बेल्जियमको ब्रसेल्समा अवतरण गरेको थियो ।'विद्यमान प्रविधमार्फत नवीकरणीय ऊर्जाक्षेत्रमा र ऊर्जा बचतका लागि के गर्न सकिन्छ भन्ने देखाउनु यस उडानको लक्ष्य हो,’ उक्त परियोजनाका सहसंस्थापक तथा पाइलट एण्ड्रे बोसबर्गले भने । 'बोसबगका अनुसार सौर्य प्रविधलाई कार चलाउन र घरमा पनि उपयोग गर्न सकिन्छ । सौर्य ऊर्जा प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँसम्मको यस्तो यात्राको साङ्केतिक महत्त्व छ,’ उनले भने ।  

'सोलार इम्पल्स' भनिने १२ करोड ८० लाख डलरको दशवर्षको उक्त विमान निर्माण परियोजना २००३ बाट शुरू गरिएको थियो । विमानमा १२ हजारओटा सोलार सेल जडान गरिएका छन् । उक्त विमानले २०१० को अप्रिलमा नै पहिलो उडान गरेको थियो भने त्यसको तीन महीनापछि २६ घण्टासम्म हावामा रहेर कीर्तिमान कायम गरेको थियो ।सोलार इम्पल्सले प्रतिघण्टा औसत ७० किलोमिटरको दरले उडान गर्छ । त्यसैले तत्कालका लागि सोलार इम्पल्सले व्यापारिक जेट विमानलाई प्रतिस्थापन गर्ने छैन । किनभने, हाल सञ्चालनमा रहेका व्यापारिक जेट विमानहरूले इम्पल्सको भन्दा १० गुणा बढी गतिमा उडान गर्छन् ।  

तर, छोटो दूरीको र कम गतिको व्यापारिक उडानका लागि भने इम्पल्सको प्रयोग गर्न सकिने आयोजना सञ्चालकहरूले बताएका छन् । शुक्रवारको उडान सोलार इम्पल्सको पाँचौ उडान थियो । अघिल्ला चार उडानहरू भने स्वीट्जरल्याण्डभित्रै गरिएका थिए । इम्पल्सको हालको भन्दा पनि ठूलो मोडेलले २०१३ मा विश्वभरि नै उडान गर्ने योजना रहेको छ । एजेन्सी

Admin 2011-05-15