क्यानकुन जलवायु बैठकमा हात्तीको प्रभाव
मङ्सिर २९७, क्यानकुन (मेक्सिको) । कठिन वार्ताहरुपश्चात शनिवार क्यानकुनमा जलवायुसम्बन्धी नयाँ सम्झौता भएको छ । सहभागीहरुले उक्त सम्झौतालाई विश्व तापमान वृद्धिको सामना गर्ने दिशामा एक कदम अगाडी भएको बताएका छन् । तर धेरै कदम चालियो भने उनीहरु वार्ताकोठाभित्र बसेको हात्तीसँग ठोक्किन पुग्नेछन् । त्यो हात्ती भनेको अमेरिकी रिपब्लिकन पार्टी हो । क्यानकुन भेलामा सहभागी कसैले पनि अमेरिकी प्रतिनीधिसभामा रिपब्लिकनहरुको शानदार बिजय बारे बोल्न चाहेनन् । अहिलेको क्यानकुन सम्झौताले पनि विश्वतापमान बढाउने हरित ग्यासका प्रमुख उत्सर्जन अमेरिका तथा अन्य कुनै पनि राष्ट्रहरुका लागि उनीहरुले उत्सर्जन कम गर्नैपर्ने कानूनी रुपमा बाध्यकारी अवधारणा ल्याएको छैन । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भएका अन्त्यहीन भाषणहरुमा अमेरिकाको राजनीतिक अवस्थाबारे कसैले केही बोलेन । क्यानकुन सम्झौताको अन्तिममा सार्वजनिक गरिएको दस्तावेजले वर्तमान समयका लागि सबैभन्दा ठूलो चुनौतिहरुमध्येको एक विश्वव्यापी तापमान वृद्धि हो भन्ने किटान गरेको छ । तर, यो समस्याको समाधानमा प्रमुख बाधक रहेको अमेरिकाको घरेलु राजनीतिक अवस्थाले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा केही बोलेको छैन ।
तथापि छलफलमा सबैजना चुप लागेका भने थिएनन् । तापमान बृद्धिले बढेको समुद्र आफ्ना घरभित्र पसिसकेको अवस्थाको सामना गरिरहेका प्रशान्तक्षेत्रीय टापूवासीहरुले त्यसबारे कुरा उठाएका थिए । नाउरुका राष्टपतिले बैचारिक फाटोले गर्दा सरकारहरु विभाजित भएको गुनासो गरे भने तुभालुका उपप्रधानमन्त्रीले त विकसित देशहरुले प्रतिगामी राजनीति गरेको आरोप लगाएका थिए । अमेरिकाका एक मित्र इथियोपियाका प्रधानमन्त्री मेलेज जेनावीले अमेरिकी कङ्ग्रेसमा कुन पार्टीले कब्जा जमाउँछ भन्ने कुरा त्यति महत्वपूर्ण नभएको बताए । बरु धनी देशहरुले विकाशशील देशहरुलाई स्वच्छ उर्जा स्रोत, समुद्रलाई घेर्ने नयाँ पर्खाल, नयाँ पानीसम्बन्धी प्रणाली लगायत जलवायु परिवर्तन र यसले निम्त्याउने खडेरी, बाढी, रोग, तथा चरम मौसमको सामना गर्न आर्थिक सहायता दिनुपर्ने कुरा महत्वपूर्ण भएको उनको धारणा थियो ।
तर अमेरिकामा कुन पार्टीले जित्छ भन्ने कुरा जलवायु परिवर्तनको विषयसँग सोझो सम्बन्ध छ । किनभने धेरैजसो रिपब्लिकनहरु मानिसहरुले गर्दा विश्वतापमान बढेको भन्ने बैज्ञानिक प्रमाणहरु ठाडै अस्वीकार गर्दछन् । उनीहरु धेरैजसो बैज्ञानिक गलत भएका वा तापमानबृद्धिका असरहरुलाई बढाइचढाइ गरेका भन्छन् । जतिखेर दुइ हप्ते जलवायु सम्मेलन शुरुहुँदै थियो, अमेरिकी सिनेटको वातावरण तथा सार्वजनिक निर्माण समितिका चारजना रिपब्लिकन सदस्यहरुले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई एउटा चिठी पठाएका थिए । त्यसमा अमेरिकाले २०१०/११ को अवधिमा दिने भनेको लगभग ३ अर्ब डलरको जलवायु अनुदान स्थगित गर्न माग गरेका थिए । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन समितिले जलवायु सम्बन्धी पत्ता लगाएका कतिपय कुराहरु अतिशयोक्तिपूर्ण भएको वा असत्य भएको दावी ती रिपब्लिकन सिनेटरहरुले गरेका थिए । साथै अमेरिकाले ठुला बजेट घाटा बेहोरिरहेको बेला गलत सूचनामा आधारित विश्वव्यापी जलवायु कोषको लागि अमेरिकी करदाताहरुको रकम खर्च गरिन नहुने उनीहरुले माग गरेका थिए । एपी/रासस
बेलायतमा बेरोजगारको सङ्ख्या २५ लाख
मङ्सिर २९, लण्डन (बेलायत) । बेलायतमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या २५ लाख पुगेको छ । गत ६ महीनामा पहिलो पटक यसरी बेरोजगारी बढेको हो । सरकारले गर्ने खर्चमा व्यापक कटौतीका बीच बेरोजगारी दर अझ बढ्ने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् । अक्टोबरसम्मका तीन महीनामा बेरोजगारहरूको सङ्ख्या ३५ हजारले बढेर अहिलेसम्मकै उच्च सङ्ख्यामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । कायार्ल यका अनुसार अक्टोबरसम्मको तीन महीनामा बेरोजगार दर बढेर ७ दशमलव ९ प्रतिशतमा पुगेको थियो । सेप्टेम्बरसम्मको तीन महीना बेरोजगारी दर ७ दशमलव ७ प्रतिशतमा रहेको थियो ।
प्रधानमन्त्री डेभिड क्यामरुनले बेरोजगारीमा भएको पछिल्लो वृध्दीप्रति चिन्ता व्यक्त गरेका छन् । साथै उनले उक्त तथ्याङ्कले मिश्रति चित्र प्रस्तुत गरेको पनि दाबी पनि गरे । नोभेम्बरमा बेरोजगार भत्ताको दाबी गर्नेहरूको सङ्ख्यामा १ हजार २ सयले कमी आएको थियो । सोही तथ्यलाई आधार मानेर क्यामरुनले उक्त तथ्याङ्कलाई मिश्रति भएको संज्ञा दिएका हुन् । बेलायत एक सरकारी स्तरको निरीक्षण संस्थाले उक्त देशको सार्वजनिक क्षेत्रमा आगामी चार वर्षसम्ममा ३ लाख ३० हजार पदहरू कटौती हुने पूर्वानुमान गरेको छ । सरकारले ल्याएको खर्च कटौतीसम्बन्धी कठोर कार्यक्रमको परिणामस्वरूप सरकारी कर्मचारीको सङ्ख्यामा पनि कटौती हुने बताइएको छ । एपी/रासस
मार्क जुकरवर्ग 'टाइम’ का वर्ष व्यक्ति
मङ्सिर २९, न्युयोर्क (अमेरिका) । फेसबूकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई प्रसिद्ध टाइम पत्रिकाले सन् २०१० का लागि वर्ष व्यक्ति घोषणा गरेको छ । २६ वर्षीय जुकरवर्ग यस्तो छनोट शुरू भएयता पहिलो वर्ष बाहेकका सबभन्दा कम उमेरका हुन् । सन् १९२७ मा टाइम पत्रिकाले यस्तो छनोट शुरू गरेकै वर्ष२५ वर्ष चार्ल्स लिण्डवर्फाई वर्षयक्ति छानेको थियो । बेलायतकी महारानी एलिजावेथ द्वितीय सन् १९५२ मा वर्ष व्यक्ति घोषणा हुँदा जुकरवर्गको अहिलेको भन्दा दुइ महीना मात्र बढी उमेरकी थिइन् । संयोग नै भन्नुपर्ला, एलिजावेथले भर्खरै जुकरवर्गको सामाजिक सञ्जालमा आफूलाई संलग्न गराएकी छन् ।जुकर वर्ग संसारका सबभन्दा कम उमेरका अर्बपति मात्र भएर नयाँ मार्गचित्र बनाएका छैनन्, उनी मानवसेवाकार्यमा पनि संसारकै सबभन्दा प्रमुख नवआगन्तुकमध्येका गनिन्छन् । यो वर्षको शुरूमा उनले पाचँ वर्षका लागि खर्च गर्ने गरी १० करोड डलर न्युजर्सी राज्यको विद्यालय प्रणालीलाई दिएका थिए । अहिले उनी सञ्चारउद्यमीहरू ७४ वर्षीय कार्ल इकाहन, ६८ वर्षीय ब्यारी डिल्लरलगायतका व्यक्तिहरूको समूहमा छन् । उनीहरूले माइक्रोसफ्टका संस्थापक बिल गेट्स र शेयरबजारका लगानीकर्ता वारेन बफेटले नेतृत्व गरेको 'गिभिङ प्लेज' नामक संसारका धनीहरूले स्थापना गरेको सहयोग संस्थाका सदस्यका रूपमा काम गरिरहेका छन् । जुकर वर्गको फेसबूकको सम्पत्तिमध्ये करीब एक चौथाइ हिस्साको स्वामित्व छ । उनले फेसबूकलाई सामाजिक सर्म्पर्क स्थापना गर्ने मान्यताको एउटा परिवर्तनकारी संवाहकका रूपमा समुदायमा स्थापित गरेका छन् । यो नयाँ संसारमा मानिसहरूलाई आमनेसामने भएर कुराकानी गरेभन्दा अझ राम्ररी उनले स्थापना गरेको सञ्जालमार्फत सम्पर्क र सम्बन्ध स्थापना गर्न सम्भव बनाएको छ । 'म संसारलाई अझ खुला स्थान बनाउन प्रयासरत छु' आफ्नै फेसबूक पेजमा राखेको उनको भनाइ हो यो ।
हार्वर्ड विश्वविद्यालयको आफ्नै छात्रावासको कोठामा जन्म लिएको जुकर वर्गको फेसबूक साइटले गएका छ वर्षमा ५० करोड व्यक्तिहरूको सञ्जाल निर्माण गरेको छ । र, एक डलर मूल्यको यो प्रयास अहिले अर्बौं डलरको व्यवसाय गर्ने कम्पनी भएको छ ।टाइमको वर्ष व्यक्ति हुनका लागि बितेको वर्षभरि असल वा खराब कुनै पनि ढङ्गले संस्कृति अथवा समाचारलाई प्रभावित पार्ने व्यक्ति वा वस्तु हुनुपर्छ । गत वर्ष अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष बेन बर्नान्की टाइमको वर्ष व्यक्ति भएका थिए । सन् २००८ मा अमेरिकी राष्ट्रपति बाराक ओबामा र सन् २००७ मा रूसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई यो सम्मान दिइएको थियो । एएफपी/रासस
चीनमा १ खर्ब डलर विदेशी लगानीको लक्ष्य
मङ्सिर २९, बेइजिङ (चीन) । चीनले यस वर्ष१ खर्ब डलरको प्रत्यक्ष्य विदेशी लगानी भियभयाउने भएको छ । सो परिमाण हालसम्मको सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी हुने चीनको व्यापार मन्त्रालयले बुधवार जानकारी दिएको छ । चिनियाँ बजारसम्मको पहुचमा रहेको बाधा तथा श्रमको बढ्दो मूल्यजस्ता विषयमा चिन्ता व्यक्त गरिँदै आएकोमा समाचारबाट विश्वभरिका संस्थाहरूका लागि चीन अझै पनि प्रमुख लगानी गन्तव्य रहेको पुष्टि भएको छ ।सन् २०१० को ११ महिनामा चीनमा ९१ अर्ब ७० करोड डलरको प्रत्यक्ष्य लगानी भएको थियो । व्यापार मन्त्रालयका अनुसार उक्त परिमाण २००९ को सोही अवधिमा भन्दा १८ प्रतिशत बढी हो ।तीव्र दरले वृद्धि भइरहेको चिनियाँ अर्थतन्त्र विदेशी लगानीकर्ताको आकर्षण रहेकोमा सेवा उद्योगमा हालै आएर झन् बढेको मन्त्रालयका प्रवक्ता याओ जीआनले बताए । सेवा उद्योगमा बढेको आकर्षणले चीन सरकारको आर्थिक संरचनालाई समायोजन गर्ने नीतिलाई सघाएको पनि याओले बताए । अर्थतन्त्रको निर्यातमा रहेको निर्भरता कम गर्न घरेलु खपत बढाउने नीति चीन सरकारले लिएको छ ।अमेरिकी तथा चिनियाँ उच्च अधिकारीबीच उच्च तहको व्यापार वार्ता वासिङ्टनमा शुरू भएको छ । बुधवार सकिने वार्ता बौद्धिक सम्पतिको अधिकार, लगानीमा प्रतिबन्ध तथा बजारसम्मको पहुचमा देखिएका बाधालगायतमा केन्द्रित रहेको छ ।यो वर्ष चीनमा एशियाली मुलुकबाट बढी लगानी भित्रिएको छ । यस वर्षा ठूला लगानीकर्ताहरूमा क्रमश हङकङ, ताइवान, सिङ्गापुर तथा जापान रहेका छन् भने अमेरिका पाँचौ स्थानमा रहेको छ । रोयर्टस
विद्युतीय कारको खरीदमा अनुदान
मङ्सिर २९, लण्डन (बेलायत) । बेलायत सरकारले वातावरणमैत्री विद्युतीय कार खरीद गर्न प्रोत्साहित गर्ने भएको छ । त्यसका लागि मर्सिडिज बेञ्ज तथा टोयोटालगायतका प्रमुख गाडी निर्माताबाट निर्मित विद्युतीय कार खरीद गर्दा सरकारले अनुदान दिनेछ । बेलायती यातायात मन्त्री फिलिप हाम्मण्डका अनुसार विभिन्न कम्पनीका गरी नौओटा मोडलको विद्युत् कार खरीदमा उक्त अनुदान दिइनेछ । अनुदानको राशि ५ हजार पाउण्ड (७ हजार ९ सय ३० डलर)सम्मको हुन सक्ने मन्त्रीले बताएका छन् । सरकारले विद्युतीय कार चार्ज गर्नका लागि चार्जिङ केन्द्रहरूको सङ्ख्या पनि बढाउने बताइको छ । विद्युतीय गाडी उद्योगसँग सम्बन्धित संस्थाहरूले अनुदानको स्वागत गरेका छन् । बिद्युतीय कारको मूल्य ३० हजार पाउण्डभन्दा बढी पर्ने बताइएको छ । सो मूल्य पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको तुलनामा धेरै महँगो भएकाले सरकारको अनुदान योजना लोकप्रिय हुन अझै समय लाग्ने देखिएको छ । एएफपी
कर्पोरेट मध्यस्तकर्ताको घरमा छापा
मङ्सिर २९, नयाँदिल्ली (भारत) । भारतको उच्च अनुसन्धान संस्था सीबीआईले एकजना कर्पोरेट मध्यस्तकर्ताको घर तथा अफिसमा छापा मारेको छ । भ्रष्टाचार सम्बन्धी एउटा छानविनको क्रममा नीरा राडियाको दिल्लीस्थित फार्महाउसमा उक्त छापा मारिएको हो ।
गत महीना राजिनामा गरेका दूरसञ्चारमन्त्री ए राजासँग राडियाको सम्बन्ध रहेको बताइएको छ । २ जी स्पेक्ट्रम भनिने मोबाइल फोनको अनुमति पत्र सम्बन्धी उक्त काण्डलाई भारतको हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारकाण्ड भनिएको छ । त्यस काण्डबाट भारत सरकारको ३७ अरब डलर आम्दानी गुमेको आरोप राजामाथि लागेको छ । यसै महीना राजाको दिल्ली तथा मद्रासस्थित घरहरुमा सीबीआईले छापा मारेको थियो । उक्त काण्डमा अन्तरपार्टी छानविन हुनुपर्ने माग राख्दै बिपक्षी दलले संसद्को हिउँदे अधिवेशनलाई अवरोध पुर्याएको थियो । संसद् अधिवेशन सोमवार अन्त्य गरिएको छ । राडियाका साथै भारतीय दूरसञ्चार संस्थाका पूर्वअध्यक्ष प्रदीप बैजालको घर तथा अफिसहरूमा पनि छापा मारिएको थियो । राडियाको राजा तथा अन्य प्रमुख नेता, उद्योगपति, तथा पत्रकारहरूसँग गरी सय भन्दा बढी कुराकानी सीबीआईले रेकर्ड गरेको थियो, जसलाई पछि सञ्चारमाध्यममा चुहाइएको थियो । राजाले आफूले कुनै गल्ती नगरेको तथा आफू सञ्चारमाध्यमको शिकार भएको बताउँदै आएका छन् । बीबीसी
विश्व बजारमा चिनीको भण्डारमा कमी, मूल्य बढ्दो
मङ्सिर २९, सिड्नी (अष्ट्रेलिया) । अष्टे्रलिया अन्तरराष्ट्रिय बजारबाट चिनी किन्नुपर्ने अवस्थामा पुगेको छ । हालै देशको पूर्वी क्षेत्रमा आएको बाढीबाट बालीमा नोक्सान पुगेको थियो ।अष्ट्रेलियाको सबैभन्दा ठूलो चिनी निर्यातकर्ता क्विन्सल्याण्ड सुगर लिमिटेड (क्यूएसएल)ले आफ्नो निर्यात प्रतिबद्धता पूरा गर्न ब्राजिल तथा थाइल्याण्डबाट थप कच्चा चिनी मगाउने भएको छ । यस वर्षको वसन्त ऋतुमा अष्ट्रेलियामा हालसम्मकै लामो वर्षा तथा बाढी आएको थियो । संसारको सबैभन्दा ठूलो चिनी निर्यातकर्ता राष्ट्र ब्राजिल हो । यस वर्ष त्यहाँ उखुको उत्पादन बढी हुने बताइएको छ । तर, यस वर्ष ब्राजिलमा भएको न्यून वर्षाले गर्दा उखुमा रस कम भएर त्यहाँ पनि चिनीको उत्पादन प्रारम्भिक अनुमानभन्दा कम हुनेछ । सन् २०१० को अन्तिम महीनाहरूमा विश्वबजारमा चिनीको मूल्य तीव्र रूपले बढेको छ । नोभेम्बरमा चिनीको मूल्य लगभग शून्य दशमलव ४० डलर प्रतिपाउण्ड पुगेको थियो ।अष्ट्रेलियाका साथै चिनीको अर्को प्रमुख निर्यातकर्ता भारतमा पनि यस वर्ष उखुखेतीका लागि मौसम अनुकूल रहेन । त्यसपछि विश्वभरि नै चिनीको भण्डारमा कमी आउने आशङ्काबीच चिनीको मूल्य बढ्न पुगेको हो । रोयटर्स
अष्ट्रेलिया र सिङ्गापुर स्टक एक्सचेञ्ज मर्जरमा सहमति
मङ्सिर २९, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको प्रतिस्पर्धा निरीक्षण गर्ने संस्था अष्ट्रेलियन कम्पिटिशन एण्ड कञ्जुमर कमिशनले अष्ट्रेलिया तथा सिङ्गापुरका स्टक एक्सचेञ्जबीच हुन लागेको मर्जरको विरोध नगर्ने बताएको छ । ८ अर्ब ३० करोड डलरको उक्त मर्जरबाट विश्वकै पाँचौं ठूलो स्टक एक्सचेञ्जको निर्माण हुनेछ । सिङ्गापुर एक्सचेञ्ज लिमिटेड (एसजीएक्स) तथा अष्ट्रेलियन सेक्युरिटिज एक्सचेञ्ज(एएसएक्स) का बीच हुने मर्जरबाट प्रतिस्पर्धामा खासै कमी नआउने कमिशनले बताएको छ । कमिशनको उक्त निर्णयपछि मर्जरबारे सम्झौताको सम्भावना अझ नजिक पुगेको छ । एसजीएक्सले व्यापार, क्लियरिङ वा सेटलमेण्ट सम्बन्धी सेवाहरूको लागि एएसएक्ससँग प्रतिस्पर्धा नगरेको र एसजीएक्स सूचीकरण सेवाहरूमा मात्र केही प्रतिष्पर्धा हुने गरेको कमिशनले बताएको छ । उक्त मर्जरबाट हङकङ्जस्तै क्षेत्रीय व्यापार केन्द्रको निर्माण हुने अपेक्षा गरिएको छ र यस बारे अष्ट्रेलियाको केन्द्रीय बैङ्क तथा अन्य नियामकहरूले पनि सहमति गरेपछि मात्र अर्थमन्त्रालयबाट स्वीकृति प्राप्त हुन्छ । रोयटर्स
अमेरिकामा मूल्य सङ्कुचनको भय
मङ्सिर २९, अमेरिका (वासिङ्टन) । अघिल्लो महीना खाद्यान्न र इन्धनको लागत बढेपछि अमेरिकी उपभोक्ता मूल्य परिसूचक सामान्य वृद्धि भएको छ । तर, त्यहाँ उच्च मूल्यवृद्धिको सम्भावना भने छैन । उपभोक्ता मूल्य परिसूचक नोभेम्बरमा शून्य दशमलव १ प्रतिशतले बढयो । त्यो अघिल्लो महीनाको मूल्यवृद्धिदर शून्य दशमलव २ प्रतिशतभन्दा कम भएको अमेरिकी श्रम विभागले बुधवार बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि १ दशमलव १ प्रतिशत थियो । प्रतिवेदनअनुसार अर्थतन्त्र खुम्चिएकाले मूल्य वृद्धिदर पनि कम भएको हो । खाद्य तथा उर्जाको लागतबाहेक अमेरिकी वास्तविक मूल्यवृद्धिदर ४ महीना यता पहिलोपटक शून्य दशमलव १ प्रतिशतमा झरेको हो । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धिदर शून्य दशमलव ८ प्रतिशत थियो । त्यो सन् १९५७ देखि वास्तविक उपभोक्ता मूल्य परिसूचक गणना गर्न थालेदेखिकै न्यून हो । ग्रीष्मयाममा वस्तुहरूको मूल्य लगभग स्थिर रहेपछि उपभोक्ता मूल्य परिसूचक लगातार ३ महीनासम्म घटिरहेको छ । यसले अर्थतन्त्रमा मूल्य सङ्कुचन निम्त्याउन सक्ने भय बढेको छ । किनकि लामो समयसम्म उपभोक्ता मूल्य, श्रमिकको ज्याला, शेयरमूल्य र घर तथा बन्दकीको मूल्यसमेत घटिरहेको छ । अघिल्लो महीना माछामासु र अण्डाको मूल्य बढेपछि खाद्यपदार्थको मूल्य शून्य दशमलव २ प्रतिशतले बढेको थियो । त्यसैगरी ग्यासको मूल्य शून्य दशमलव ७ प्रतिशत, पारवहन इन्धनको मूल्य शून्य दशमलव २ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यो लगातार पाँच महीनाकै न्यून बृद्धिदर हो । एपी/रासस