शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ग्राहक तान्न अमेरिकी बैङ्कहरू शाखा सुधारमा

पुस ३, न्यूयोर्क (अमेरिका) । अमेरिकी बैङ्किङ क्षेत्रमा फेरि व्यक्तिअनुसारको सेवा (पर्सनल टच)को अवधारणाले महइभ्व पाउन थालेको छ । स्थानीय शाखामार्फ ग्राहकलाई उनीहरू बसेकै क्षेत्रमा सेवा दिने प्रचलन लगभग पुरानो भइसकेको थियो । तर, अमेरिकी बैङ्किङ उद्योगले त्यस्तो सेवालाई फेरि प्रचलनमा ल्याउने भएको छ । आमूल परिवर्तन भइरहेको बजारमा ग्राहकलाई आकर्षित गर्न त्यस्तो योजना ल्याउन थालिएको हो । बैङ्किङ क्षेत्रमा यस वर्ष केही नयाँ कानून लागू भएका छन् । अमेरिकी बैङ्किङ उद्योगले डेबिट कार्ड तथा क्रेडिट कार्डजस्ता सेवाबाट ठूलो आम्दानी गर्दै आएको थियो । अर्बौं डलरमा रहेको त्यस्तो आम्दानीमा नयाँ कानूनहरूबाट व्यापक नियन्त्रण हुनेछ ।

आम्दानी जोगाइराख्न बैङ्कहरूले प्रत्येक ग्राहकबाट थोरै भए पनि बढी रकम असुल्न खोजेका छन् । त्यसका लागि बैङ्कहरूले ग्राहकलाई विविध प्रकारका बैङ्किङ सेवाको उपयोग गर्न प्रोत्साहित गर्नुपर्नेछ । त्यस्ता सेवाहरूमा घरजग्गा बन्धकी राखेर पाउने ऋण (मर्गेज) तथा सम्पति व्यवस्थापनलगायत छन् । त्यसैले अमेरिकाका ठूला बैङ्कहरूले केही नयाँ कदम चालेका छन् । जस्तै, सिटी बैङ्कले बिहीवार एउटा नयाँ शाखा खोलेको छ ।  न्यूयोर्क शहरको युनियन स्क्वायर क्षेत्रमा रहने उक्त शाखा सिटी बैङ्कका लागि महत्वपूर्ण हुनेछ । अत्याधुनिक होटलको जस्तो आरामदायी सोफाहरू भएको उक्त शाखामा ग्राहकले वाईफाई तथा २४ घण्टे सेवालगायत थप सेवाहरू पाउने छन् । सिटी बैङ्कका प्रमुख कार्यकारी अधिकृत विक्रम पण्डितले अन्य महत्वपूर्ण क्षेत्रमा पनि त्यस्तै सुविधासम्पन्न शाखाहरू खोलिने बताए ।

त्यसैगरी अमेरिकाको सबैभन्दा ठूलो बैङ्क, बैङ्क अफ अमेरिकाले आफ्ना केही शाखाहरूमा आगामी वर्षको शुरूदेखि मर्गेज , साना उद्योग तथा लगानी विशेषज्ञजस्ता सेवाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ । ती सेवाहरूको लक्ष्य बढीभन्दा बढी ग्राहकलाई आफ्नो बैङ्कतर्फ आकर्षित गर्नु हो । त्यसैगरी प्रत्येक ग्राहकको आवश्यकता बुझेर व्यक्तिगत सेवा दिन पनि बैङ्कका कर्मचारीहरूलाई तालीम दिइएको छ । त्यसैगरी चेज बैङ्कले आगामी २ वर्षमा थप ४ सय शाखा खोल्ने भएको छ । त्यसपछि चेज बैङ्कका कुल ५ हजार ६ सय शाखा हुनेछन् । चेज बैङ्कले पनि मर्गेज, लगानी तथा साना व्यापार विशेषज्ञमा जोड दिएको छ । तिनले प्रत्येक ग्राहकलाई व्यक्तिगत सेवा दिनेछन् ।बैङ्कका ग्राहकहरू इण्टरनेट बैङ्किङ तथा मोबाइल बैङ्किङतर्फ आकर्षित भइरहेको बेला शाखा कार्यालय खोल्नु जोखिमपूर्ण नै रहेको छ । तर पनि आधाभन्दा बढी प्रमुख बैङ्कहरूले भएका शाखा कार्यालय राखिराख्ने तथा अझै थप्दै जाने योजना राखेका छन् । अझै पनि बैङ्कसँग ग्राहकको कारोबार हुने प्रमुख स्थान शाखा कार्यालय नै भएकाले त्यसो गर्न लागिएको बैङ्कका अधिकृतहरूले बताएका छन् । एपी/रासस


ऋण तिर्ने म्याद थप

पुस ३, दुबई (यूएई) । दुबईका शासकको स्वामित्वमा रहेको एउटा लगानी कम्पनीले आफ्ना साहूहरूसँग नयाँ सम्झौता भएको बताएको छ । उक्त सम्झौताअनुसार २ अर्ब ५० करोड डलरबराबरको ऋणको अवधि बढाउन प्रमुख लगानीकर्ताहरू सहमत भएका छन् ।
दुबई इण्टरनेशनल क्यापिटल भनिने उक्त कम्पनीले शुक्रवार बताएअनुसार २ अर्ब डलरको ऋण तिर्न उसले थप ६ वर्षको अवधि पाएको छ । साथै बाँकी ५० करोड डलर अर्को थप ४ वर्षसम्ममा तिरे हुने भएको छ । प्रमुख लगानीकर्ताहरूसँग उक्त विषयमा सिद्धान्ततः सहमति भए पनि त्यसलाई साना लगानीकर्ताले अनुमोदन गर्न भने अझै बाँकी रहेको छ । उक्त कम्पनी दुबई होल्डिङ भनिने विशाल व्यापारिक समूहको एक अङ्ग हो । एलायन्स मेडिकल तथा बेलायती होटल समूह ट्राभेल्ज ग्रुपलगायत थुप्रै अन्य व्यवसायहरूमा उक्त कम्पनीको हिस्सा रहेको छ ।वर्तमान प्रमुख कार्यकारी अधिकृत आनन्द कृष्णन्को ठाउँमा कम्पनीका ४१ वर्षीय लगानी अधिकृत डेभिड स्मटलाई नियुक्त गरिएको पनि कम्पनीले जानकारी दिएको छ । एपी/रासस


बैङ्क अफ इङल्याण्डबाट अर्थतन्त्रका जोखिमबारे खुलासा

पुस ३, लण्डन (बेलायत) । यूरोपेली वित्तीय सङ्कटबाट बेलायत आंशिक रूपमा मात्र सुरक्षित रहेको बेलायतको केन्द्रीय बैङ्क, बैङ्क अफ इङल्याण्डले शुक्रवार बताएको छ । साथै पूँजीको पुनर्वितरणमा मध्यकालीन जोखिम रहेको पनि बैङ्कले सचेत गराएको छ । बैङ्कले प्रत्येक ६ महीनामा प्काशित गर्ने वित्तीय स्थिरतासम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ । विश्वव्यापी रूपमा गरिने पूँजीको पुनर्वितरणबाट कतिपय उदीयमान बजार अर्थतन्त्रहरूमा पूँजीको आपूर्ति भए पनि ती अर्थतन्त्रको इञ्जिन बढी तातिने सम्भावनातर्फ बैङ्कले पछिल्लो प्रतिवेदनमा सचेत गराएको छ ।साथै पूजी सुरक्षित सम्पत्तितर्फ आकर्षित भएको र थुपै्र विकसित अर्थतन्त्रहरूमा बण्डको प्रतिफल अझै थोरै भइरहेकाले यस्ता देशबाट पूजी उदीयमान अर्थतन्त्रतर्फजान खोजिरहेको पनि बैङ्कले जानकारी दिएको छ । उसले आम्दानीलाई जोगाइराखेर क्रमिक रूपमा आफ्नो लचकता बढाउन पनि  वाणिज्य बैङ्कहरूलाई सुझाव दिइएको छ । मुनाफालाई शेयर होल्डर तथा कर्मचारीमाझ वितरण नगरी आम्दानी जोगाउन सके बैङ्कहरूको अवस्था सुदृढ हुने उसले बताएको छ । एपी/रासस


भर्जिनको अन्तरिक्ष टयाक्सी

पुस ३, फ्लोरिडा (अमेरिका) । भर्जिन ग्यालेक्टीकले अन्तरिक्ष यात्रामा निजीक्षेत्रको सहभागिता विकास गर्ने एउटा परियोजनामा सहभागी हुने बिहीवार बताएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको उक्त परियोजनाको लागत २० करोड अमेरिकी डलर हुनेछ । भर्जिन ग्यालेक्टिक रिचर्ड ब्रान्सनको भर्जिन ग्रुपको अमेरिकी शाखा हो । उक्त परियोजनामा पहिले नै दुइ अन्य कम्पनी अर्बिटल साइन्सेज कर्पोरेशन तथा सिएरा नेभाडा कर्पोरेशनले छुट्टाछुट्टै प्रस्ताव राखिसकेका छन् । पुनः प्रयोग गर्न मिल्ने पखेटायुक्त अन्तरिक्षयानमा यात्रुलाई अन्तरिक्षयात्रा गराउने प्रस्ताव ती कम्पनीले राखेका छन् । ती यानलाई रकेटमार्फत अन्तरिक्षमा पठाइनेछ, तथा नासाको स्पेट शटलयानजस्तै धावनमार्गमा ओरालिनेछ । त्यस्ता यानको निर्माण अन्तरिक्ष यात्राको क्षेत्रमा  महत्वपूर्ण प्रगति हुने भर्जिनले बताएको छ । इण्टरप्राइज भनिने उक्त यानबाट अन्तरिक्ष यात्राका लागि भर्जिनले टिकटसमेत विक्री गर्न थालिसकेको छ । यानले ६ जना यात्रु बोक्नेछ तथा  टिकटको मूल्य प्रतिव्यक्ति २ लाख डलर हुनेछ । १ वर्षमा त्यस्तो उडानसेवा शुरू गर्ने भर्जिनको योजना रहेको छ । अहिलेसम्म ४ सय ग्राहकहरूबाट ५ करोड ४० लाख डलर भर्जिनले जम्मा गरिसकेको छ । रोयर्टस


विकिलिक्सको भुक्तानी नहुने

पुस ३, सार्लोट (अमेरिका) । बैङ्क अफ अमेरिकाले अबदेखि विकिलिक्सको भुक्तानीसम्बन्धी कारोबार नगर्ने बताएको छ । पछिल्ला दिनमा विवादास्पद बनेको वेबसाइट विकिलिक्सविरुद्ध यसअघि 'मास्टर कार्ड' र 'पे-पाल' नामका वित्तीय कारोबार गर्ने बैङ्कहरूले सो वेबसाइटसँग सम्बन्धित भुक्तानीका कारोबार नगर्ने बताइसकेका छन् । बैङ्क अफ अमेरिकाले शनिवार बिदाको दिन भए पनि अमेरिकी समयअनुसार बिहानै एक विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी गराएको हो । 'यो वेबसाइट अरू कुराका अतिरिक्त हाम्रो भुक्तानी प्रणालीका आन्तरिक नियमहरूसँग मेल नखाने क्रियाकलापमा हुन सक्ने भएकाले यो कदम चालिएको' विज्ञप्तिमा उल्लेख छ । टेलिफोन सम्पर्क गर्दा बैङ्कका प्रवक्ता स्कट सिल्भेस्त्रिले 'थप कुरा नबोल्ने' बताए । विकिलिक्सले ट्वीटर सन्देशमार्फत आफ्ना समर्थकहरूलाई सो बैङ्कसँग कारोबार नगर्न आग्रह गरेको छ । एपी/रासस