'डाउ जोन्स'का कार्यकारी प्रमुखको राजीनामा
साउन १, न्यूयोर्क (अमेरिका) ।बेलायतको फोन ह्याकिङ प्रकरणका कारण सृजित विवादले उच्च ओहोदामा रहेकाहरूको राजीनामाको शृङ्खला बढ्दै गइरहेको छ । फोन ह्याकिङ प्रकरणले गर्दा आफ्नो पदबाट राजीनामा गर्नेहरूको शृङ्खलामा थपिएका छन्- अमेरिकाको महत्त्वपूर्ण शेयर सूचकाङ्क 'डाउ जोन्स इण्ड्रष्ट्रियल इण्डेक्स'का कार्यकारी प्रमुख लेस हिल्टन ।फोन ह्याकिङ प्रकरणमा हिल्टनको नाम मुछिएपछि उनले गत शुक्रवार पदबाट राजीनामा दिएका हुन् । हिल्टनले, विवादको केन्द्र मानिएको र अघिल्लो हप्ता बन्द भएको पत्रिका 'न्युज अफ द वर्ल्ड'को प्रकाशक 'न्युजकर्प'का कार्यकारी प्रमुखको पद १२ वर्ष सम्हालेका थिए । अष्ट्रेलियाली मिडिया मुगल रुपट मुडकको 'न्युजकर्प' कि कार्यकारी प्रमुख रेबेका ब्रुक्सको राजीनामापछि हिल्टनले राजीनामा दिएका हुन् ।
अमेरिकी गुप्तचर निकाय 'एफबीआई'ले सेप्टेम्बर ११ को आतङ्कवादी हमलाका पीडितहरूको फोन 'न्युज अफ द वर्ल्ड' पत्रिकाले ह्याक गरेको भन्ने आरोपहरूको छानबिन गरिरहँदा हिल्टनलाई राजीनामा दिन दबाब बढेको थियो । उनी सन् २००७ मा 'डाउ जोन्स'का कार्यकारी प्रमुख भएका थिए ।पदबाट राजीनामा दिएपछि उनले यो आफ्नो जीवनको सबैभन्दा दु:खद क्षण भएको भन्दै 'न्युज अफ द वर्ल्ड'का गतिविधिहरूप्रति ध्यान नदिएकोमा क्षमा मागेका छन् । उक्त पत्रिकाले बेलायती राजनितिज्ञ, सेल्रि्रेटीहरूका साथै हत्या गरिएकी एक बालिका र बम विस्फोटनमा मारिएका एक युवकको परिवारको फोन ह्याक गरेर सूचना चोरेको सार्वजनिक भएको थियो । ह्याकिङ प्रकरणमा सामेल भएको आरोपमा बेलायती प्रहरीले प्रधानमन्त्री डेभिड क्यामरुनका एक सहयोगी र उक्त पत्रिकाका केही पत्रकारहरूलाई गिरफ्तार गरेको छ ।प्रकरण लम्बिँदै जाँदा 'न्युजकर्प'को शेयर मूल्य यो हप्ता ७ प्रतिशतले घटेको छ । यसैबीच रुपट मुडकले आइतबार बेलायती पत्रिकाहरूमा विज्ञापन छपाएर माफी मागेका छन् । उनले आफूहरूले पाठ सिकेको बताउँदै गलत काम गर्नेहरूविरुद्धको छानबिनमा सहयोग गर्ने वचनबद्धता गरेका छन् ।
एएफपी/रासस
अलाबामाको 'जेफरसन काउण्टी' टाट पल्टने अवस्थामा
साउन १, साल्ट लेक सिटी (अमेरिका) । अमेरिकाको अलाबामा राज्यस्थित 'जेफरसन काउण्टी' टाट पल्टने अवस्थामा पुगेको छ । काउण्टीको ढल निकाससम्बन्धी ३ दशमलव २ अर्ब डलरको ऋणपत्र असफल भएपछि यस्तो अवस्था आएको अलाबामा राज्यका गभर्नर रोबट बेण्टलीले शनिवार एक कार्यक्रममा जानकारी दिएका हुन् । साल्ट लेक सिटीमा शनिवार आयोजित अमेरिकाका राज्यहरूका गभर्नरहरूको बैठकमा बोल्दै उनले काउण्टी टाट पल्टने सम्भावना अत्यन्त धेरै रहेको र टाट पल्टिसकेपछिको अवस्थामा अमेरिकी संवैधानिक व्यवस्थाअनुसार 'च्याप्टर नाइन म्युनिसिपल बैङ्करप्सी प्रोेटेक्शन'को प्रावधान प्रयोग हुने बताएका छन् । 'च्याप्टर नाइन म्युनिसिपल बैङ्करप्सी प्रोटेक्शन'को प्रावधानले टाट पल्टिएका स्थानीय निकायहरूलाई वित्तीय सुरक्षा प्रदान गर्ने गर्दछ । गभर्नर बेण्टलीले 'च्याप्टर नाइन'को प्रयोग अलोकप्रिय र महँगो विकल्प भए पनि काउण्टी र अलाबामा राज्यको भविष्य सुरक्षित गर्न अत्यावश्यक भएको जिकिर गरेका छन् । त्यस्तै ढल निकासको प्रयोग शुल्कमा १० प्रतिशतसम्मको वृद्धिले रकम जम्मा गर्न र ऋण तिर्न सहयोग पुग्ने पनि उनले बताएका छन् ।
अघिल्लो दशकको मध्यतिर ढल निकासको सुधार र पुनर्निमाण गर्न काउण्टीले जारी गरेको ऋणपत्रको ब्याजदर र लिलामी दरमा परिवर्तन भएपछि समस्या चुलिँदै गएको थियो । तर, 'च्याप्टर नाइन' प्रयोग भएको अवस्थामा भने त्यसबाट २० दशमलव ९ खर्ब डलरको अमेरिकी म्युनिसिपल ऋणपत्र बजारमा नकारात्मक असर पर्ने बताइएको छ । सन् २००७ मा आर्थिक मन्दी शुरू भएपछि क्यालिफोर्निया राज्यको भल्लेजो, पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग, न्यूयोर्क राज्यको नासाउ, रोड आइल्याण्ड राज्यको सेण्ट्रल फल्सलगायतका काउण्टी र शहर टाट पल्टिसकेका छन् । एजेन्सी
इरान र चीनबीच ४ अर्ब डलरको पूर्वाधार सम्झौता
साउन १, तेहरान (इरान) । इरान र चीनबीच पूर्वाधार विकासका लागि ४ अर्ब डलरको सम्झौताहरूमा हस्ताक्षर भएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबीचको व्यापार अभिवृद्धि गर्ने उद्देश्यले ती सम्झौताहरू गरिएका हुन् । चीनको एक प्रतिनिधिमण्डल कम्युनिष्ट पार्टीका वरिष्ठ कार्यकारी हे गुआक्याङको नेतृत्वमा इरान आएको बेला ती सम्झौता भएका हुन् । पानी, खानी, ऊर्जा र औद्योगिक क्षेत्रलगायतका क्षेत्रमा द्विपक्षीय सम्झौता भएका छन् ।५० करोड डलरको एउटा सम्झौताअनुसार, चीनले इरानलाई ६० ओटा ऊर्जा उत्पादन केन्द्र उपलब्ध गराउनेछ, जसलाई इरानका प्रमुख शहरमा स्थापना गरिनेछ । त्यसका साथै, इरानबाट आयात गरिने खनिज उत्पादनको आयातलाई बढाइने पनि चीनले आश्वासन दिएको छ । पछिल्ला वर्षहरूमा चीन र इरान प्रमुख व्यापारिक साझेदार बन्न पुगेका छन् । चीनले हाल इरानी कच्चा तेलको झण्डै २० प्रतिशत उत्पादन खरीद गर्छ । एपी/रासस
टाटाको नयाँ योजना : 'नानो' घर
साउन १, नयाँ दिल्ली (भारत) । विश्वकै सबैभन्दा सस्तो नानो कारपछि टाटाले 'नानो’ घरको योजना सार्वजनिक गरेको छ । 'फ्ल्याट प्याक हाउस' भनिने र सजिलै निर्माण गर्न सकिने त्यस्तो घरको लागत खर्च मात्र ७ सय डलर पर्न आउँछ । झण्डै २ सय १५ स्वायर फुट क्षेत्रफल भएको त्यस्तो घरका झयाल, ढोका र छत पहिले नै निर्माण गरिसकिएका हुन्छन् । त्यस्ता सुलभ घरका दुई-तीनओटा डिजाइन तयार गरिसकिएको र त्यसबारे प्रयोगकर्ताहरूसँग छलफल र सुझाव मागिएको उक्त परियोजनाका प्रमुख सुमितेश दासले बताए । आगामी ६ देखि ८ महस्नासम्ममा त्यस्ता सुलभ घरहरू बजारमा आउने दासको अपेक्षा छ । २० वर्षको आयु भएका त्यस्ता घरका भित्ता र भित्री भागमा नरिवलका फाइबर वा जुट प्रयोग गरिनेछन् । हाल उक्त घरको नमूना पश्चिम बङ्गाल राज्यमा परीक्षण गरिँदैछ । सामान्य रूपले निर्माण घरमा चाहेको खण्डमा बरण्डा र सोलर प्यानललगायतका अन्य सुविधा पनि थप्न सकिनेछ ।सर्वसाधारणका साथै सामूहिक आवास योजना बनाएका राज्य सरकारहरूलाई समेत त्यस्ता घर विक्री गर्ने टाटाको लक्ष्य छ । राज्य सरकारहरूले लाखौंको सङ्ख्यामा रहेका घरबारविहीन जनतालाई सामूहिक आवासको योजना बनाएका छन् । त्यसैले कसरी घरलाई अझ परिमार्जन गर्न सकिन्छ भन्नेबारे गाउँ पञ्चायतहरूसँग पनि छलफल गरिएको दासले बताए । एएफपी/रासस
कोपामा उरूग्वेद्वारा अर्जेण्टिना पराजित
साउन १ । अर्जेण्टिनालाई ट्राइबेकरमा ५-४ ले हराउँदै उरूग्वे कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । साण्टाफेमा भएको खेलमा थप समयपछि पनि दुवै पक्षबीच १-१ को बराबरी भएपछि खेल ट्राइबेकरमा गएको हो । ९० मिनेटको नियमित र ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैपक्षले एक अर्कालाई हराउन सकेका थिएनन् । पेनाल्टी शुट आउटमा अन्तत: अर्जेण्टिनालाई पराजित गरेपछि अब सेमी फाइनलमा उरूग्वेले पेरूसँगको भेट निश्चित गरेको छ । पेरू यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । एएफपी/रासस
ब्रिटिश ओपन गोल्फ डारेन क्लार्क उपाधि नजिक
साउन १, स्याण्डविच (बेलायत) । बेलायतको स्याण्डविचस्थित रोयल सेण्ट जर्ज गोल्फ लिङ्क्समा जारी ब्रिटिश ओपन च्याम्यिनशिपको चौथो चरणको खेलमा उत्तरी आयरल्याण्डका गोल्फर डारेन क्लार्कले तीन शटले अग्रता कायम गरेका छन् ।आइतवार चौथो चरणको खेल भइरहँदा नेपाली समयअनुसार राति १० बजेसम्म क्लार्क ७ अण्डर (१३ होल)को स्कोरसहित पहिलो स्थानमा रहेका छन् । त्यस्तै अमेरिकाका फिल मिकेल्सन ४ अण्डर (१३ होल) स्कोरसहित दोस्रो स्थानमा रहेका छन् भने डेनमार्कका थमस ब्योर्न र अमेरिकी खेलाडी डष्टिन जोन्सन दुवैजना ३ अण्डरको स्कोरसहित तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी अमेरिकाका रिकी फावलर २ अण्डरको स्कोर बनाएर पाँचौ स्थानमा रहेका छन् । एजेन्सी
Admin 2011-07-18