ओबामाद्वारा १५ खर्ब डलरको नयाँ कर प्रस्ताव
असोज २, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बजेटघाटा ३० खर्ब डलर घटाउने प्रस्ताव सोमवार गर्ने भएका छन् । तर, धनाढयहरूमाथि कर नलगाई स्वास्थ्य बीमा मेडिकेयरमा मात्र कटौती गर्ने मागको ओबामाले कडा प्रतिरोध गर्ने अधिकारीहरूले बताएका छन् । ओबामाद्वारा प्रस्तुत १५ खर्ब डलरको नयाँ कर आम्दानीबाट दीर्घकालीन बजेटघाटा घटाउने योजनाको विपक्षी रिपब्लिकनहरूबाट तीव्र विरोध आउने देखिन्छ । केही दिनअघि मात्रै पनि सभामुख जोन बोएन्हरले बजेटघाटा घटाउन नयाँ कर थप्ने नीतिको आलोचना गरेका थिए । ओबामामाथि आफ्नै दल डेमोक्रेटिक पार्टीबाट पनि रिपब्लिकनहरूविरूद्ध कडा रूपले प्रस्तुत हुन दबाब बढिरहेको छ । तर, अमेरिकी संसद् 'कङ्ग्रेस'बाट ओबामाको प्रस्ताव पारित हुने सम्भावना निकै कम छ । तैपनि प्रस्तावको लोकप्रियताका कारणले जनसमर्थन प्राप्त हुने ह्वाइट हाउसको विश्वास छ ।
अमेरिकी सदन कङ्ग्रेसले आगामी १० वर्षभित्र बजेटघाटा १५ खर्ब डलरसम्मले घटाउनुपर्ने सुझाव दिएको छ । ओबामाको प्रस्तावमा आगामी १० वर्षभित्र २० खर्ब डलरले बजेटघाटा कम गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि थप नयाँ कर लगाउनुका साथै अनिवार्य सुविधा कार्यक्रमबाट ५८ अर्ब डलर कटौती गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी, आगामी १० वर्षमा इराक र अफगानिस्तानबाट सेना फिर्ता गरेर १० खर्ब डलर जोगाउने ओबामा प्रशासनको अपेक्षा छ । अर्थतन्त्रलाई उत्प्रेरणा दिन तथा रोजगार सृजना गर्न कर कटौतीका साथै सार्वजनिक खर्च बढाउने ओबामाको अल्पकालीन योजना छ । हालको प्रस्तावले ओबामाको त्यस्तो अल्पकालीन योजनालाई टेवा दिने उनको प्रशासनले अपेक्षा गरेको छ ।
ओबामाद्वारा हाल प्रस्तावित नयाँ कर योजना बोएन्हरले जुलाईमा स्वीकृत गरेभन्दा झण्डै दोब्बर छ । त्यतिखेर ओबामासँगको वार्तामा बोएन्हरले ८ खर्ब डलरसम्मको मात्र त्यस्तो करमा विचार गर्न सकिने अडान लिएका थिए । एपी/रासस
कोण्टासको हडतालबाट ६ हजार यात्रु प्रभावित हुने आशङ्का
असोज २, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाली वायुसेवा कम्पनी कोण्टास एयरवेजमा मङ्गलवारदेखि हुने हडतालबाट ६ हजार १ सय यात्रु प्रभावित हुने आशङ्का गरिएको छ । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले मङ्गलवारका २८ ओटा उडान रद्द गरेको र २७ उडान ३५ मिनेटले ढिलो हुने जानकारी दिएको छ । ट्रेड युनियनको हडतालले पारेको असुविधाप्रति क्षमा माग्दै कोण्टासले हडताल गर्नुभन्दा वार्ताको माध्यमबाट समाधान खोज्न ट्रेड युनियनलाई आग्रह गरेको छ । गत महीना कोण्टासले १ हजार कामदार हटाउने घोषणा गरेपछि ट्रेड युनियन र कम्पनीबीचको सम्बन्ध चिसिएको छ । हडतालमा कोण्टासका पाइलट तथा इञ्जिनीयरहरू पनि सहभागी रहेको बताइएको छ । हडताल आयोजना गर्ने 'ट्रान्सपोर्ट वर्कस युनियन' ले कर्मचारी हटाउन नहुने र पूर्वसहमतिअनुसार कर्मचारीहरूको तलबमा ५ प्रतिशतले वृद्धि गर्नुपर्ने माग राखेका छन् । एजेन्सी
चीनमा हिंसात्मक प्रदर्शनपछि कारखाना बन्द
असोज २, बेइजिङ (चीन) । पूर्वी चीनस्थित सौर्य ऊर्जा प्यानल बनाउने एउटा कारखानाले क्यान्सरजन्य प्रदूषण फैलाएको भन्दै स्थानीय बासिन्दाले हिंसात्मक प्रदर्शन गरेपछि चीन सरकारले कारखाना बन्द गर्ने आदेश दिएको छ । झेजिआङ प्रान्तको हाइनिङ शहरमा बिहीवारदेखि नै झण्डै ५ सयले प्रदर्शन गरेका थिए । कारखाना नजिकैको पोखरीमा ठूलो सङ्ख्यामा माछा मरेपछि त्यसको कारणबारे जानकारी माग्दै प्रदर्शनकारी भेला भएका हुन् । औद्योगिक प्रदूषणले होङजिआओ गाउँमा कम्तीमा ३१ जनालाई क्यान्सर भएको र तीमध्ये ६ जनालाई रक्तक्यान्सर अर्थात् ल्युकेमिया भएको उनीहरूको आरोप छ ।
प्रदर्शनकारीले जिङको सोलर फयाक्ट्रीमा जबर्जस्ती प्रवेश गर्दै कार्यालय र गाडीमा तोडफोडसमेत गरेका छन् । उक्त कारखानाको औद्योगिक प्रदूषण गत अप्रिलदेखि नै निर्धारित सीमाभन्दा बढी भएको हेइनिङ प्रान्तका वातावरण मामिला उपप्रमुख छेङ होङमिङलाई उद्धृत गर्दै सिन्⋲वाले बताएको छ । यसैबीच, सोमवार कारखानाले सर्वसाधारणमा पुग्न गएको समस्याप्रति क्षमा माग्दै त्यसलाई सच्याउने प्रतिबद्धता गरेको छ । औद्योगिक प्रदूषणको विरोध गर्दै यसअघि पनि चीनमा प्रदर्शन भएका छन् । हालै स्थानीय जनताले विरोध गरेपछि डालियानस्थित एउटा रसायन कारखानालाई स्थानान्तरण गर्न अधिकारीहरू सहमत भएका थिए । एएफपी/रासस
रूसमा नयाँ कारखाना खोल्दै होण्डा मोटर्स
असोज २, टोकियो (जापान) । जापानी कम्पनी होण्डा मोटर्सले आफ्नो बजार विस्तारको रणनीतिअर्न्तगत रूसमा पहिलो एसेम्ब्ली कारखाना स्थापना गर्न लागेको छ । जापानको निक्केइ पत्रिकाले दिएको समाचारमा होण्डाले रूसी सरकारलाई सञ्चालन अनुमतिका लागि कारखानाका सबै योजना प्रस्तुत गरेको बताइएको छ । कम्पनीले प्रस्तुत गरेको योजनाअनुसार उक्त एसेम्ब्ली कारखानाबाट प्रतिवर्ष३० हजारदेखि ५० हजार ओटासम्म सवारीसाधन उत्पादन हुनेछन् । समाचारमा कारखाना स्थापना गर्न लाग्ने खर्च नखुलाइए पनि दशौं करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । एसेम्ब्ली कारखाना स्थापना गर्ने स्थानबारे रूसी सरकारसँग कुराकानी भइरहेको पनि समाचारमा उल्लेख छ ।
हालसम्म कुनै निर्णयनभए तापनि रूसको सुदूरपूर्वका तटीय क्षेत्रमा होण्डाले कारखाना स्थापना गर्न सक्ने बताइएको छ । सन् २०१० मा होण्डाले रूसमा १८ हजार कार विक्री गरेको थियो । योसँगै रूसमा एसेम्ब्ली कारखाना स्थापना गर्ने होण्डा पाँचौं जापानी मोटर कम्पनी बन्नेछ । रूसमा जापनी कम्पनीहरू टोयोटा, निशान, मित्सुबिसी र माज्दाले आफ्ना कारखाना सञ्चालन गरिरहेका छन् । त्यसैगरी, जनरल मोटर्स र रेनल्टले पनि रूसमा उत्पादन शुरू गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । सन् २०१५ सम्म रूसमा प्रतिवर्ष४ लाख गाडी विक्री हुने अपेक्षा छ । एजेन्सी
ग्रीस यूरोजोनको नियन्त्रणबाहिर जान सक्ने
असोज २ । आईएमएफले ग्रीसलाई उद्धारकोषबाट रकम प्राप्त गर्ने भए बजेटघाटा कटौतीका लागि थप प्रयास गर्न सोमवार चेतावनी दिएको छ । ग्रीसले बजेटघाटा कटौतीका लागि थप प्रयास गर्नुपर्ने ग्रीसका लागि आईएमएफका प्रतिनिधि बब ट्राले चेतावनी दिए । ग्रीसका अर्थमन्त्री इभाञ्जेलस भेनिजेलसले पनि आगामी हप्ता यूरोजोन र ग्रीसका लागि निकै अप्ठयारो हुने स्वीकार गरेका छन् । यूरोजोनको सङ्कट र यूरोप एवम् अमेरिकाको आर्थिक सुस्तीबारे पोल्याण्डमा भइरहेको यूरोपियन युनियनको बैठक विना कुनै निर्णय टुङ्गिएपछि यूरोपेली शेयरबजार पुन: अरालो लागेका छन् । ग्रीस टाट पल्टिने अवस्थातफर्मात्र नभई यूरोजोनबाटै बाहिरिने जोखिम बढेको वित्तीय बजारहरूमा आशङ्का व्याप्त छ । तर, त्यस्तो आशङ्कालाईईयूका प्रमुख देश जर्मनी र फ्रान्सले अस्वीकार गरेका छन् ।
ऋणमोचनका लागि थप रकम प्राप्त नभए ग्रीसको अर्थतन्त्र साँच्चै नै नाटकीय रूपले यूरोजोनको नियन्त्रणबाहिर जान सक्ने भेनिजेलसले चेतावनी दिएका छन् । ऋण तिर्न, पेन्सन दिन र अस्पताललगायत अन्य सार्वजनिक सेवा कायम राख्न ग्रीसले आगामी चरणमा ८ अर्ब यूरोको उद्धार रकम अपेक्षा गरेको छ । एएफपी/रासस
आणविक ऊर्जाबाट बाहिरिने सेमञ्जको घोषणा
असोज २, फ्रान्कर्फ (जर्मनी) । जर्मनीको सबैभन्दा ठूलो औद्योगिक तथा ऊर्जा कम्पनी सेमञ्जले आणविक ऊर्जा उत्पादनबाट पूर्णरूपमा बहिर्गमनको घोषणा गरेको छ । कम्पनीका कार्यकारी प्रमुख पिटर लोश्चरले जर्मन पत्रिका 'स्पिगेल'सँगको कुराकानीमा सन् २०११ मार्च महीनामा जापानमा गएको भूकम्पबाट फुकुसिमा आणविक केन्द्रमा दुर्घटना भएपछि आफूहरूले यस्तो
निर्णय लिएको बताए ।
पत्रिकासँग कुरा गर्दै लोश्चरले आफूहरूको निर्णयले जर्मन समाज र राजनीतिलाई आणविक ऊर्जाबाट बाहिरिन प्रेरित गर्ने उल्लेख गरे । सेमञ्जमा आणविक ऊर्जाको अध्याय बन्द भइसकेको बताउँदै उनले अब कुनै पनि आणविक ऊर्जा केन्द्र निर्माण नगर्ने बताए । रूसी आणविक कम्पनी रोसाटोमसँग यसअघि गरिएको आणविक कार्यक्रमको साझेदारी पनि रद्द गर्ने उनले जानकारी दिए । यसअघि सन् २००९ मा पनि सेमञ्जले फ्रान्सेली आणविक ऊर्जा कम्पनी अरेभासँगको साझेदारी अन्त्य गरेको थियो । पत्रिकासँगको अन्तरवार्तामा लोश्चरले जर्मन सरकारको नवीकरणीय ऊर्जा प्रयोग गर्ने निर्णयो समथन गर्दै यो शताब्दीकै सबैभन्दा ठूलो परियोजना हुने बताए । सन् २०२० सम्म नवीकरणीय ऊर्जाको उत्पादन ३५ प्रतिशतले वृद्धि गर्ने सरकारको लक्ष्य पूरा गर्न सकिने उनको कथन थियो । सेमञ्ज जर्मनीमा सञ्चालनमा रहेका सबै १७ ओटै आणविक ऊर्जाकेन्द्रको निर्माणमा संलग्न रहेको थियो । एजेन्सी
धनाढयमाथि निगरानी गर्न थप अधिकारी नियुक्त गरिँदै
असोज २, लण्डन (बेलायत) । बेलायती सरकारले कर छली गर्ने धनाढयहरूमाथि निगरानी बढाउन थप सरकारी अधिकारी नियुक्त गर्ने बताएको छ । बेलायतको अर्थ मन्त्रालयका सचिव डयानी एलेक्जेण्डलरले सोमवार दिएको जानकारीअनुसार सरकारले थप २ हजार कर अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । एलेक्जेण्डलरले १ सय जना विशेष अधिकारीको टोलीले १ महीनाभित्र बेलायतका अति धनाढयहरूको हिसाबकिताबको लेखाजोखा गर्ने उल्लेख गरे । उनले २५ लाख पाउण्डभन्दा बढी सम्पत्ति भएका ३ लाख ५० हजार मानिस आफ्नो छानबिनको दायरामा पर्ने बताए । धेरै धन भएकाहरूलाई आफ्नो काँधमा जिम्मेवारी उठाउन पछि नपर्न पनि उनले आग्रह गरे । बेलायती सरकारले गरेका कर छलीसम्बन्धी छानबिनहरूबाट यसअघि वार्षिक २ अर्ब पाउण्ड राजस्वमा दाखिल भइसकेको र सन् २०१५ सम्म यो ७ अर्ब पाउण्ड पुग्न सक्ने उनले बताए । एएफपी/रासस
बङ्गलादेशमा शेयरबजार ओर्लिएपछि प्रदर्शन
असोज २, ढाका (बङ्गलादेश) । बङ्गलादेशको शेयरबजार परिसूचकाङ्क घटेको विरोधमा त्यहाँका लगानीकर्ताहरूले सोमवार राजधानी ढाकामा हिंसात्मक प्रदर्शन गरेका छन् । सोमवार शेयरबजार खुल्नासाथ झण्डै १ सय अङ्कले ओर्लिएपछि क्रुद्ध प्रदर्शनकारीहरू तोडफोड र हिंसात्मक प्रदर्शनमा ओर्लिएका थिए । बन्द हुने बेलामा भने शेयरबजारमा केही सुधार आएको थियो । तोडफोड गर्ने केही प्रदर्शनकारीलाई पक्राउ गरिएको र स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।
सन् २०१० मा शेयरको मूल्य झण्डै दोब्बर भएपछि ठूलो सङ्ख्यामा लगानीकर्ता आकर्षित भएका थिए । २००६ मा ५ लाखभन्दा मुनि रहेको लगानीकर्ताको सङ्ख्या ह्वात्तै बढेर ३३ लाख पुगेको थियो । शेयरबजारमा लगानी गर्न लगानीकर्ताले ठूलो मात्रामा ऋणसमेत लिएका थिए । तर, गतवर्षदेखि शेयरबजार लगातार ओर्लेपछि हिंसात्मक प्रदर्शन हुँदै आएका छन् ।
बङ्गलादेश सरकार देशको पूँजीबजार प्रवर्द्धन गर्न संघर्षरत छ । बजार नियामकले उचित सुपरिवेक्षण गर्न नसकेकाले शेयरबजारमा ठूलो चलखेल भएको एक उच्चस्तरीय आयोगले पत्ता लगाएको थियो । ढाका र चटगाउँस्थित दुई शेयरबजारका लागि सरकारले ६७ करोड ६० लाख डलरको बजार विकास कोष स्थापना गर्ने निर्णयगरे पनि लगानीकर्ताहरू आश्वस्त हुन सकेका छैनन् । साना लगानीकर्ता त्रासले गर्दा आफ्नो शेयर बेच्न थालेका छन् । बैङ्क र अन्य संस्था निष्क्रिय रहेकाले बजारमा आशङ्का बढेको एक शेयर दलालले बताए । एजेन्सी
Admin 2011-09-20