शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनमा मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदर अझै बढाउनुपर्ने सुझाव

जेठ २, बेइजिङ (चीन) । चीनमा भइरहेको तीव्र मूल्यवृद्धि नियन्त्रण गर्न अझै ब्याजदर बढाउनुपर्ने त्यहाँको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाका सल्लाहकारले सोमवार बताएका छन् । विश्वव्यापी रूपमै वस्तुको मूल्यमा वृद्धि भइरहेकाले आउँदा वर्षरूमा पनि उच्च मूल्यवृद्धि कायमै रहने बैङ्कका सल्लाहकार ली दाओकुइले बताए । तर, ब्याजदर छिटोछिटो बढाउनाले त्यसबाट अल्पकालीन लाभ लिनका लागि देशभित्र धेरै पैसा भित्रिन सक्नेछ । त्यसैले ब्याजदरमा धेरै छिटो वृद्धि गर्नु पनि उपयुक्त नहुने केन्द्रीय बैङ्कका मौद्रिक नीति समितिका विज्ञ सदस्यसमेत रहेका लीको चेतावनी छ ।

'चीन एउटा विशिष्ट र विशाल अर्थतन्त्र भएकाले विश्वभरि नै चिनियाँ अर्थतन्त्रमा अति चासो रहन्छ । त्यसैले ब्याजदर अति धेरै भयो भने देशभित्र ताता पैसा अर्थात् ब्याजदरबाट फाइदा लिने उद्देश्यले ठूलो मात्रामा पैसाको आप्रवाह हुन सक्छ,’ लीले एक आर्थिक सम्मेलनमा भने । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा नीतिगत कडाई हुँदाहुँदै पनि २०११ मा ९ दशमलव ३ देखि ९ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । त्यसैगरी, आगामी ५ वर्षसम्म औसत ९ प्रतिशतका दरले आर्थिक वृद्धि कायमै रहने लीले बताए । एजेन्सी

अहमदिनेजादद्वारा तेलमन्त्री बर्खास्त

जेठ २, तेहरान (इरान) । इरानका राष्ट्रपति महमुद अहमदिनेजादले तत्कालका लागि तेल मन्त्रालयको जिम्मा आफैले सम्हाल्ने घोषणा गरेका छन् । भियनामा हुने भएको तेल उत्पादक देश समूह ओपेकको अर्धवार्षिक सम्मेलनको तयारी भइरहँदा अहमदिनेजादको यस्तो निर्णयआएको छ । 'तत्कालका लागि म नै कामचलाउ तेलमन्त्री हुँ,’ अहमदिनेजादले आइतवार एक टेलिभिजन प्रसारणमार्फत भने । अहमदिनेजादले तेलमन्त्री मसोउद मिर्काजेमीलगायत अन्य दुई मन्त्रीलाई शनिवार बर्खास्त गरेका थिए । आइतवार उद्योग र सामाजिक मामिला मन्त्रालयमा दुईजना नयाँ मन्त्री नियुक्ति गरे पनि तेलमन्त्री भने नियुक्त गरेनन् ।

तेलसँग सम्बद्ध क्षेत्र इरानको सबैभन्दा रणनीतिक क्षेत्र हो । आगामी जुन ८ देखि भियनामा ओपेकको १ सय ५९औं सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा ओपेकका तेलमन्त्रीहरूले भाग लिनेछन् । तर, कामचलाउ तेलमन्त्रीका रूपमा राष्ट्रपति अहमदिजेनाद आफैले भाग लिने ओपेकका लागि इरानका प्रतिनिधि महम्मद अलि खतिबीले सोमवार बताए । इरान ओपेकको दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता देश हो । हाल ओपेकको अध्यक्षता पनि इरानले नै गरिरहेको छ । राष्ट्रपति अहमदिनेजाद र इरानी संसद् मजलिसबीच बेलाबेला शक्तिसंघर्ष चर्किने गर्छ । त्यसै सन्दर्भमा सरकारको संरचनामा परिवर्तनका लागि अहमदिनेजादले तेलमन्त्रीलाई बर्खास्त गरेका हुन् । एपी/रासस

जापानी अधिकारीहरूबाट टेप्कोको ऋण मिनाहा अस्वीकार

जेठ २, टोकियो (जापान) । एशियाकै सबैभन्दा ठूलो इलेक्टि्रक सेवाप्रदायक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)लाई दिइएको ऋण माफ गर्न जापान सरकारले बैङ्कहरूलाई आग्रह गर्ने भन्ने समाचारको अधिकारीहरूले खण्डन गरेका छन् । हालैको भूकम्पले आणविक केन्द्रलाई  क्षत्रि्रस्त बनाएपछि टेप्कोले सङ्कटको सामना गरिरहेको छ । केही दिनअघि एक सरकारी उच्च प्रवक्ताले टेप्कोको वित्तीय बोझ हलुङ्गो बनाउनेतर्फ सहयोग गर्न बैङ्कहरूलाई आग्रह गरिनुपर्ने बताएका थिए । प्रवक्ताको त्यस्तो सुझावपछि बैङ्कहरूको शेयर ओरालो लागेको थियो । तर, प्रवक्ताको भनाइ अत्युक्तिपूर्ण रहेको राष्ट्रिय रणनीतिमन्त्री कोइचिरो गेम्बाले आइतवारको टेलिभिजन प्रसारणमा बताए ।

त्यसैगरी बैङ्कहरूलाई ऋण माफ गर्न प्रत्यक्ष अनुरोध नगरिएको प्रधानमन्त्री नाओतो कानका सल्लाहकार तथा सत्तारूढ लोकतान्त्रिक दलका सांसद गोशी होसोनोले बताए । फुकुशिमा दाइची आणविक केन्द्रका पीडितलाई क्षतिपूर्ति दिन टेप्कोलाई करदाताको रकमबाट सहयोग गर्ने सरकारले शुक्रवार निर्णयगरेको थियो ।  दुर्घटनालगत्तै टेप्कोको प्रमुख ऋणदाता बैङ्क सुमितोमो मित्सुइ बैङ्किङ कर्पोरेशन र अन्य ऋणदाताले टेप्कोलाई २३ अर्ब डलर आपतकालीन ऋण दिएका थिए । एजेन्सी

भारतमा पेट्रोलको मूल्यवृद्धि विरूद्ध विपक्षी दलद्वारा प्रदर्शन

जेठ २, नयाँ दिल्ली (भारत) । भारतको विपक्षी दल भारतीय जनता पार्टीका कार्यकर्ताले सोमवार पेट्रोलको मूल्य वृद्धिको विरोधमा सडक प्रदर्शन गरेका छन् । हालै भारतका राज्यनियन्त्रित तेल कम्पनीहरूले पेट्रोलको मूल्य ९ प्रतिशतले बढाएका थिए । प्रदर्शन क्रममा नयाँ दिल्लीका १४ ओटा व्यस्त चोकहरूमा आवागमन ठप्प पारिएको भाजपाका दिल्ली सभापति विजेन्द्र गुप्ताले बताए । प्रहरीले ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरूलाई पक्राउ गर्नुका साथै अन्यलाई जबर्जस्ती हटाइएको गुप्ताले आरोप लगाए । साथै, सरकारले पेट्रोलको मूल्यवृद्धि फिर्ता नलिउन्जेल प्रदर्शन जारी नै रहने गुप्ताको चेतावनी छ ।

पेट्रोलको मूल्यमा शनिवार गरिएको वृद्धि गत जुनपछि आठौं पटकको हो । गत जुनमा सरकारले पेट्रोलको मूल्यलाई  खुला छाड्ने निर्णयगरेको थियो । आर्थिक सुधार कार्यक्रमअन्तर्गत राज्यनियन्त्रित तेल कम्पनीलाई दिँदै आएको ठूलो अनुदान खर्च कटौती गर्ने उद्देश्यले पेट्रोलको मूल्य खुला छाडिएको हो । आगामी महीना पनि हालको जस्तै मूल्यवृद्धि गर्ने योजना रहेको एक सरकारी अधिकारीले बताएका छन् । 'हामीसँग अरू कुनै उपाय छैन । अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढि नै रहेमा हामी आगामी महीना फेरि भाउ बढाउन बाध्य हुनेछौं,’ सरकारी तेल कम्पनीका ती प्रमुखले भने ।         एएफपी/रासस

रूवाण्डाका राष्ट्रपति र पत्रकारबीच ट्वीटरयुद्ध

जेठ २, किगाली (रूवाण्डा) । रूवाण्डाका राष्ट्रपति एक ब्रिटिश पत्रकारसँग ट्वीटरयुद्धमा संलग्न भएका छन् । पत्रकार इयान बिर्रेलले राष्ट्रपति पल कगामेलाई स्वेच्छाचारी र दिग्भ्रमित भनेपछि विवाद शुरू भएको थियो ।कगामेले आफ्नो आधिकारिक ट्वीटर एकाउण्टबाटै इयान बिर्रेलसँग बारम्बार वाक्युद्ध गरेका थिए । दुईजनाबीचको बहस तात्तिँदै गएपछि कगामेले १४ पटकसम्म जवाफ लेखेका थिए । त्यसक्रममा आफूलाई आरोप लगाउन बिर्रेललाई कुनै अधिकार नरहेको कगामेले दाबी गरेका थिए ।

पछि आफूजस्तो कडा आलोचकसँग ट्वीटरमा बहस गरेकोमा बिर्रेलले कगामेको प्रशंसा गर्दै व्यङ्ग गरेका थिए । तर, कगामेको सरकारले त्यस्तै बहस आफ्नै जनतालाई गर्न नदिनुचाहिँ लज्जास्पद रहेको पनि बिर्रेलको भनाइ थियो ।रूवाण्डामा १९९४ मा भएको नरसंहारको अन्त्यका लागि कगामेले उल्लेखनीय भूमिका खेलेका थिए । तर, मानव अधिकारवादी अन्तरराष्ट्रिय समूहहरूले भने कगामेको लोकतान्त्रिक मान्यता र मानवअधिकारसम्बन्धी छविमा प्रश्न उठाएका छन् । एपी/रासस

धूमपानबाट मिर्गौला क्यान्सरको बढी जोखिम

जेठ २, बेइजिङ (चीन) । धूमपानले मिर्गौला क्यान्सरको जोखिमलाई बढाउने नयाँ अनुसन्धानबाट देखिएको छ । अमेरिकाको डयुक युनिभसिटी मेडिकल सेण्टरले मिर्गौला क्यान्सर भएका ८ सय ४५ जनाको अध्ययनपछि त्यस्तो निष्कर्ष निकालेको हो । अध्ययनअनुसार धूमपान गरिरहेकालाई नगर्नेभन्दा झण्डै साढे एक गुणा  बढीले विकसित अवस्थाको मिर्गौलाको क्यान्सर हुने जोखिम हुन्छ ।

धेरै धूमपान गर्ने र लामो समयसम्म धूमपान गर्नेहरूलाई विकसित अवस्थाको रेनल सेल कासिनोमा अर्थात् क्यान्सर हुने बढी सम्भावना हुन्छ । धूमपान त्यागेपछि भने प्रत्येक १० वर्षमा ९ प्रतिशतका दरले विकसित अवस्थाको मिर्गौला क्यान्सर जोखिम घट्ने देखिन्छ ।अमेरिकन यूरोलोजिकल एशोसिएशनको वाशिङटनमा भइरहेको विशेष पत्रकार सम्मेलनमा उक्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । धूमपानले मिर्गौला क्यान्सरको सम्भावना र त्यसको जटिलतालाई निश्चित रूपले बढाउने डा. टोबी कोहलरले बताए । -एजेन्सी

चीनको स्वच्छ ऊर्जा  उत्पादन लक्ष्य दोब्बर

जेठ २, बेइजिङ (चीन) । चीनले २०२० सम्ममा सौर्य ऊर्जा उत्पादनलाई हालको भन्दा दोब्बर बढाएर ५० गिगावाट पुर्याउने लक्ष्य राखेको छ । विश्वको सबैभन्दा ठूलो प्रदूषकका रूपमा रहेको चीनले स्वच्छ ऊर्जास्रोतको विकासलाई प्राथमिकतामा राखेको छ । हाल चीनको स्वच्छ ऊर्जा उत्पादन क्षमता एक गिगावाटभन्दा पनि कम रहेको छ । तर, २०१५ सम्ममा १० गिगावाट र २०२० सम्ममा ५० गिगावाट स्वच्छ ऊर्जाक्षमता हासिल गर्ने चीनले लक्ष्य लिएको छ । जापानमा हालै आएको भूकम्प र सुनामीले आणविक केन्द्रमा क्षति पुर्याएपछि आणविक कार्यक्रमको सुरक्षाबारे विश्वभरि नै बहस चलिरहेको छ । यसै परिप्रेक्ष्यमा स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई दोब्बर बनाउने चीनको निर्णयआएको हो ।

बेइजिङले पनि देशभरका आणविक केन्द्रको सुरक्षाबारे निरीक्षण गर्न आदेश दिनुका साथै तत्कालका लागि नयाँ र प्रस्तावित परियोजनालाई खारेज गरेको छ । जापानमा भएको दुर्घटनाको प्रतिक्रियास्वरूप चीनले त्यस्तो निर्णयगरे पनि आणविक प्रविधिको विकासलाई जारी नै राख्ने बताएको छ । गएको नोभेम्बरमा आफू विश्वकै सबैभन्दा ठूलो हरितगृह ग्यास उर्त्सजक भएको चीनले स्वीकार गरेको थियो । हाल चीनको ७० प्रतिशतजति ऊर्जा आपूर्ति कोइलाबाट हुने गर्छ । एपी/रासस

Admin 2011-05-17