सु कीको रिहाइले म्यान्मारलाई आर्थिक लाभ
मङ्सिर १, सिङ्गापुर । लोकतन्त्रकी प्रतिमूर्ति मानिएकी आङ साङ सु कीको रिहाइ म्यान्मारको सैनिक सरकारका लागि पनि आर्थिक रूपले फाइदाजनक हुन सक्नेछ, यद्यपि पश्चिमा राष्ट्रहरूले तत्काल व्यापारलगायत अन्य प्रतिबन्ध हटाइहाल्ने भने छैनन्, विश्लेषकहरूले बताएका छन् ।कच्चा पदार्थमा धनी राष्ट्र म्यानमारको सैनिक शासनले थाइल्याण्ड, चीन, भारत, सिङ्गापुर, र मलेशियालगायतका छिमेकी देशहरूसँग व्यापार र लगानीको सम्बन्ध बढाएर अमेरिका र यूरोपेली समुदायको दण्डात्मक प्रावधानहरूको प्रभावलाई वर्षौंदेखि छल्दै आएको छ ।सु कीको रिहाइ र धेरै वर्षछि यसै महीना गरिएको निर्वाचनले म्यानमारसँग व्यापार गर्नेहरूलाई लाग्न सक्ने अवगाल कम हुनेछ । यद्यपि सु कीको पार्टीले चुनाव बहिष्कार गरेको थियो भने बाँकी विश्वका अधिकांशले चुनावलाई एउटा छल मात्र हो भनेका थिए ।
'यो एउटा स्वागतयोग्य कदम हो । हामीलाई आशा छ यसले म्यानमारमा अझ बढी लगानी गर्न प्रोत्साहन गर्नेछ’, मलेशियाको व्यापार मन्त्रालयसँग सम्बन्धित एक उच्च अधिकृतले आफ्नो नाम खुलाउन अस्वीकार गर्दै भने । तर सैनिक शासकका विरोधीहरूले दरिद्र राष्ट्र म्यान्मारमा पैसाको प्रवाह बढ्दैमा सामान्य जनताका जीवनमा सुधार नआउने चिन्ता व्यक्त गरेका छन् । म्यान्मार विश्वको सबैभन्दा कम विकसित राष्ट्रमध्ये एक हो, जसको लगभग एक तिहाइ जनसङ्ख्या गरीबीको रेखामुनि जीवन बिताउँछन् भने सैनिक शासक र तिनका सहयोगीले व्यक्तिगत फाइदाका लागि त्यहाँ पाइने कच्चा पदार्थको प्रचुर स्रोत उपभोग गर्ने गरेका छन् । तेल, ग्यास, र अन्य प्राकृतिक स्रोतलगायत प्रचुर पर्यटकीय सम्भावना रहेको म्यानमारसँग सम्बन्ध बनाइराख्न एशियाली छिमेकीहरू चीन, भारत, र थाइल्याण्डले मानवअधिकार सम्बन्धी चिन्तालाई बेवास्ता गर्ने गरेका छन् ।
अझै पनि लगभग २ हजार २ सय जना राजनीतिक बन्दी रहेको म्यानमारप्रति लगाइएको पश्चिमा राष्ट्रहरूको प्रतिबन्ध हालैका घटनाक्रमकै कारण खुकुलो हुनेछ भनेर अहिल्यै भन्न नसकिने र त्यसमा सु कीको भूमिका महत्वपूर्ण रहने उक्त देशमा चासो राख्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्धका आलोचकहरू चाहिँ प्रतिबन्धले सैनिक शासनलाई खासै असर नगरेको बरू त्यसले सामान्य जनताका अभावहरूलाई झनै बढाइदिएको तर्क गर्ने गर्दछन् । एएफपी/रासस
जापान एयरका पूर्वहाकिमहरूमाथि कारबाही
मङ्सिर १, वासिङ्गटन (अमेरिका) । अमेरिकाको एक फेडरल जूरीले जापानी वायुसेवा कम्पनीहरूका तीन पूर्व हाकिमहरूलाई कार्गो ढुवानीको दर आपसी मिलोमतोमा तय गरेको अभियोग लगाएको छ । अमेरिकामा गरिएको एउटा अनुसन्धानको पछिल्लो विकासको रूपमा उक्त अभियोग आएको छ जसमा हालसम्म संसारका १९ वटा वायुसेवा र १७ जना कार्यकारी प्रमुखहरू परिसकेका छन् । जापान एयरलाइन्सको कार्गो शाखाका पूर्व प्रेजिडेण्ट टाकाओ फुकुची, निप्पन कार्गो एयरलाइन्सका वरिष्ठ कार्यकारी इप योशियो कुनुगी र नाओशिगे माकिनोलाई कार्गो ढुवानी दर निर्धारण गर्न मुख्य भूमिका खेलेको तथा प्रतिस्पर्धा हुन नदिन षड्यन्त्र गरेको अभियोग लागेको छ । दोषी प्रमाणित भएमा उनीहरूलाई १० वर्षसम्मको कारावास तथा कम्तीमा १० लाख डलर जरीवाना हुन सक्छ । ती दुवै वायुसेवाका अमेरिकामा थुप्रै शाखा कार्यालय छन् ।
यो मुद्दा १९९० को दशकको अन्त्य र २००० दशकको शुरूका वर्षमा भएका निर्णयमा केन्द्रित छ । यसै मुद्दामा आरोपित अन्य वायुसेवाहरूमा एयर फ्रान्स , अल निप्पन एयरवेज (एएनए), ब्रिटिश एयरवेज, क्याथे प्यासिफिक, ताइवानको चाइना एयरलाइन्स, नर्थवेस्ट एयरलाइन्स, क्वाण्टास एयरवेज, र एसएएस कार्गो एयरलाइन्सलगायतका प्रमुख वायुसेवाहरू रहेका छन् । यस मुद्दामा हालसम्म १ अर्ब ७० करोड डलरको जरीवाना गरिसकिएको छ भने चार जनालाई जेल चलान गरिसकिएको छ । अरू १३ जना विरुद्ध मुद्दा चल्दैछ । हवाई कार्गो ढुवानीकर्ताहरूले निर्धारित अन्तरराष्ट्रिय उडानहरूमा भारी उपकरण, उपभोग सामग्री, छिट्टै बिग्रन सक्ने वस्तुलगायतका अन्य कार्गो ढुवानी गर्दछन् । एएफपी/रासस
याहुमा टि्वटर र जिङ्गा पनि
कात्तिक ३०, सान फ्रान्सिस्को -अमेरिका) । बदलिदो अनलाइन विश्वमा आफ्नो सान्दर्भिकता जोगाइराख्न याहूले मंगलवार सूक्ष्मब्लगिङमा तहल्का मचाएको ट्वीटर र अनलाइन सामाजिक गेमको हस्ती जिङ्गालाई समाविष्ट गरेको छ । याहूले एउटा नयाँ किसिमको सेवाको पनि परीक्षण गरिरहेको खुलासा गरेको छ जसले उसका वेवसाइट हेर्नेहरूलाई आफ्नो व्यक्तिगत रुचिका स्थानीयस्तरमा सस्तो खरीद गर्न पाउने वस्तु तथा सेवाका बारेमा पनि जानकारी दिनेछ । इडिमाका अनुसार याहूले दैनिक रुपमा आफ्ना वेवसाइटमा आउने अमेरिकाका १८ करोड मानिसलाई 'भर्चुअल कुपन’ दिलाउन सक्नेछ । उसले लोकप्रिय अनलाइन कुपन सेवादाता 'ग्रुप अन’ लगायत आफ्ना २० वटा सहयोगी संस्थाहरुसँग याहू अफर्सको परीक्षण गरिरहेको बताएको छ । उक्त सेवा अनलाइन सामाजिक संजालको बादशाह फेसबुकले नोवेम्बर ३ मा जारी गरेको 'डिल्स’ सँग मिल्दोजुल्दो छ । फेसबुकका अनुसार 'डिल्स’ सँगै राखिएका विज्ञापन सामग्रीहरुबाट उसले कुनै पैसा पाउँदैन । तर याहूका अनुसार उसको 'अर्फस’ प्रोग्रामबाट आएको आम्दानी आफ्ना सहयोगीहरु माझ बाड्ने बताएको छ । यसका साथै फार्मभिले र माफियावार जस्ता जिङ्गा गेम्स मनपराउनेहरुले यसै साता देखि उक्त गेमहरु याहूका वेबसाइटहहरुमा खेल्न सक्नेछन् । एपी रासस