शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पाकिस्तानमा पनि भ्रष्टाचारविरुद्ध भोकहडताल
भदौ १, इस्लामाबाद (पाकिस्तान) । भारतका वयोवृद्ध अभियन्ता अन्ना हजारेले जस्तै पाकिस्तानका एक राजनीतिक अभियन्ताले पनि भ्रष्टाचार र उच्च सैन्य खर्चविरुद्ध प्रदर्शन गर्ने भएका छन् । इस्लामाबादका व्यापारी जहागीर अख्तरले यसअघि पनि खराब सरकारीतन्त्रको विरोध गर्दै भोकहडताल गरेका थिए ।  

पाकिस्तानको संसद्मा भ्रष्टाचारविरोधी विधेयक ल्याउन र पाकिस्तानले सेनालाई दिँदै आएको बजेट कटौतीको माग गर्दै आफूले अभियान चलाउने अख्तरले बताए । तर, हजारेको विरोध प्रदर्शनलाई आफूले समर्थन गरे तापनि गान्धीवादी हजारे आफ्नो प्रेरणा नरहेको अख्तरको दाबी छ ।
 
'मैले अन्ना हजारेभन्दा पहिले नै भोकहडताल शुरू गरेको थिएँ,’ अख्तरले दाबी गरे । तर, पाकिस्तानमा रमादान चाडका बेला पानी पिउन नमिल्ने भएकाले हडताल स्थगित गर्नुपरेको उनको भनाइ छ । त्यसैले आगामी सेप्टेम्बर १२ देखि फेरि हडताल थाल्ने अख्तरको योजना छ ।

सरकारी बजेटको एक चौथाइ हिस्सासम्म सैन्य खर्चमा प्रयोग हुने तर स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा २ प्रतिशतभन्दा पनि कम खर्च गरिनेतर्फ अख्तरले औंल्याएका छन् । एजेन्सी

लेनोभोको नाफा दोब्बर
भदौ १, हङकङ (चीन) । विश्वको तेस्रो ठूलो कम्प्युटर उत्पादक चिनियाँ कम्पनी लेनोभोको दोस्रो त्रैमासिक आम्दानी दुई गुणाले बढेको छ । बिहीवार प्रकाशित दोस्रो त्रैमासिक प्रतिवेदनले सन् २०११ को अप्रिल-जुन अवधिमा कम्पनीको खुद मुनाफा ९८ प्रतिशतले बढेर १० करोड ८० लाख अमेरिकी डलर भएको देखाएको छ । प्रतिवेदनमा विक्रीतर्फअघिल्लो वर्षको यही अवधिभन्दा १५ प्रतिशतले वृद्धि भई कुल आम्दानी ५ दशमलव ९ अर्ब अमेरिकी डलर पुगेको उल्लेख छ ।

कम्पनीले उत्तरी अमेरिका, अफ्रीका र ल्याटिन अमेरिकातर्फको निर्यात अघिल्लो वर्षभन्दा क्रमश: ३० दशमलव ८ प्रतिशत र ४५ दशमलव ७ प्रतिशतले बढेको बताएको छ । त्यसैगरी जापानतर्फो निर्यातमा १४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चीनमा कम्पनीका उत्पादनका विक्री २३ दशमलव ४ प्रतिशतले बढेको बताइएको छ । दोस्रो त्रैमासमा यूरोप र अमेरिकी बजारमा भएको विक्रीबाट ७ करोड ७० लाख मुनाफा भएको कम्पनीले जानकारी दिएको छ । गतवर्षको यही अवधिमा भने लेनोभोले ९० लाख अमेरिकी डलर घाटा बेहोरेको थियो । एपी/रासस

मोर्गन स्टान्लीद्वारा वृद्धि पूर्वानुमान कटौती
भदौ १ । मोर्गन स्टान्लीले विश्व अर्थतन्त्र खतरनाक रूपले मन्दी नजिक पुगिसकेको बताउँदै २०११ र २०१२ को वृद्धि पूर्वानुमानलाई घटाएको छ । अमेरिका र यूरोपमा हालैको नीतिगत त्रुटि र २०१२ मा वित्तीय कडाइको सम्भावनाका कारण त्यस्तो अवस्था आएको उसको भनाइ छ । यसअनुसार २०११ का लागि विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन वृद्धिको पूर्वानुमानलाई ४ दशमलव २ बाट ३ दशमलव ९ प्रतिशतमा झारिएको छ ।

त्यसैगरी, २०१२ का लागि त्यस्तो तथ्याङ्क ४ दशमलव ५ बाट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । विकसित बजारको पुनर्बहाली पहिले सोचिएभन्दा पनि झनै अप्ठयारो, अपेक्षाभन्दा मुनि र कमजोर रहेको मोर्गन स्टान्लीले आफ्ना ग्राहकलाई जारी गरेको सूचनामा भनेको छ । साथै, त्यस्तो अप्ठयारोबाट उदीयमान बजारसमेत अछूतो नरहेकोतर्फ पनि उसले औंल्याएको छ । त्यसैगरी, विकसित बजारका अर्थतन्त्रहरूमा यस वर्षर आगामी वर्षवृद्धि औसत १ दशमलव ५ प्रतिशतको मात्र रहने बताइएको छ । एजेन्सी

एस एण्ड पीको घरजग्गा कारोबारबारे छानबिन हुँदै
भदौ १, वाशिङटन (अमेरिका) । अमेरिकी कानून मन्त्रालयले क्रेडिट रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पुअर्स (एस एण्ड पी)ले गरेका घरजग्गा कारोबारबारे छानबिन शुरू गरेको छ । 'द न्यूयोर्क टाइम्स' दैनिकले बिहीवार दिएको समाचारअनुसार मन्त्रालयले आर्थिक मन्दी शुरू हुनुअघि एस एण्ड पीले घरजग्गा कारोबारका बीमाहरूमा अनियमितता गरेको हुन सक्ने आशङ्कामा छानबिन गरिरहेको उल्लेख छ । एक स्रोतलाई उद्धृत गर्दै दिइएको समाचारमा घरजग्गा ऋणपत्रहरूको रेटिङ घटाउन चालेका कदम एस एण्ड पीका व्यापार प्रबन्धकहरूले रद्द गरिदिएको हुन सक्ने भन्ने विषयबारे छानबिन भइरहेको बताइएको छ । एस एण्ड पीले गत अगष्ट ५ मा अमेरिकाको क्रेडिट रेटिङ घटाउनेसम्बन्धी लिएको निर्णयन्दा अघि नै छानबिन शुरू गरिएको पनि समाचारमा उल्लेख छ ।

त्यसैगरी, अमेरिकी अर्थ मन्त्रालयले पनि क्रेडिट रेटिङसम्बन्धी एस एण्ड पीका नीतिको पुनरवलोकन गरिरहेको समाचारमा बताइएको छ । द न्यूयोर्क टाइम्स दैनिकले अमेरिकी कङ्ग्रेसले क्रेडिट रेटिङमा सुधार ल्याउन संसदीय सुनुवाइ गर्न सक्ने पनि समाचारमा उल्लेख गरेको छ । सन् २०११ अगष्ट ५ मा अमेरिकाको 'ट्रिपल ए' रेटिङ 'डबल ए प्लस'मा झारेपछि अमेरिकी सरकार र एस एण्ड पीको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । एजेन्सी

बेरोजगारी र महँगीले तेलको मूल्य ओर्लियो
भदौ १, न्यूयोर्क (अमेरिका) । उपभोक्ता खर्च घटेपछि तेलको मूल्य बिहीवार तीव्र ओरालो लागेको छ । सेप्टेम्बरमा डेलिभरी हुने वेष्ट टेक्सस इण्टरमिडिएट क्रुडको मूल्य न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा ४ प्रतिशतभन्दा बढीले ओर्लेर प्रतिब्यारेल ८३ दशमलव ८३ डलर पुगेको छ ।

त्यसैगरी, थुप्रै अन्तरराष्ट्रिय प्रकारका तेलको मूल्य मापनका लागि प्रयोग गरिने ब्रेण्ट क्रुडको मूल्य लण्डनको आईसीई फ्युचर्समा २ दशमलव १३ डलरले ओर्लेर प्रतिब्यारेल १ सय ८ दशमलव ४७ डलर पुगेको छ ।

गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरूको सङ्ख्या बढनुका साथै गत महीना उपभोक्ता मूल्यसमेत बढेकाले तेलको मूल्य झरेको बताइएको छ । एपी/रासस

मेक्सिको खाडीमा नयाँ तेल भण्डार
भदौ १, लण्डन (बेलायत) । बेलायती तेल कम्पनी 'ब्रिटिश पेट्रोलियम' (बीपी)ले उत्तरी अमेरिकाको 'मेक्सिको खाडी'मा नयाँ तेल भण्डार भेटिएको बताएको छ । बीपीका प्रवक्ता डारेन ब्युडोले कम्पनीले गत हप्ताभरि लगाएर गरेको खोजमा उक्त भण्डार भेटिएको जानकारी दिएका छन् । उनले गत हप्ता तेल भण्डार भएको आशङ्कामा रिमोट सञ्चालित साना मानवरहित पनडुब्बीहरू उक्त क्षेत्रमा पठाएपछि तेल भण्डार रहेको पुष्टि भएको बताए ।

तेल भण्डार भेटिएको 'मेक्सिको खाडी'को उक्त क्षेत्र पहिले नै अन्वेषण गरी छोडिएको 'ग्रीन क्यान्यन ब्लक' नामक क्षेत्रनजिक रहेको उनले बताएका छन् । तर, उक्त तेल भण्डार ठयाक्कै कुन ठाउँमा भेटिएको हो भन्न भने उनले अस्वीकार गरे । अमेरिकी ऊर्जा मन्त्रालयले प्रकाशित गरेको अनलाइन नक्सामा भने 'ग्रीन क्यान्यन ब्लक' सन् २०१० मा बीपीले सञ्चालन गरेको दुर्घटनाग्रस्त म्याकोण्डो तेल कुवानजिक रहेको देखाइएको छ । सन् २०११ मा 'यूएस ब्यूरो अफ ओशन इनर्जी म्यानेजमेण्ट'ले प्रकाशित गरेको त्रैमासिक बुलेटिनमा 'ग्रीन क्यान्यन ब्लक' क्षेत्रमा तेल निकाल्न र अन्वेषण गर्न ८० ओटा ठेक्का दिइएको उल्लेख छ । बुलेटिनमा बीपी, सेभ्रन, शेल, अनाडार्को पेट्रोलियमलगायत अन्य कम्पनीले ठेक्का पाएको बताइएको छ । संयुक्त राज्य अमेरिका र क्युबाको बीचमा रहेको 'मेक्सिको खाडी' विश्वको सबैभन्दा धेरै तेल भण्डार रहेको क्षेत्र हो । एपी/रासस

चीनमा ४ अर्ब डलर लगानी गर्दै कोकाकोला
भदौ १, बेइजिङ (चीन) । विश्वको सबैभन्दा ठूलो हलुका पेयपदार्थ कम्पनी कोकाकोलाले चीनमा ४ अर्ब अमेरिकी डलर थप लगानी गर्ने बताएको छ । कम्पनीका कार्यकारी प्रमुख मुह्तार केण्टले बिहीवार जारी गरेको एक प्रेस विज्ञप्तिमा उक्त लगानी सन् २०१२ देखि शुरू गरिने उल्लेख छ ।

विज्ञप्तिमा लगानीको सो योजना ३ वर्षसम्म जारी रहने बताइएको छ । यसबाट सन् २००९ देखि सन् २०१४ सम्म कम्पनीको चीनमा लगानी ७ अर्ब अमेरिकी डलर पुग्ने पनि  विज्ञप्तिमा उल्लेख छ । चीन आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजार रहेको केण्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
 एपी/रासस

Admin 2011-08-19