शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अष्ट्रेलियाद्वार बङ्गलादेशलाई दिने सहायतामा वृद्धि

जेठ १, ढाका (बङ्गलादेश) । अष्ट्रेलियाले यस वर्षबङ्गलादेशलाई ९ करोड २० लाख अष्ट्रेलियाली डलर विकास सहायता दिने भएको छ । २०१२ को जुनमा सकिने आर्थिक वर्षका लागि दिइने उक्त सहायता गतवर्षको भन्दा २ करोड २० लाख अष्ट्रेलियाली डलर बढी हुनेछ । अष्ट्रेलिया सरकारले गत हप्ता जारी गरेको २०११/१२ को राष्ट्रिय बजेटका बेला उक्त घोषणा गरेको थियो ।

बङ्गलादेशको गरीबी निवारण र दिगो विकासका लागि अष्ट्रेलिया प्रतिबद्ध रहेको ढाकास्थित अष्ट्रेलियाली उच्च आयुक्त जष्टिन लीले बताए । '२००६/०७ पछि अष्ट्रेलियाले बङ्गलादेशलाई दिँदै आएको सहायतामा तेब्बरले वृद्धि भइसकेको छ,’ लीले भने । बङ्गलादेशको स्वास्थ्य सेवा, प्राथमिक शिक्षा, गरीबी निवारण र जलवायु परिवर्तनबाट उत्पन्न प्राकृतिक प्रकोप न्यूनीकरणको क्षेत्रमा अष्ट्रेलियाली सहायता केन्द्रित रहनेछ । बङ्गलादेशका १५ करोड जनसङ्ख्यामध्ये ३८ प्रतिशत चरम गरीबी अर्थात् दैनिक १ डलरभन्दा पनि कमले जीवन निर्वाह गर्छन् । संयुक्त राष्ट्रसङ्घले २०१५ को अन्त्यसम्ममा गरीबी आधाले घटाउने लक्ष्य राखेको छ ।             एजेन्सी

आईएमएफ प्रमुख कान यौन दुर्व्यवहार आरोपमा पक्राउ

जेठ  १, न्यूयोर्क/पेरिस । अन्तरराष्ट्रिय मुद्राकोषका प्रमुख डोमिनिक स्ट्रस कानलाई आइतवार  यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको छ । फ्रान्सको आगामी राष्ट्रपतिका उम्मेदवार समेत रहेका कानमाथि न्यूयोर्कको एक होटेलकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ । ६२ वर्षीय कानले २००७ देखि २००९ को वित्तीय सङ्कट र हालैको यूरोपेली ऋणसङ्कट समाधानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्राप्त पछिल्लो समाचारअनुसार उनले आफू निर्दोष भएको बताएका छन् ।एयर फ्रान्सको विमानमार्फत अमेरिकाबाट पेरिसतर्फ जान थालेका कानलाई शनिवार जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । कानले अदालतसमक्ष आफू निर्दोष रहेको दाबी गर्ने उनका एक वकिल बेञ्जामिन ब्राफम्यानले बताए । पछिल्लो मत सर्वेक्षणअनुसार, २०१२ मा हुन गइरहेको फ्रान्सको राष्ट्रपति पदको निर्वाचनका लागि कान सबैभन्दा बलिया उम्मेदवार रहेका थिए । त्यसैले उनी पक्राउ परेको खबरपछि फ्रान्समा खैलाबैला मच्चिएको थियो ।

आईएमएफले त्यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाबारे आईएमएफको सञ्चालक समितिलाई हालसम्म औपचारिक जानकारी नआएको अधिकारीहरूले बताएका छन् । तर, उक्त घटनाबाट आईएमएफलाई निकै अप्ठेरो पर्ने विश्लेषकहरूले बताएका छन् । कानले यसअघि पनि यस्ता विवादको सामना गरेका छन् । २००८ को अक्टोबरमा उनले आईएमएफकै एक महिला अर्थशास्त्रीबारे आफ्नो बुझाइ त्रुटिपूर्ण रहेकोमा क्षमायाचना गरेका थिए । त्यतिखेर गरिएको छानबिनमा उनलाई दुर्व्यवहार र अख्तियार दुरुपयोगमा सफाइ दिइए तापनि भविष्यमा त्यस्ता गल्ती नगर्न सचेत गराइएको थियो ।तर, २००७/०९ को वित्तीय सङ्कट सुल्झाउन आईएमएफको प्रमुखका रूपमा उनको भूमिकालाई भने विश्वभरि नै प्रशंसा गरिएको थियो । वित्तीय सङ्कटबाट समस्यामा परेका देशले आपत्कालीन ऋण पाउन भन्ने उद्देश्यले आईएमएफको संरचनामा व्यापक परिवर्तन गरेका थिए ।

त्यसैगरी आइसल्याण्ड, हङ्गेरी, ग्रीस, आयरल्याण्ड र हालै पोर्चुगलको ऋणमोचन कार्यक्रमका लागि पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । त्यसका साथै, चीन, भारत, ब्राजिलजस्ता उदीयमान बजार अर्थतन्त्रहरूलाई आईएमएफमा अझ बढी पहुँच दिने विषयलाई पनि उनले सुपरिवेक्षण गरेका थिए । साथै, चीनलाई उनको मुद्रा बलिया बनाउनेतर्फप्रयास गर्न पनि कानले प्रोत्साहित गरेका छन् । आईएमएफको प्रमुख हुनुअघि कान फ्रान्सको अर्थमन्त्री पनि भइसकेका छन् । एजेन्सी

जर्मनीमा विद्युतीय कारधनीलाई विशेष सुविधा

जेठ १, बर्लिन (जर्मनी) । जर्मनीको सरकारले आगामी २ वर्षसम्ममा विद्युतीय कारको विकासमा १ अर्ब ४० करोड डलर अनुदान दिने भएको छ । जर्मनीका कार उद्योगलाई विद्युतीय कारको विकासका लागि प्रेरित गर्न सरकारले त्यस्तो अनुदान दिने भएको हो । नयाँ प्रविधिको क्षेत्रमा जर्मनी अगुवा हुनुपर्ने धारणा जर्मनीकी चान्सलर एञ्जेला मर्केलले आफ्नो साप्ताहिक सन्देशमा भनेकी छिन् । साथै, २०२० सम्ममा लाखौं विद्युतीय कार सडकमा गुडने मर्केलले अपेक्षा गरिन् ।

विद्युतीय कार धनीलाई कर मिनाहा गरिनुका साथै सडकमा विशेष द्रुत लेन र पार्किङमा पनि प्राथमिकता दिइनेछ । त्यसबारे पहिले सोचेको भन्दा पनि छिटो सरकारले निर्णयगर्ने एक सरकारी स्रोतले बताए । जर्मनीमा नै पहिलो मोटर कारको निर्माण भएको स्मरण गर्दै आफ्नो देशले विद्युतीय कारको क्षेत्रमा पनि अग्रता लिनुपर्ने मर्केलको अपेक्षा छ । मर्केलका अनुसार, २०३० सम्ममा जर्मनीका सडकमा ६० लाख विद्युतीय कार गुड्नेछन् । एएफपी/रासस

Admin 2011-05-16