शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनमा विदेशी लगानीमाथि छानबिन

फागुन १, बेइजिङ (चीन) । चीनले 'राष्ट्रिय सुरक्षा’का कारण विदेशी कम्पनीहरूको प्रस्तावित विलय र अध्रि्रहणमाथि जाँचबुझ गर्ने भएको छ । त्यसबाट चीनका कम्पनीहरूसँग गरिने व्यापारिक सम्झौता प्रक्रिया झनै जटिल हुने आशङ्का उत्पन्न भएको छ ।चीनको राज्यपरिषद्ले कतिपय क्षेत्रमा गरिएको विदेशी लगानीको समीक्षा गर्ने बताएको छ । ती क्षेत्रमा राष्ट्रिय सुरक्षा, कृषि, ऊर्जा, पूर्वाधार, यातायात, प्रविधि र उपकरण म्यानुफयाक्चरिङ छन् । चीनको राष्ट्रिय विकास र सुधार आयोगको नेतृत्वमा त्यस्तो समीक्षा हुने शनिवार जारी गरिएको विज्ञप्तिमा राज्यपरिषद्ले बताएको छ । त्यसअन्तर्गत विदेशी लगानीले चीनको आर्थिक स्थायित्व, सामाजिक व्यवस्था र देशको सुरक्षासँग सम्बन्धित अनुसन्धानमा पार्ने प्रभावको निरीक्षण गरिनेछ । चीनले २००८ मा एकाधिकारवाद विरोधी कानून लागू गरेको थियो ।

विदेशी कम्पनीहरूबाट राष्ट्रिय सुरक्षा र चिनियाँ उद्योगको संरक्षणमा पार्ने प्रभाव समीक्षा गर्न उक्त कानूनले अधिकार दिएको छ । सो कानून पारित हुनुभन्दा पहिले बहुराष्ट्रिय कम्पनीहरूमाथि कमै निरीक्षण गरिन्थ्यो । कम्पनीहरू विलय गर्दा विदेशी कम्पनीहरूले केही सीमित प्रावधान पूरा गरे हुन्थ्यो । अन्य कतिपय देशहरूले पनि राष्ट्रिय सुरक्षाको कारण देखाएर चिनियाँ कम्पनीहरूलाई व्यापारिक सम्झौताबाट वञ्चित गरेका छन् ।चीनको राज्यनियन्त्रित तेल समूह सीएनओओसीले २००५ मा अमेरिकी कम्पनी युनोक्याल खरीदका लागि  १८ अर्ब ५० करोड डलरको बोलपत्र प्रस्ताव गरेको थियो । तर, 'वासिङटनमा भएको तीव्र राजनीतिक विरोध’का कारण उक्त प्रस्ताव फिर्ता लिन चीन बाध्य भएको थियो । त्यसैगरी २००९ मा चिनियाँ कम्पनी हुइयुआन जुस ग्रूप खरीद गर्ने कोकाकोलाको प्रस्तावलाई चीनले अस्वीकार गरिदिएको थियो । एएफपी/रासस

रिलायन्स समूहका अधिकारी शङ्काको घेरामा

फागुन १, नयाँ दिल्ली (भारत) । भारतको रिलायन्स समूहले उसका थुप्रै अधिकारीसँग  प्रहरीले 'सोधपुछ’ गरेको शनिवार बताएको छ । सन् २००८ मा भएको मोबाइल फोन अनुमतिपत्र काण्डमा उनीहरूको संलग्ना रहेको आशङ्कामा छानबिन गरिएको हो । त्यसबाट उक्त काण्डबारेको सरकारी छानबिन गहिरिँदै गएको देखिएको छ । दोस्रो पुस्ताको अर्थात् टुजी मोबाइलको अनुमतिपत्र अति न्यून मूल्यमा बेचिएको सो काण्ड भारतको हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मानिएको छ ।भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले रिलायन्स एडीए ग्रूपका केही अधिकारीलाई सोधपुछ गरेको सो कम्पनीका प्रवक्ताले बताएका छन् । भारतीय अर्बपति अनिल अम्बानी रिलायन्स एडीए ग्रूपको अध्यक्ष हुन् । फोर्ब्स पत्रिकाको २०१० को भारतीय अर्बपतिको सूचीमा अनिल छैटौं स्थानमा रहेका छन् । अम्बानीको सम्पत्ति १३ अर्ब ३० करोड डलर मापन गरिएको छ । भारतको दोस्रो ठूलो मोबाइल कम्पनी रिलायन्स कम्युनिकेशनलगायतका कम्पनीहरू उनको नियन्त्रणमा छन्  ।हालै भारतका राष्ट्रिय लेखापरीक्षकले मोबाइल अनुमतिपत्र र स्पेक्ट्रम वितरणबाट सरकारलाई ४० अर्ब डलर घाटा भएको जानकारी दिएको थियो । त्यसपछि तत्कालीन दूरसञ्चारमन्त्री ए राजाका साथै थुप्रै कम्पनी र व्यक्तिहरूमाथि सीबीआईले छानबिन गरिरहेको छ ।            एएफपी/रासस

म्यानमारको सञ्चारमाध्यममा 'शक्ति संघर्ष ’

फागुन १, याङ्गुन (म्यानमार) । विदेशी लगानी रहेको म्यानमारको एकमात्र समाचारपत्रका प्रमुख रोस डन्कले याङ्गोनमा पक्राउ परेका छन् ।  हालै उक्त समाचारपत्रमा शक्ति संघर्षका समाचार आइरहँदा अष्ट्रेलियाली नागरिक डन्कले पक्राउ परेका हुन् । म्यानमार टाइम्सको पितृ कम्पनी म्यानमार कन्सोडिलेटेड मिडिया (एमसीएम)को डन्कले सहसंस्थापक हुन् ।सन् २००० मा स्थापना गरिएको म्यानमार टाइम्स साप्ताहिक रूपमा अङ्गे्रजी र सरकारी भाषा बर्मेलीमा प्रकाशन हुन्छ । थाइल्याण्डबाट विमानमा म्यानमार आइपुगेपछि उनलाई पक्राउ गरिएको म्यानमारका एक अधिकृतले बताएका छन् । तर, उनलाई पक्राउ गरिनुको कारण उनको कम्पनीसँग सम्बन्धित नरहेको उक्त स्रोतले बताएको छ ।

प्रवासमा रहेको बर्मेली समाचार वेबसाइटले एमसीएममा 'शक्ति संघर्ष’ भइरहेको बारे समाचार सम्प्रेषण गरेको थियो । एमसीएमको ४९ प्रतिशत हिस्सा डन्कलेको स्वामित्वमा छ । त्यसैगरी टाइम्सको ५१ प्रतिशत हिस्सामा म्यानमारका स्थानीय सञ्चार उद्यमी टीन टुन ओको स्वामित्व छ । ओको टाइम्सको प्रमुख सम्पादक हुने चाहनालाई डन्कलेले विरोध गरेको समाचार आएको थियो । म्यानमारको सैनिक सत्तासँग ओको नजिकको सम्बन्ध रहेको छ । हालै राज्यनियन्त्रित समाचारपत्र मिररले ओलाई टाइम्सको प्रमुख सम्पादक भनेर सम्बोधन गरेको थियो । त्यसपछि म्यानमार टाइम्समा हल्लीखल्ली मच्चिएको इरावादीले बताएको छ । एएफपी/रासस

भारतमा 'उड्ने कार’ निर्माण

फागुन १, बैङ्गलोर (भारत) । भारतका सडकमा दैनिक देखिने अस्तव्यस्तताको समाधानका लागि विभिन्न उपाय खोजिएको छ । बैङ्गलोरमा भइरहेको हवाई प्रदर्शनीमा ठूला विमानहरूसँगै राखिएको एउटा मारूती कारले पनि ध्यानाकर्षण गरेको थियो । कारको छतको चारै कुनामा हेलिकोप्टरको जस्तै चारओटा पङ्खा (रोटर ब्लेड) राखिएका छन् । साथै कारको चक्का नजिकै भ्याकुम प्रणाली पनि जडान गरिएको छ ।  सो कार सडकमा ट्राफिक जाम भएका बेला हेलिकोप्टर जस्तै सडकबाट ठाडै माथितिर उड्न सक्ने निर्माताहरूले दाबी गरेका छन् । जापानको सुजुकीले १९८० कै दशकमा मारूती कार बनाएको थियो । मारूती८०० भारतको पहिलो सानो आकारको कार थियो, जसले त्यहाँको सवारीसाधन जगत्मा नै अभूतपूर्व परिवर्तन ल्याइदिएको थियो ।  

त्यसैगरी हालको 'उड्ने मारूती’बाट पनि मानिसहरूको कार यात्रालाई हेर्ने दृष्टिकोण नै फेरिने एके विश्वनाथले अपेक्षा राखेका छन् । विश्वनाथले १६ वर्षसम्म परिश्रम गरेर हालको उड्ने मोडल विकास गरेका हुन् । 'गाडी सम्बन्धित २५ लाखओटा आकार र वस्तुको अध्ययन र जटिल सिद्धान्तहरूको अध्ययनपछि मैले यो प्रविधिको विकास गरेको छु । यो प्रविधिबाट मैले बनाएको कार ठाडै माथितिर उड्न सक्छ,’ विश्वनाथले भने । उक्त कारले सडकमा ट्राफिक जाम भएका बेला ठाडै माथितिर उडेर गाडीहरूको भीडलाई छिचोल्ने अपेक्षा गरिएको छ । विश्वनाथको आफ्नै कम्पनी बिलोरिअनले उक्त कारको  विकास गरेको हो । बैङ्गलोर र डेलोरियन भन्ने स्पोर्ट्स कारको नाम संयोजन गरेर बिलोरियन शब्द बनाइएको हो । विश्वनाथ बैङ्गलोरका स्थानीय बासिन्दा हुन् । एएफपी/रासस

Admin 2011-02-14