शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको निर्यातमा उच्च वृद्धि

फागुन २, बेइजिङ (चीन) । विश्वव्यापी रूपमा माग बढ्दै जाँदा चीनको जनवरीको निर्यात पनि बढेको छ । साथै राजनीतिक रूपले संवेदनशील मानिने उसको व्यापारघाटा पनि नौ महीनायताकै न्यून हुन पुगेको छ । त्यसबाट बेइजिङमाथि युआनलाई बलियो बनाउन पर्दै आएको दबाब केही खुकुलो हुन सक्छ । चीनको विश्वव्यापी व्यापारघाटा गतवर्षको भन्दा ५५ प्रतिशतले तल झरेको त्यहाँको भन्सार तथ्याङ्कले सोमवार देखाएको छ । साथै डिसेम्बरको भन्दा जनवरीको निर्यातदरमा दोब्बरले वृद्धि भएर १ खर्ब ५० करोड ७० लाख डलरको निर्यात भएको छ । त्यसैगरी उच्च घरेलु मागका कारण चीनको आयात पनि ५३ दशमलव ५ प्रतिशतले बढेर १ खर्ब ४४ करोड ३० लाख डलरमा पुगेको छ ।'बढ्दो निर्यात र आयातबाट घरेलु र अन्तरराष्ट्रिय दुवै क्षेत्रमा सुदृढ माग रहेको देखिन्छ । सुदृढ निर्यातले विश्वव्यापी अर्थतन्त्रमा पुनर्बहाली भइरहेको सङ्केत मिलेको छ,’ हङकङस्थित क्रेडिट एग्रिकोल सीआईबीका वरिष्ठ अर्थशास्त्री डारिउस्ज कोवाल्सिकले एउटा प्रतिवेदनमा भनेका छन् । एएफपी/रासस

रूसी सरकारी बैङ्कको शेयर विक्री

फागुन २, मस्को (रूस) । रूसले राज्यनियन्त्रित भीटीबी बैङ्कको १० प्रतिशत शेयर विदेशी र घरेलु लगानीकर्ताहरूलाई बेचेर ३ अर्ब २० करोड डलर उठाएको सोमवार बताएको छ । विदेशी र घरेलु लगानीकर्ताले प्रस्तावितभन्दा दुइ गुणा बढी मूल्य तिरेका कारण उक्त मात्रामा रकम उठाउन सकिएको रूस सरकारको भनाइ छ । उक्त कारोबार वित्तीय सङ्कटपछि रूसी बजारमा गरिएको सबैभन्दा सफल शेयर कारोबार भएको सरकारको धारणा छ ।भीटीबीका ठूला शेयरहोल्डरको नाम भने सरकारले बताएको छैन । तर, 'धेरै प्रमुख अमेरिकी, यूरोपियन, मध्यपूर्वी र एशियाली कम्पनीले रूसी अर्थतन्त्रमा पहिलोपटक उल्लेख्य मात्रामा लगानी गरेको’ भनेको छ । रूस सरकारले गतवर्षपाँचवर्षो निजीकरण अभियान सार्वजनिक गरेको थियो । त्यसबाट लगभग ६० अर्ब डलर उठाउने अपेक्षा उसले राखेको छ । एक दशकसम्म राज्यका प्रमुख सम्पत्तिमाथि नियन्त्रण बढाएपछि गत वर्ष नाटकीय रूपमा रूस सरकारको नीति परिवर्तन भएको थियो । एएफपी/रासस    

बोइङको ७४७ शृङ्खलामा नयाँ विमान

फागुन २, वाशिङटन (अमेरिका) । अमेरिकी विमान कम्पनी बोइङले ७४७-८ इण्टरकण्टिनेण्टल भनिने नयाँ विमान बजारमा ल्याएको छ । नयाँ विमान हालको ७४७ जम्बो जेटभन्दा अझ बढी परिष्कृत भएकाले इन्धनको बचत हुने बोइङले दाबी गरेको छ । साथै बोइङले उसको नयाँ विमानले एयरबस ए-३८० सँग प्रतिस्पर्धा गर्ने अपेक्षा पनि राखेको छ ।'हाम्रो यो शानदार विमान हेनुस् त, यो हाम्रो भविष्य हो,’ बोइङका भाइस प्रेजिडेण्ट र कमर्शियल विमान शाखाका प्रबन्धकले भने । नयाँ विमान पहिलेको नीलो रङ्को साटो रातो र सुन्तला रङका छन् । एशियाली क्षेत्रका ग्राहकलाई ध्यानमा राखेर त्यस क्षेत्रमा शुभ र प्रगतिजनक मानिने रातो र सुन्तला रङ प्रयोग गरिएको छ । पुराना विमानकै जस्तो आकार भए पनि नयाँ ७४७-८ विमान अझ लामो छ । लामो दूरीको उडान भर्ने र ४ सय ६७ यात्रु क्षमता रहेको हालको मोडल बोइङको सबैभन्दा ठूलो विमान हो । एयरबस ए-३८० को यात्रुबाहक क्षमता भने ५ सय २५ जना रहेको छ । बोइङका अनुसार, उसका नयाँ विमानको प्रतिसीट खर्च ए-३८० भन्दा ६ प्रतिशतले कम हुन आउँछ ।  एएफपी/रासस

चीन दोस्रो ठूलो अर्थतन्त्र भएको जापानद्वारा स्वीकार

फागुन २, टोकियो (जापान) । विश्वकै दोस्रो अर्थतन्त्रका रूपमा चीनले २०१० मा आफूलाई उछिनेको जापानले स्वीकार गरेको छ । जापानको अर्थतन्त्रमा ३ वर्षपछि पहिलोपटक ३ दशमलव ९ प्रतिशतले वार्षिक वृद्धि भएको छ । तर, त्यसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुनबाट रोक्न सकेन । जापानको गतवर्षको कुल गार्हस्थ्य उत्पादन ५४ खर्ब ७४ अर्ब २० करोड डलरमा रहेको छ । जबकि चीनको गतवर्षको कुल गार्हस्थ्य उत्पादन ५८ खर्ब ७८ अर्ब ६० करोड डलर पुगेको छ । गतवर्ष नै चीनले विश्वको दोस्रो अर्थतन्त्रका रूपमा जापानलाई उछिनेको मानिएको थियो । तर, त्यसलाई जापानको वर्षभरिकै तथ्याङ्कबाट पुष्टि गरिएको थिएन । जापान ४२ वर्षदेखि नै अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहँदै आएको थियो । आफ्नो त्यस स्थानलाई चीनले विस्थापन गरेको सोमवार प्रकाशित तथ्याङ्कमार्फत जापानले स्वीकार गरेको छ ।

हालका प्रवृत्तिबाट दुइ देशको अर्थतन्त्रमा ऐतिहासिक परिवर्तन भइरहेको देखिन्छ । चीनको अर्थतन्त्रमा द्रुत विस्तार भएर उसले विश्व अर्थतन्त्रलाई नै सञ्चालन गरिरहेको छ । उता जापानमा भने घरजग्गाको व्यापारमा उत्पन्न सङ्कटपछि उसको अर्थतन्त्रमा अझै राम्ररी सुधार भइसकेको छैन । चीन अब विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता हुनुका साथै सबैभन्दा ठूलो इन्धन खपतकर्ता पनि भइसकेको छ । विशेषज्ञका अनुसार, चीनले उसको हालकै वृद्धिदर कायम रहेमा २०२० देखि २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा अमेरिकालाई समेत उछिन्नेछ । एएफपी/रासस

ब्रिटेनद्वारा भारतलाई सहायता जारी

फागुन २, लण्डन (ब्रिटेन) । ब्रिटेनले भारतलाई दिँदै आएको १ अर्ब पाउण्डको सहायता जारी नै राख्ने भएको फाइनान्सियल टाइम्सले सोमवार बताएको छ । भारतको अर्थतन्त्रमा लगातारको वृद्धि भइरहेकाले उसलाई दिँदै आएको अनुदान कटौती गर्नुपर्नेबारे ब्रिटेनमाथि राजनीतिक दबाब बढिरहेको छ । ब्रिटेन सरकारले भारतलाई दिँदै आएको ४ अर्ब ४९ करोड डलरको सहायता २०१५ सम्म जारी नै राख्ने त्यहाँका अन्तरराष्ट्रिय विकास सचिव एण्ड्रयु मिचेलले बताएका छन् ।   भारत आणविक अस्त्र सम्पन्न हुनुको साथै उसको आफ्नै अन्तरिक्ष तथा सहायता कार्यक्रमसमेत छ । त्यसैले भारतलाई सहायता दिनु आवश्यक नठानिन सक्ने सम्भावना गत वर्ष मिचेलले व्यक्त गरेका थिए । 'ब्रिटेनको पैसा गरीब देशका अति गरीबलाई सहयोग गर्न खर्चिइनुपर्छ,’ उनले त्यतिखेर भनेका थिए । उता देशको अर्थतन्त्रमा प्रत्येक वर्ष८ दशमलव ५ प्रतिशतले वृद्धि भइरहेकाले ब्रिटेनले सहायता नदिँदा पनि फरक नपर्ने भारतीय नेताहरूले स्वीकार गरेका छन् । तर, भारतलाई दिँदै आएको सहायता यथावत् रहने घोषणा मिचेलले मङ्गलवार गर्ने भएका छन् । त्यसबाट उनको आफ्नै दल कञ्जरभेटिभ पार्टीका सदस्यहरू क्रुद्ध भएको पत्रिकाले बताएको छ । एएफपी/रासस

सिङ्गापुरमा क्यासिनो सफलता

फागुन २, सिङ्गापुर (सिङ्गापुर) । क्यासिनो शुरू गरेको १ वर्षपछि नै सिङ्गापुर एशियाको सबैभन्दा आकर्षक जुवा राजधानी बन्न पुगेको छ । शहरको सौन्दर्यमै परिवर्तन आएको छ भने अर्थतन्त्रमा लाखौं डलरको लगानी भएको छ । 'सिङ्गापुरले क्यासिनो बजारमा नाटकीय प्रवेश गरेको छ,’ वित्तीय परामर्शदाता कम्पनी प्राइसवार्टसकुपर्सले भनेको छ । उसले सिङ्गापुरको क्यासिनो बजारको मूल्य २०१० मा २ अर्ब ८० करोड डलर मा मापन गरेको छ ।२०१० को फेब्रुअरीमा मलेशियाली नागरिकको रिसोर्ट्स वर्ल्ड सेण्टोसामा पहिलो क्यासिनो खोलिएको थियो । त्यसको २ महीनापछि नै अमेरिकास्थित लास भेगस स्याण्ड्सको मरिना बे स्याण्ड्स भन्ने क्यासिनो खुल्यो । सेण्टोसामा युनिभर्सल स्टुडिओको मनोरञ्जनात्मक थिम पार्क पनि छ, जुन दक्षिणपूर्वी एशियाकै पहिलो थिम पार्क हो । त्यसैगरी मरिना बे स्याण्ड्सको विशाल भवन(टावर) माथि जहाजको आकारमा रहेको स्काइपार्कलाई निर्माण क्षेत्रकै नमूना मानिएको छ । क्यासिनो भवनमा गरिएको ठूलो लगानीका कारण गत वर्ष सिङ्गापुर भ्रमण गर्ने पर्यटक सङ्ख्या १ करोड १६ लाख पुगेको थियो । जुन २००७ को १ करोड ३ लाखपछिकै उच्च पर्यटक आगमन हो ।  धेरैजसो भ्रमणकर्तामा एशिया प्रशान्तक्षेत्रकै रहेका छन् । तिनमा चीन, अष्ट्रेलिया, इण्डोनेशिया र भारतबाट उल्लेख्य सङ्ख्यामा पर्यटक थिए । एएफपी/रासस

Admin 2011-02-15