जापानको विपत्तिबाट विश्व अर्थतन्त्रमा मिश्रति प्रभाव
चैत २, न्यूयोर्क (अमेरिका) । जापानको भूकम्प, सुनामी र आणविक सङ्कटले पहिलेदेखि नै अस्थिर विश्वव्यापी अर्थतन्त्रमाथि झनै दबाब परेको छ । त्यसबाट कम्प्युटर चिपदेखि गाडीको पुर्जासम्मका वस्तुको आपूर्ति घटेको छ । साथै ब्याजदर पनि उच्च रहने सम्भावनासमेत देखिएको छ ।सङ्कटबाट मङ्गलवार टोकियोका वित्तीय बजार तथा वाल स्ट्रीटमा समेत त्रास उत्पन्न भएको थियो । जापानी परिसूचक निक्केइमा औसत १० प्रतिशतले कमी आएको थियो । त्यसैगरी बजार खुल्नेबित्तिकै दाओ जोन्स तीव्र ओरालो लागेको थियो ।
तर, अमेरिकी र विश्व अर्थतन्त्रहरूमा परेको असर तुलनात्मक रूपले मध्यमस्तरको तथा अल्पकालीन मात्र रहेको छ । तेलको मूल्य तल ओर्लिरहेको छ । त्यसका साथै जापानको उत्तरपूर्वी तट क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यले आर्थिक वृद्धिलाई समेत अभिवृद्धि गर्नेछ ।कमजोर जापानी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा वस्तुको मूल्यमा समेत कमी आउन सक्छ । किनभने जापान इन्धन, कृषि उत्पादन र अन्य कच्चा पदार्थको प्रमुख आयातकर्ता हो । अर्थतन्त्र कमजोर हुँदा जापानमा ती वस्तुहरूको मागमा कमी आएर अन्तरराष्ट्रिय बजारमा भाउ घट्न सक्छ । एपी/रासस
रिमसँग भारतीय सुरक्षा निकाय असन्तुष्ट
चैत २, नयाँ दिल्ली (भारत) । ब्लाकबेरी मोबाइलको निर्माता रिसच इन मोशन (रिम)ले उपलब्ध गराएको उपायप्रति भारतीय सुरक्षा निकाय सन्तुष्ट देखिएको छैन । कनिष्ठ दूरसञ्चार मन्त्री सचिन पाइलटले सो कुरा बुधवार संसद्लाई बताएका हुन् । सुरक्षा निकायले ब्लाकबेरीको मेशेञ्जर सेवाको तथ्याङ्क प्राप्त गर्ने आवश्यक प्रविधिको माग गरेको थियो । जनवरीमा रिमले भारतलाई उसको मेशेञ्जर सेवालगायतका उपभोक्ता सेवामा पहुँच दिएको थियो । भारतीय अधिकारीहरूले ब्लाकबेरीको सो सेवाको दुरुपयोग हुन सक्ने सुरक्षा चासो राखेकाले ब्लाकबेरीले उसका सेवाहरूमा पहुँच दिएको थियो । तर, व्यावसायिक इमेल सेवामा भने पहुँच नदिने ब्लाकबेरीले बताउँदै आएको छ । रोयटर्स
बैङ्क अफ जापानद्वारा ७ खर्ब डलर प्रवाह
चैत २, टोकियो (जापान) । जापानको केन्द्रीय बैङ्कले बुधवार पनि बजारमा मुद्रा प्रवाह गरेको छ । यसबाट उसको आपत्कालीन कोष झण्डै ७ खर्ब डलर पुगेको छ । विनाशकारी भूकम्प, सुनामी र आणविक सङ्कटपछि अर्थतन्त्रमा असर पर्ला भन्ने त्रास निर्मुल गर्न मुद्रा प्रवाह गरिएको हो ।तीव्र ओरालोपछि शेयरबजारमा सुधारको सङ्केत देखिँदै गर्दा बैङ्क अफ जापानले फेरि मुद्रा प्रवाह गरेको हो । बजार परिसूचक निक्केइमा दुई दिनभित्रै २० प्रतिशतले झरेर २ वर्षयताकै निम्न बिन्दुमा पुगेको थियो । तर, बजार बन्द हुँदासम्ममा ५ दशमलव ७ प्रतिशतले परिसूचक माथि उक्लेको छ । एपी/रासस
भूकम्पबाट २ खर्ब डलरसम्मको क्षति
चैत २, टोकियो (जापान) । जापानको विनाशकारी भूकम्प र गहिरिँदो आणविक सङ्कटबाट २ खर्ब डलरसम्मको नोक्सान भएको हुन सक्ने देखिएको छ । जापानको उत्तर-पूर्वी तटमा आएको विशाल सुनामीले पुर्याएको विश्वव्यापी क्षति भने अझैसम्म अनुमान गर्न गाह्रो भइरहेको छ । अर्थशास्त्रीहरूका अनुसार क्षतिबाट जापानलाई महीनौंसम्म असर पर्नेछ । तर, बिजुलीको ठूलो अभाव भए वा लामो समयसम्म भए त्यसबाट अर्थतन्त्रमा अझै बढी क्षति हुन सक्छ । त्यसले १९९५ मा कोबेमा आएको भूकम्पपछिको पुनर्बहालीलाई पनि लम्ब्याउनेछ ।धेरैका अनुसार २ खर्ब डलरसम्मको प्रत्यक्ष आर्थिक क्षति भएको हुन सक्छ । त्यसबाट दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादन पनि खुम्चिने सम्भावना छ । तर, पुनर्निर्माणमा गरिने लगानी बढ्दै गएपछि २०११ को उत्तरार्धमा भने तीव्र गतिमा सुधार हुन सक्छ । रोयटर्स
टोकियो सुनसान, सम्राटको समवेदना
चैत २, टोकियो (जापान) । टोकियोका भीडभाडग्रस्त रहने बाटाहरू अहिले सुनसान हुन पुगेका छन् । थुप्रै स्कूल बन्द छन् भने कम्पनीहरूले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् । त्यसैगरी एयरपोर्टमा बाहिरिनेहरूको लामो लाइन लागेको छ । जापानमा रहेका विदेशी कम्पनीहरूले त्यहाँ रहेका आफ्ना कर्मचारीलाई पनि धमाधम स्वदेश फर्काउन थालेका छन् । भूकम्पपछि आणविक दुर्घटनाको आशङ्काले त्यस्तो त्रास बढेको हो । दुर्घटनाग्रस्त आणविक केन्द्र टोकियोबाट २ सय ४० किलोमिटर उत्तरतर्फपर्छ । तर, विकिरणको भयले टोकियोका कतिपय क्षेत्र चकमन्न भएका छन् । धेरैजसो मानिस घरभित्रै बसिराखेका छन् । त्यसले पनि विश्वकै सबैभन्दा घना जनसङ्ख्यामध्येको एक टोकियो शहर सुनसान भएको हो ।'आज आइतवारको बिदाजस्तै छ, शहरमा कुनै गाडी गुडेका छैनन,’ ६२ वर्षीय टयाक्सी चालक काजुशी अरिसावाले भने । उता, विरलै सञ्चारमाध्यममा आउने जापानी सम्राटले पनि राष्ट्रिय प्रसारणमार्फत जनतालाई धैर्य रहन आग्रह गरेका छन् । एजेन्सी
ऋणमोचनबारे अन्तिम प्रतिवेदन सार्वजनिक
चैत २, न्यूयोर्क (अमेरिका) । आर्थिक सङ्कटका बेला बैङ्क, गाडी निर्माता र बीमाप्रदायकहरूलाई दिइएको ऋणोद्धार कार्यक्रमबारे सरकारी समितिले आफ्नो अन्तिम निर्णयदिएको छ । ऋणोद्धार कार्यक्रमले ती संस्थाहरूलाई तत्कालका लागि सहयोग पुगे तापनि त्यसले आगामी सङ्कटको पनि बीउ रोपेको हुन सक्ने निर्णया भनिएको छ । व्यापारिक कम्पनीहरूलाई ऋण सहयोग कार्यक्रमले सहयोग पुर्याए पनि त्यसले घरपरिवारलाई भने खासै फाइदा नपुगेको पनि निर्णये भनेको छ ।'राम्रो खबर के हो भने, अमेरिकामा फेरि अर्को मन्दी देखिएन,’ समितिका अध्यक्ष टेड कफम्यानले भने । तर, फेडको कार्यक्रम वाल स्ट्रीटका बैङ्कहरूलाई फाइदाजनक भए पनि सामान्य घरबजारलाई त्यसले नछोएको निर्णये भनेको छ । आगामी महीना विघटन हुन लागेको सो समितिको यो अन्तिम प्रतिवेदन हो । एपी/रासस
भारतद्वारा जापानी खाद्यमा विकिरण परीक्षण
चैत २, नयाँदिल्ली (भारत) । भारतले जापानबाट आयात गरिने खाद्यवस्तुमा विकिरण परीक्षण गर्ने भएको छ । भारतको खाद्यसुरक्षा तथा मापदण्ड निकायले बन्दरगाहहरूमा रहेका आफ्ना मातहतका कार्यालयहरूलाई त्यसबारे पत्राचार गरेको छ । मार्च ११ पछि जापानबाट आएका उत्पादनमाथि विकिरण परीक्षण गर्न उक्त पत्रमा भनिएको छ ।त्यसैगरी थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, फिलिपिन्स र सिङ्गापुरलगायत थुप्रै एशियाली देशले समेत त्यस्तो परीक्षणका लागि आदेश दिएका छन् ।जापानको आणविक दुर्घटनालाई युक्रेनको चेर्नोबिलमा १९८६ मा भएको त्यस्तै दुर्घटनापछिकै गम्भीर मानिएको छ । भूकम्पले क्षेतिग्रस्त आणविक केन्द्र पड्केपछि सानो मात्राको विकिरण टोकियोतर्फ प्रवाहित भएको छ । रोयटर्स
चिनियाँ लेखकहरूद्वारा प्रतिलिपि चोरीको आरोप
चैत २, साङ्र्घाई (चीन) । चीनका केही लेखकले त्यहाँको लोकप्रिय सच इञ्जिन बाइडु इङ्कमाथि प्रतिलिपि हननको आरोप लगाएका छन् । आफ्ना लेखहरू अनुमतिविना बाइडुले इण्टरनेटमा अनलाइन गरिदिएको ती लेखकहरूको आरोप छ । चीनका ५० भन्दा बढी लेखकले एक पत्रमार्फत त्यस्तो आरोप लगाएका हुन् । बाइडुको लाइब्रेरीमा अनुमतिविना आफ्ना कृति राखेको ती लेखकको गुनासो छ । सो पत्र ट्वीटरजस्तै चिनियाँ वेबसाइट वेइबोमा राखिएको थियो, जसलाई अन्य वेबसाइटहरूले पनि पुन: प्रकाशन गरेका थिए । गत वर्षगूगलले चीनमा आफ्नो सञ्चालनमा नियन्त्रण गरेपछि बाइडुले सच बजारको ठूलो हिस्सा ओगटेको छ । रोयटर्स
अमेरिकामा डेढ वर्षकै उच्च मूल्यवृद्धि
चैत २, वाशिङटन (अमेरिका) । अमेरिकामा फेब्रुअरीको थोक मूल्यमा गत डेढ वर्षयताकै तीव्र दरले वृद्धि भएको छ । त्यसबाट खाद्य र ऊर्जाको खर्चले त्यहाँ पनि मुद्रास्फीतिजन्य दबाब बढ्दै गएको देखिएको छ ।त्यसैगरी घर निर्माण क्षेत्रको क्रियाकलाप पनि २७ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । त्यसबाट पनि अर्थतन्त्रमा अझै चुनौती रहेको देखिएको हो ।धेरैजसो यस्ता कुराले उपभोक्ता मूल्य परिसूचकमा कुनै फरक पार्दैनन् । तर, त्यसबाट वस्तुको मूल्यमा निरीक्षण गर्नुपर्ने देखिएको छ,’ एक न्यूयोर्कस्थित नोमुरा सेक्युरिटिज इण्टरनेशनलका अर्थशास्त्री डेभिड रेस्लरले भने । त्यसैगरी जापानको आणविक दुर्घटनाको खबरले अमेरिकी शेयर बजार पनि तल झरेको छ । रोयटर्स
Admin 2011-03-17