गरुडाको प्राथमिक शेयर
माघ २, जकार्ता (इण्डोनेसिया) । इण्डोनेसियाको राष्ट्रिय ध्वजावाहक गरुडाले आफ्ना शेयरहरूको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । फेब्रुअरी ११ मा सूचीकृत गरिने भएको गरुडाले प्रतिशेयर मूल्य ७ सय ५० देखि १ हजार १ सय इण्डोनेसियाली रुपैयाँसम्म तोकेको छ । जम्मा ९ अर्ब ३२ करोड थान शेयरको विक्रीबाट उक्त विमानसेवाले आफ्नो पूँजीको ३६ प्रतिशत अर्थात् १ सय ३ खर्ब इण्डोनेसियाली रुपैयाँ (१ अर्ब १० करोड डलर) उठाउने आशा गरिएको छ । यो परिमाण इण्डोनेसियाको शेयरबजारमा २०११ मा सूचीकृत शेयरमध्ये सबैभन्दा ठूलो हुने सम्भावना छ । गतवर्ष पनि इण्डोनेसियाको शेयरबजारमा ४६ प्रतिशतले वृद्धि भएको थियो ।
गरुडालाई २००७ मा सुरक्षा चिन्ताका कारण यूरोपेली आकाशमा उड्न प्रतिबन्ध लगाइएको थियो । पूर्वबैङ्कर इमिरस्याह सतर गरुडा प्रमुख कार्यकारी भएपछि उनको नेतृत्वमा सो सुरक्षा चिन्तालाई समाधान गरिएको थियो । त्यसपछि गरुडामाथि लागेको प्रतिबन्ध २००९ मा फुकुवा भइसकेको छ । त्यसमाथि इण्डोनेसियाजस्ता उदीयमान बजारमा लगानी गर्न लगानीकर्ताहरू उत्साहित देखिएका छन् । बजारमा देखिएको यस्तो अनुकूल परिस्थितिबाट गरुडाले आफ्नो पुरानो ऋण तिर्न सजिलो हुनुका साथै नयाँ विमान र रुटको विस्तार गर्ने रणनीतिमा पनि सहयोग पुग्ने अपेक्षा गरेको छ । एएफपी/रासस
इमेलको सङ्ख्या बढ्यो
माघ २, वासिङटन (अमेरिका) । इण्टरनेट प्रयोगकर्ताहरूले सन् २०१० मा जम्मा १ हजार ७० खर्बओटा इमेल पठाएका थिए । त्यसमध्ये धेरैजसो स्पाम अर्थात् अपेक्षा नगरिएको इमेल भएको वेवसाइट निरीक्षण गर्ने कम्पनी पिङडमले बताएको छ । पिङ्गडमका अनुसार २०१० को जुनसम्ममा संसारमा १ अर्ब ९७ करोड इण्टरनेट प्रयोगकर्ता थिए । त्यसमध्ये एशियामा ८२ करोड ५१ लाख, यूरोपमा ४७ करोड ५१ लाख, उत्तर अमेरिकामा २६ करोड ६२ लाख, ल्याटिन अमेरिका तथा क्यारेबियनमा २० करोड ४७ लाख इण्टरनेट प्रयोगकर्ता थिए । त्यसैगरी अफ्रिकामा ११ करोड ९ लाख, मध्यपूर्वमा ६ करोड ३२ लाख एवम् ओसनिया तथा अष्ट्रेलियामा २ करोड १३ लाख इण्टरनेट प्रयोगकर्ता थिए । औसतमा प्रत्येक दिन २ खर्ब ९४ अर्ब इमेल आदानप्रदान भएका थिए, जसमध्ये ८९ प्रतिशत स्पाम रहेको पिङडमले बताएको छ । त्यसैगरी विश्वभरि २ अर्ब ९० करोड इमेल खाता तथा १५ करोड २० लाख ब्लगहरू रहेको बताइएको छ । जम्मा वेबसाइटहरूको सङ्ख्या २५ करोड ५० लाख रहेकोमा २ करोड १४ लाख वेबसाइट २०१० मा थपिएका छन् । एएफपी/रासस
स्वीस केन्द्रीय बैङ्कलाई २२ अर्ब डलर घाटा
माघ २, जेनेभा (स्वीट्जरल्याण्ड) । स्वीट्जरल्याण्डको केन्द्रीय बैङ्कले सन् २०१० मा २१ अर्ब स्वीस फ्रान्क (२२ अर्ब डलर) गुमाएको बताएको छ । डलर र यूरोको तुलनामा स्वीस फ्रान्क बलियो भएपछि उसलाई यो घाटा परेको हो । लगानीकर्ताबीच स्वीस फ्रान्क सुरक्षित मुद्राका रूपमा लोकप्रिय छ । स्वीस नेशनल बैङ्कले स्वीस फ्रान्कलाई यूरोको तुलनामा अझै बढ्न नदिन बारम्बार हस्तक्षेप गरेको थियो । बैङ्कका अनुसार विदेशी मुद्राको कारोबार गर्दा उसलाई जम्मा २६ अर्ब स्वीस फ्रान्क घाटा भएको छ । हालसम्मकै उच्च त्यस्तो घाटा सुनको सञ्चितिबाट भएको आम्दानीले मात्र आंशिक रूपमा पूर्ति हुन सकेको छ । शुक्रवार प्रकाशित २०१० को तथ्याङ्कमा बैङ्कलाई भएको यो घाटाको जानकारी दिएको हो । सन् २००९ मा भने १० अर्ब स्वीस फ्रान्कको वार्षिक नाफा भएको बैङ्कले बताएको थियो । बैङ्कको २०१० को सम्पूर्ण आम्दानी विवरण भने मार्चमा प्रकाशित गरिनेछ । एपी/रासस
इरानमा नयाँ ग्यासक्षेत्रको अन्वेषण
माघ २, तेहरान (इरान) । इरानले देशको दक्षिणीक्षेत्रमा लगभग ५० अर्ब डलर मूल्यबराबरको नयाँ तटीय ग्यासक्षेत्रको अन्वेषण गरिरहेको इरानी तेलमन्त्री मसोउद मिर्काजेमीले आइतवार बताएका छन् । मिर्काजेमीका अनुसार २ सय ६० अर्ब घनमिटर ग्यास रहेको उक्त नयाँ क्षेत्रबाट २ सय १० अर्ब घनमिटर ग्यास प्राप्त गर्न सकिनेछ ।रूसपछि इरान विश्वकै दोस्रो ठूलो प्राकृतिक ग्यासको भण्डारण रहेको देश हो । तर, प्रविधि तथा विशेषज्ञता भएका पश्चिमा कम्पनीहरूलाई अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले इरानमा लगानी गर्न प्रतिबन्ध लगाएका छन् । त्यसबाट इरानको प्राकृतिक ग्यासजन्य पदार्थको प्रमुख निर्यातकर्ता राष्ट्र हुने सम्भावनामा बाधा पुगेको छ । रोयटर्स
हु जिन्ताओलाई भव्य स्वागत गर्ने अमेरिकी तयारी
माघ २, बेइजिङ (चीन) । चिनियाँ राष्ट्रपति हु जिन्ताओले यसै हप्ता हुने उनको वाशिङटन भ्रमणमा भव्य स्वागतका साथै शानदार राजकीय भोज पाउने भएका छन् । अमेरिकाले नजिकका मित्रराष्ट्रलाई मात्र त्यस्तो स्वागत गर्ने गरेको छ । त्यसकारण ऊ चीनसँग सम्बन्ध सुधार्न उत्सुक रहेको देखिन्छ । सम्पन्न तथा प्रखर राष्ट्रका रूपमा उदाएको चीन तथा कठिन आर्थिक पुनर्वहाली बेहोरिरहेको महाशक्ति राष्ट्र अमेरिकाबीच विश्वासको सङ्कट छ । मुद्रानीति, व्यापार बाधा, आणविक प्रसार तथा उत्तर कोरियाजस्ता विषयले दुइ देशबीचको आपसी विश्वास झनै खस्किएको छ । तर, चिनियाँ वस्तुहरूको एक प्रमुख बजार अमेरिका हो । दुइ देशबीचको वार्षिक ३ खर्ब ८० अर्ब डलरको व्यापारमा चिनियाँ वस्तुले ठूलो हिस्सा ओगटेका छन् । त्यसैगरी अफ्रिकामा भइरहेको सामुद्रिक चोरी-डकैतीदेखि इरानको आणविक कार्यक्रमलगायत विश्व अर्थतन्त्रलाई नै पुनर्जीवन दिन अमेरिकालाई चीनको साथ अति आवश्यक छ । सकारात्मक सम्बन्धका लागि अग्रसर हुनु दुवैपक्षको हितमा रहेको जर्ज बुशको पालामा व्यापार वार्ताकार रहेका चार्ल्स फ्रिम्यानले बताए । यसै सर्न्दर्भमा नयाँ शक्तिहरूको उदयकाल प्रायः द्वन्द्व तथा अनिश्चितताले भरिपूर्ण रहने गरेको अमेरिकी विदेशमन्त्री हिलारी क्लिण्टनले स्मरण गरेकी छन् । त्यसैले चीन र अमेरिकाले द्वन्द्वको साटो सहयोग बढाएर दुवै पक्षको हितमा काम गर्नुपर्ने क्लिण्टनले शुक्रवार बताएकी छन् । एपी/रासस
पोल खोल्ने यूबीएसका पूर्वअधिकारीको भनाइ
माघ २, ज्युरिच (स्वीट्जरल्याण्ड) । एक निजीस्तरको स्वीस बैङ्क यूबीएस एजीका एक जना पूर्वअधिकारीले बैङ्कको कार्यप्रणालीबारे थप गोप्य सूचना विकीलिक्सलाई उपलब्ध गराउने भएका छन् । सोमवार उपलब्ध गराइने भनिएका ती गोप्य सूचना बैङ्कको विदेशी खातावालासँग सम्बन्धित रहेको एक समाचारपत्र डाय सोण्टयागले बताएको छ । रुडोल्फ एल्मर नाम गरेका ती अधिकारीलाई २००२ मा पदमुक्त गरिएको थियो । बैङ्कको गोप्यता भङ्ग गरेको आरोपमा उनीमाथि बुधवार मुद्दा चल्दै छ । बैङ्कका लगभग २ हजार ग्राहकको नाम तथा खाता विवरण भएको दुइओटा सीडी एल्मरले विकीलिक्सलाई दिने भएको समाचारपत्रले बताएको छ । उक्त बैङ्कमा खाता खोलेका विश्वभरिका ख्यातिप्राप्त व्यापारी, कलाकार तथा लगभग ४० जना राजनीतिकर्मीको विवरण सीडीमा रहेको एल्मरले दाबी गरेका छन् । कर छल्ने उद्देश्यले ती व्यक्तिले गोप्य तवरमा उक्त स्वीस बैङ्कमा खाता खोलेको एल्मरको धारणा छ । रोयटर्स
लगानी प्रतिबन्ध स्वैच्छिकः अम्बानी
माघ २, मुम्बई (भारत) । भारतीय अर्बपति अनिल अम्बानीले आफूलाई स्टकबजारमा लगानी गर्न प्रतिबन्ध गरिएको भन्ने समाचारको खण्डन गरेका छन् । लामो समयदेखि चलिरहेको प्राविधिक विवाद अन्त्य गर्न आफैले स्वैच्छिक रूपमा त्यस्तो निर्णय गरेको अम्बानीले दाबी गरेका छन् । शेयरबजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) र अम्बानीबीच उनले २०११ को डिसेम्बरसम्म स्टकबजारमा लगानी गर्न नपाउने विषयमा सहमति भएको थियो । साथै उनका दुइ कम्पनीले पनि २०१२ को डिसेम्बरसम्म लगानी गर्न नपाउने भनिएको छ । सेबीसँग भएको सहमतिलाई अम्बानीले स्वच्छ तथा न्यायसङ्गत रहेको बताए । सञ्चारमाध्यमले उक्त मुद्दालाई गलत विश्लेषण गरेको तथा गलत सम्प्रेषण गरेको पनि अम्बानीले पत्रकार सम्मेलनमा आइतवार बताए । एएफपी/रासस
तेलको मूल्यमा ओपेकले चासो लिएन
माघ २, तेहरान (इरान) । कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिबारे आपत्कालीन छलफल गर्न तेल निर्यातकर्ता राष्ट्रहरूको सङ्गठन (ओपेक)का कुनै पनि सदस्यबाट अनुरोध नआएको इरानी तेलमन्त्री मसोउद मिर्काजेमीले आइतवार बताएका छन् । १ सय डलर प्रतिब्यारेल तेलको 'वास्तविक’ मूल्य भएकाले त्यसमा उत्पादक देशहरूले चिन्ता लिनु आवश्यक नरहेको पनि उनको भनाइ छ । हाल ओपेकको अध्यक्षता इरानले गरिरहेको छ । यस हप्ता कच्चा तेलको मूल्य लगभग ९८ डलर प्रतिब्यारेल पुगेको छ । त्यसैगरी अमेरिकी तेलको फयुचर्स मूल्य लगभग ९१ डलरमा रहेको छ । ओपेकको प्रमुख तेल निर्यातक राष्ट्र सउदी अरेबियाले तेलको मूल्य ७० देखि ८० डलरको बीचमा रहँदा उत्पादक तथा उपभोक्ता दुवैथरीलाई सजिलो हुने बताएको छ । तेलको मूल्य १ सय डलरमा यथावत् रहेमा वा नाघेमा ओपेकले आपत्कालीन बैठक बोलाउन सक्ने ओपेकमा आबद्ध खाडीस्थित एक राष्ट्रका सहभागीले बिहीवार भनेका थिए । तर, लिबिया, इक्वेडर तथा भेनेजुएलाले भने तेलको उत्पादन कायम राख्नका लागि मूल्य अझै बढाउनुपर्ने तर्क राखेका छन् ।रोयटर्स
तुर्कमेनिस्तानको ईयूसँग ऊर्जा साझेदारी
माघ २, अस्गाबत (तुर्कमेनिस्तान) । तुकमेनिस्तानका राष्ट्रपतिले गुबान्गली बर्दिमुखामेदोभले उनको देश यूरोपलाई ग्यास बेच्न तयार रहेको शनिवार बताएका छन् । यूरोपियन युनियन (ईयू)ले तुर्कमेनिस्तानलाई विश्व व्यापार सङ्गठनको सदस्यताका लागि आवेदन दिन आह्वान गरेपछि बर्दिमुखामेदोभले त्यस्तो प्रतिक्रिया दिएका हुन् । डब्ल्यूटीओमा आबद्ध भएपछि तुर्कमेनिस्तानको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्नुका साथै लगानीकर्ता आकर्षित हुने ईयूका प्रमुख होसे मान्युएल बारोसोले बताए । बारोसोले यूरोपका लागि ग्यासको आपूर्ति सुनिश्चित गर्ने क्रममा तुर्कमेनिस्तानको भ्रमण गरेका हुन् । क्यास्पियन समुद्र हुँदै अजरबैजानसम्म ग्यासको पाइपलाइन निर्माण गरेर तुर्कमेनिस्तानबाट यूरोपमा ग्यास आपूर्ति गर्ने योजना छ । त्यसै विषयमा वार्ता गर्न बारोसोले तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेट गरेका हुन् । एएफपी/रासस
पोर्सको नयाँ कारखाना एशिया वा अमेरिकामा
माघ २, बर्लिन (जर्मनी) । स्पोर्ट्स कारको निर्माता पोर्सले भविष्यमा एशिया वा अमेरिकामा कारखाना खोल्ने सम्भावना रहेको बताएको छ । उक्त जर्मन गाडी कम्पनीका प्रमुख कार्यकारी मथिआस म्युएलरले 'फोकस' पत्रिकासँग आइतवार सो कुरा बताएका हुन् । कारमा 'पोर्सले बनाएको' (इञ्जिनीयर्ड बाई पोर्स) लेखिने हुनाले कुन देशमा निर्माण हुन्छ, त्यो महत्वपूर्ण नरहने मथिआसको विचार छ । हाल उक्त कम्पनीले पूर्वी जर्मनीको लेइपपिजग तथा पश्चिम जर्मनीको स्टुटगार्टस्थित कारखानाहरुबाट पोर्स कारको उत्पादन गर्दै आएको छ । पोर्सको २०१० मा ९५ हजारओटा कार विक्री भएको थियो, जुन अघिल्लो वर्षभन्दा २५ प्रतिशत बढी हो । एएफपी/रासस