दक्षिण एशियाको समृद्धिसँगै महिला मुद्दा ओझेलमा
असार १, नयाँ दिल्ली (भारत) । दक्षिण एशियाले निकै प्रभावशाली महिला नेत्रीहरू जन्माएको छ । त्यसैगरी मातृत्व र देवीप्रति उक्त क्षेत्रले देखाउने श्रद्धा संसारभरि प्रसिद्ध छ । तर, त्यही दक्षिण एशियामा नै धेरै महिलाले अमानवीय हिंसाका साथै थुप्रै आधारभूत अधिकारविना बाँच्नुपरेको छ । अफ्गानिस्तान, पाकिस्तान र भारत महिलाका लागि विश्वमै पाँच सबैभन्दा खतरनाक देश रहेको एउटा सर्वेक्षणले देखाएको छ ।अफ्गानिस्तानमा जस्तो जबर्जस्ती बिहे, पाकिस्तानमा जस्तो 'इज्जतका लागि हत्या’, भारतमा जस्तो भू्रणहत्या वा नेपालको जस्तो बेचनबिखन उक्तिकै रूपमा विकसित भएका छन् । यस्तो अवस्थामा दक्षिण एशियाली महिलाहरूले असङ्ख्य प्रताडना भोग्नुपरेको छ । तर, बढ्दो चेतना, परिष्कृत कानूनको निर्माणका साथै आर्थिक सशक्तीकरणले विस्तारै परिवर्तन पनि ल्याइरहेको छ ।
घरेलु हिंसा, यौन आक्रमणदेखि थुप्रै अन्य नदेखिने खालका सामाजिक त्रासदीबाट दक्षिण एशियाली महिलाहरू गुज्रिनुपरेको ह्युमन राइट्स वाचकी मिनाक्षी गाङ्गुलीको मूल्याङ्कन छ । सामन्तवादी र पितृसत्तात्मक परम्परामा छोराले नै अंश खाने र बुढेसकालको सहारा हुने भएकाले त्यस्तो प्रवृत्ति अझै पनि कायमै रहेको गाङ्गुलीले बताइन् ।संयुक्त राष्ट्रसङ्घीय महिला मामिला निकाय यूएन विमिनका अनुसार, दक्षिण एशियामा प्रत्येक तीन मिनेटमा एउटा महिलामाथि हिंसा हुने गर्दछ । त्यसैगरी, बाहिर देखिने गरेका कतिपय हिंसाहरू वास्तविक समस्याको टुप्पोमात्र भएको विशेषज्ञहरूको भनाइ छ ।महिलाका लागि हिंसामात्र समस्या होइन, आफ्नो जीवनबारे आफैले निर्णयलिन पनि नसक्ने अवस्थामा महिलाहरू देखिन्छन् । त्यसका साथै, आर्थिक, जग्गाजमीन, अंशअधिकार, शिक्षा, रोजगार, न्याय, स्वास्थ्यसेवा, पोषणलगायत स्रोतमाथिको पहुँचमा पनि व्यापक भेदभाव रहेको छ । एजेन्सी
भारतमा ७ सय मेगावाट सौर्यऊर्जा उत्पादनको लक्ष्य
असार १, नयाँ दिल्ली (भारत) । भारतले सन् २०११ को डिसेम्बरसम्ममा २ अर्ब २० करोड डलरको लगानी गर्दै ७ सय मेगावाट सौर्यऊर्जा उत्पादन गर्ने भएको छ । हालको झण्डै शून्य अवस्थाबाट २०२२ सम्ममा २० गिगावाटसम्मको सौर्यऊर्जा उत्पादन गर्ने भारतको महत्त्वाकाङ्क्षी लक्ष्य रहेको छ । २० गिगावाटको सौर्यऊर्जा परियोजनाका लागि कुल ७० अर्ब डलरको लगानी आकर्षित हुने सरकारको योजना छ । योजनाअन्तर्गत २०१३ सम्ममा १ हजार ३ सय मेगावाट, २०१७ सम्ममा १० गिगावाट, र २०२२ सम्ममा कुल २० गिगावाट क्षमताको सौर्यऊर्जा केन्द्र निर्माण हुनेछ । सोलार मिशन भनिने उक्त परियोजनाअन्तर्गत सरकारले तोकेको महशुल दर स्वीकार गर्ने लगानीकर्ताले सौर्यऊर्जा केन्द्र निर्माणको स्वीकृति पाउँछन् । लगानीकर्ताहरूबाट ठुलो सङ्ख्यामा प्रस्ताव आएकाले सरकारले डिसेम्बरमै पहिलो शृङ्खलाको परियोजना शुरू गर्ने भएको छ । जर्मनी, स्पेन, इटाली, जापान र अमेरिका सौर्यऊर्जा क्षेत्रमा विश्वमै अग्रणी रहेका छन् । एजेन्सी
Admin 2011-06-16