यूएस ओपन कङ्ग्रेसनलमा आरम्भ
असार २, बेथेस्दा (अमेरिका) । बिहीवार बिहानको सिमसिम पानीका बीच कङ्ग्रेसनल कण्ट्री क्लबमा १ सय ११औं यूएस ओपन गल्फ टुर्नामेण्टको शुभारम्भ भएको छ । कङ्ग्रेसनल गल्फ कोस विशेषगरी अमेरिकी संसद् काङ्ग्रेस र वाशिङटनका पदाधिकारीले खेल्ने गल्फ कोस हो । तर, यस वर्षभने कङ्ग्रेसनलले अमेरिकाको नेशनल च्याम्पियनशिपका खेलाडीहरूलाई पनि स्वागत गर्दै छ ।
दक्षिण कोरियाका दे ≈युन किमले पहिलो 'टी शट' हिर्काएर वर्षको दोस्रो र सबैभन्दा चुनौतीपूर्ण गल्फ प्रतियोगिताको शुभारम्भ गरे । डिफेण्डिङ च्याम्पियन ग्रेम म्याकडोवेललगायत विश्वका तीन शीर्षस्थ खेलाडी ल्युक डोनल्ड, ली वेष्टउड र मार्टिन केमर पनि बिहानीको टी शट समूहमा थिए । फिल मिकल्शन, डष्टन जन्सन र रोरी म्याकइर्लोय जस्ता लोकप्रिय तीन खेलाडी भने दिउँसोको टी शट समूहमा छन् । त्यसैगरी माष्र्टस च्याम्पियनहरू चार्ल स्वार्जेल, टे्रेभर इममेलम्यान र ज्याक जोन्सनको पनि अर्को समूह छ । घुँडाको चोटका कारण टाइगर उड्सले भने यसपालिको प्रतियोगितामा भाग लिएका छैनन् । त्यसकारण अहिलेको टुर्नामेण्ट कसले जित्छ भनेर अनुमान गर्न झनै गाह्रो छ । एपी/रासस
भारतमा मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर पुन: वृद्धि
असार २, नयाँ दिल्ली (भारत) । भारतमा जुन ४ सम्मको वर्षमा खाद्य मूल्य परिसूचक बढेर ८ दशमलव ९६ प्रतिशत र इन्धन मूल्य परिसूचक बढेर १२ दशमलव ८४ प्रतिशत पुगेको छ । २०१० को धेरैजसो समयमा दोहोरो अङ्कमा रहेको खाद्यवस्तु मूल्यवृद्धिदर केही घटे तापनि मे महीनामा खाद्यवस्तुको मूल्यवृद्धिदर ९ दशमलव शून्य ६ प्रतिशत रहेको थियो । मूल्यवृद्धि दर केन्द्रीय बैङ्कको लक्ष्यभन्दा निकै माथि रहेकाले रिजर्भ बैङ्क अफ इण्डियाले बिहीवार फेरि प्रमुख ब्याजदर २५ आधार अङ्कले बढाएको छ । चर्को मूल्यवृद्धि नियन्त्रणका लागि गरिने हालको ब्याजदर वृद्धि २०१० को मार्चपछि दशौंपटकको हो । यसैबीच दिगो मध्यकालीन आर्थिक वृद्धिका लागि अझ राम्रो मूल्य स्थिरता हुनुपर्नेमा भारतका अर्थमन्त्री प्रणव मुखर्जीले जोड दिएका छन् । लगातारको उच्च मूल्यवृद्धिले भारतको अर्थतन्त्रमा केही सुस्ती ल्याएको विश्लेषकहरूले बताएका छन् । एजेन्सी
Admin 2011-06-17