भारतका प्रधानमन्त्रीद्वारा 'दोस्रो हरित क्रान्ति’ को आह्वान
असार ३२, भारत । भारतका प्रधानमन्त्री मनमोहन सिंहले दोस्रो 'हरित क्रान्ति’का लागि शनिवार आह्वान गरेका छन् । देशको बढ्दो जनसङ्ख्याले २०२५ सम्ममा चीनलाई समेत उछिन्ने भएकाले 'हरित क्रान्ति’ को आवश्यकतामा सिंहले जोड दिएका हुन् ।भारतमा १९६० र ७० को दशकमा भएको 'हरित क्रान्ति’ विश्वकै सफल कृषि उत्पादनमध्ये एक मानिन्छ । त्यतिखेर रोपिएका उच्च उत्पादनमूलक जातका गहुँ र धानले ठूलो मात्रामा उत्पादन वृद्धि गराएका थिए ।
त्यतिखेरको भन्दा पनि बृहत्स्तरको, समावेशी र दिगो हरित क्रान्तिको आवश्यकता रहेको सिंहले कृषि वैज्ञानिकको सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन् । तीब्ररूपले जनसङ्ख्या बढिरहेकोले उत्पादन पनि त्यसकै अनुपातमा बढाउनुपर्नेबारे विशेषज्ञहरूले जोड दिँदैआएका छन् ।कृषि उत्पादनमा सरकारले लक्ष राखेको ४ प्रतिशतको भन्दा १ प्रतिशतमुनि अर्थात् ४ प्रतिशतले मात्र वृद्धि हासिल भइरहेको सिंहले बताए । त्यसबाट भारतमा पनि खाद्यान्नको चर्को मूल्यवृद्धि भइरहेको छ भने गरीब जनतामाथिको भार झनै बढेको छ ।
त्यसैले खाद्यान्न महँगीको चपेटामा पर्ने देखिएका झण्डै ७० प्रतिशत जनसङ्ख्यालाई सुलभ खाद्य आपूर्ति सुनिश्चित गर्न भारतले खाद्य सुरक्षा विधेयक प्रस्तुत गर्ने भएको छ ।उत्पादन वृद्धिका लागि कृषि अनुसन्धान र विकास क्षेत्रमा २०२० सम्ममा दोब्बर वा तेब्बरले वृद्धि गर्नुपर्ने सिंहको भनाइ छ । भारतमा २०१०-११ को वर्षमा ठूलो मात्रामा बाली उत्पादनपछि हालसम्मकै ठूलो खाद्यान्न सञ्चिति हासिल भएको छ । एएफपी/रासस
अमेरिकी लगानीकर्ता कृषिमा आकर्षित
असार ३२, अमेरिका । अमेरिकाका ३३ वर्षीय सफ्टवेयर कार्यकारी जानोब्स्कीले अचानक एउटा अनौठो निर्णयगरे, पहिले कहिल्यै नगरेको कृषि क्षेत्रमा हात हाल्ने । गतवर्षको ग्रीष्मयामका बेला उनले निकै महँगो मूल्यमा मिशिगनस्थित एक मकैबारी खरीद गरे । झण्डै ४ सय ३० एकडको उक्त मकैबारीका लागि जानोब्स्कीले ४० लाख डलर हालेको देखेपछि धेरै अनुभवी किसानहरूले समेत जिब्रो टोकेका थिए । तर, १ वर्षपछि आएर जानोब्स्कीले आफूले उक्त मकैबारी सस्तोमा पाएको बताउँछन् ।
किनभने त्यतिखेर ४ डलरमा रहेको मकैको मूल्य यस वर्षको जुनमा ८ डलर पुगिसेकको छ । यसरी, पहिले कहिल्यै माटो नखेलाएका जानोब्स्कीजस्ता थुप्रै पैसावाल अमेरिकीहरू पनि कृषिक्षेत्रमा रहेको ठूलो सम्भाव्यताप्रति आकर्षित भएका छन् । किनभने खाद्यवस्तुको मूल्य विश्वभरि नै झनै बढ्दै जाने उनीहरूको अनुमान छ । नयाँ लगानीकर्ताहरूले क्यान्ससको गहुँ खेत, आयोवाको मकैबारी र इण्डियानाको भटमास खेत सबैतिर हात हालिरहेका छन् । त्यस्ता नयाँ लगानीकर्तामा सियाटलस्थित कम्प्युटर विशेषज्ञ, क्यान्ससस्थित अधिवक्ता, शिकागोका प्रकाशन गृहका कार्यकारी र बोष्टनका अर्थ प्रबन्धकसमेत छन् ।
आयोवाको कृषिभूमिको मूल्य ६ वर्षभित्र झण्डै दोब्बरले बढिसकेको छ । त्यसैगरी, नेब्रास्का र क्यान्ससलगायत अन्य क्षेत्रमा पनि कृषिभूमिको मूल्य निकै बढेको छ । आफ्नो खेत यति महँगो मूल्यमा विक्री हुने आफूले कहिल्यै नसोचेको ७३ वर्षीय एक विक्रेता रोबट हुबरले बताए । तर, विश्वभरि नै खाद्यवस्तुको माग बढिरहँदा कृषियोग्य जमीन भने घट्दै गएकाले लगानीकर्ताहरूले चर्को मूल्य तिरेर भए पनि खेतबारी किनिरहेका वा भाडामा लिइरहेका छन् । खासगरी, मकैको उपयोगिता र मूल्य दुवै बढिरहेकाले लगानीकर्ता तथा कृषक दुवै मकै खेतीतर्फ आकर्षित भएका छन् । एपी/रासस
इरानमा मुद्राको नाम परिवर्तनबारे सर्वेक्षण
असार ३२, तेहरान (इरान) । इरानको केन्द्रीय बैङ्कले हालको मुद्रा रियालको नाम परिवर्तन गर्नेबारे जनतासँग राय मागेको छ । बैङ्कको वेबसाइटमा राखिएका नामहरूमध्ये हालको रियाललगायत तोमान, पार्सी र देरिकमध्ये कुनै एक रोज्न वेबसाइटका भ्रमणकर्तालाई आग्रह गरिएको छ । त्यसैगरी, कतिसम्मको ठूलो रकमको बैङ्क नोट जारी गर्ने भन्नेबारे पनि बैङ्कले अनलाइन सर्वेक्षण गरिरहेको छ । हाल इरानको सबैभन्दा ठूलो बैङ्क नोट १ लाख रियालको छ, जुन झण्डै ९ डलर बराबर हुन आउँछ । सरकारले मुद्रा परिवर्तनबारेको विधेयक संसद् समक्ष प्रस्तुत गर्नेबेला हालको सर्वेक्षणलाई आधार बनाउनेछ । बढ्दो महँगीका कारण इरान सरकारले ठूला मुद्राबाट केही शून्यलाई हटाएर सानो बनाउनेबारे विचार गरिरहेको छ । एपी/रासस
बङ्गलादेशको जनसङ्ख्या १० प्रतिशत वृद्धि
असार ३२, बङ्गलादेश । बङ्गलादेशको जनसङ्ख्या एक दशकमा झण्डै १० प्रतिशतले बढेर १४ करोड २३ लाख पुगेको छ । तर, कामकाजी महिलाहरूको सङ्ख्या बढ्दै गएकाले जनसङ्ख्या वृद्धिदर भने घट्दै गएको देखिन्छ । प्रत्येक १० वर्षमा गरिने जनगणनाका लागि यस वर्ष३ लाख अधिकारी खटाइएका थिए । मध्य मार्चदेखि राष्ट्रपति र प्रधानमन्त्रीको परिवारबाट जनगणना शुरू गरिएको थियो । कामकाजी महिलाको सङ्ख्या, मानिसहरूमा उच्च जीवनस्तर र थोरै केटाकेटीको चाहनालगायत सरकारको जनसङ्ख्या नियन्त्रण कार्यक्रमको सफलताले वृद्धिदर घटेको तथ्याङ्क विभागका प्रमुख शाहजहाँ मोल्लाहले बताए । प्रारम्भिक जनगणना संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको १४ करोड ८७ लाखभन्दा केही कम देखिएको छ । एपी/रासस
आठ यूरोपेली बैङ्कको वित्तीय 'स्वास्थ्य’ कमजोर
असार ३२, लण्डन (बेलायत) । यूरोपेली बैङ्कहरूको वित्तीय अवस्था कमजोर रहेको वित्तीय परीक्षणहरूबाट देखिएको छ । पहिले अनुमान गरिएभन्दा निक्कै बढी रकम कम भएको परीक्षण रिपोटहरूले देखाएको जानकारहरूले बताएका छन् । यूरोपेली बैङ्कहरूमा करीब ८० अर्ब यूरो कम भएको हुनसक्ने जानकारहरूले बताएका छन् । पहिले अनुमान गरिएभन्दा यो ३० गुणा बढी हो । शुक्रवार गरिएका वित्तीय परीक्षणमा आठ साना बैङ्कका २ दशमलव ५ अर्ब यूरो कम भएको देखिएको थियो । वित्तीय सेवा कम्पनी जेपी मोर्गनका कियान एबोउहोसेनले कडा रूपमा वित्तीय परीक्षण गरिने भए ब्रिटेन, फ्रान्स र जर्मनीका प्रमुख बैङ्कहरूमा रकम अभाव देख्न सकिने बताएका छन् । यसअघि यूरोपेली बैङ्किङ नियामक संस्था 'यूरोपियन बैङ्किङ अथोरिटी' (इबीए) ले गरेका वित्तीय परीक्षण 'इबीए स्ट्रेस टेष्ट-२' लचिलो भएको भन्दै आलोचना गरिएका थिए । एजेन्सी
ब्रिटिश ओपन गोल्फ : डोनाल्ड, वेष्टवूड दोस्रो चरणमै बाहिर
असार ३२, स्याण्डविच (बेलायत) । बेलायतको स्याण्डविच स्थित रोयल सेण्ट जर्ज गोल्फ लिङ्क्समा भइरहेको ब्रिटशि ओपन च्याम्पियनसीपबाट बेलायती खेलाडी विश्व नं. १ र २ ल्युक डोनाल्ड तथा ली वेष्टवुड दोस्रो चरणपछि बाहिरीएका छन् । साथै गत वर्षयुएस ओपन च्याम्पियन उत्तरी आयरल्याण्डका गे्रम म्याक्डोवेलले पनि निर्धारीत 'कट' सीमा भन्दा कमजोर प्रदर्शन गरेकाले तेस्रो दिन खेल्न पाएनन् । दोस्रो दिनको खेलमा ३ पारको छैठौं होलमा होल-इन-वान गरेर इतिहास रचेका अमेरिकी खेलाडी टम वाट्सनले तेस्रो दिन १८ होल खेलिसक्दा ४ ओभर २१४ को स्कोर पुर्याएका थिए । शनिवार तेस्रो दिनको खेल भइरहँदा नेपाली समय राती ९:५० बजे कुल ४ अण्डरको स्कोरसहित उत्तरी आयरल्याण्डका डारेन क्लार्क र अमेरिकाका डष्टिन जोन्सन प्रथम स्थानमा थिए । तबसम्म क्लार्कले ८ र जोन्सनले १२ होल खेलिसकेका थिए । उच्चस्थानमा रहेका अन्य खेलाडीहरूभन्दा डेनमार्कका थमस ब्योर्न (३ अण्डर, ९ होल) र अमेरिकाका लुकास ग्लोभर (३ अण्डर ९ होल) थिए । एजेन्सी
ऋण सीमाबारे अमेरिकी काङ्ग्रेसमा बहस, ओबामा जनतामाझ
असार ३२, वाशिङ्टन (अमेरिका) । अमेरिकी काङ्ग्रेसमा ऋण सीमा बढाउने विषयमा छलफल तीव्र भएको छ । बजेट घाटा र ऋण सीमाबारे अगष्ट २ सम्म कुनै ठोस निष्कर्ष ननिस्किए अमेरिकी सरकार टाट पल्टने चिन्तामाझ बहस बढ्दै गइरहेको हो । काङ्ग्रेसमा भइरहेको बहसका कारण राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेको बजेट घाटा ४० खर्ब डलरले कम गर्ने योजना कमजोर भइरहेको बताइन्छ । काङ्ग्रेसको माथिल्लो सदन 'हाउस अफ रिप्रिजेण्टेटिभ्स' का सांसदहरूले अर्को हप्ता हुन लागेको यसबारेको मतदान अबरुद्ध पार्ने चेतावनी दिएका छन् । तल्लो सदन 'सिनेट'मा चाहिँ डेमोक्रयाट र रिपब्लिकनहरू ऋण सीमा बढाउने सरकारी योजनामा द्विपक्षीय सहमति हुनुपर्ने पक्षमा देखिएका छन् । सिनेटमा भइरहेका छलफलहरूमा बजेट घाटा र ऋण सीमाको समयावधिमा सहमतिको प्रयास भइरहेको बुझिएको छ ।
यता, काङ्गे्रसमा भइरहेका विवाद र छलफलबाट कुनै निष्कर्ष नआउँदा राष्ट्रपति ओबामाले भने आफ्ना योजनाहरूको बचाउ गर्दै काङ्ग्रेसले अमेरिकी जनताको इच्छाहरूलाई प्रतिबिम्बित गर्नुपर्ने बताएका छन् । शुक्रवार ⋲वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओबामाले यो अमेरिकी जनताले सही हो या होइन भनेर जान्नुपर्ने विषयभन्दा पनि कांग्रेशले जनताको इच्छाहरूलाई प्रतिबिम्बित गर्दै सही निर्णयगर्नु पर्ने विषय भएको बताए । सम्मेलनमा ओबामाले अमेरिकी जनताले सरकारका योजनाहरूको समर्थन गरेको दाबी गरेका थिए ।
एपी/रासस
Admin 2011-07-17